+

पाउरोटी : सदाबहार नास्ता तर कति स्वस्थकर ?

२०८० असार  २६ गते १८:११ २०८० असार २६ गते १८:११
पाउरोटी : सदाबहार नास्ता तर कति स्वस्थकर ?

पाउरोटी सजिलो र सहजै पाइने खानेकुरा हो । बिहान चियासँगै पाउरोटी खाने धेरै नेपालीको बानी नै छ । यो निम्नदेखि उच्च वर्ग सबैले रुचाउने खानेकुरा हो भन्दा पनि हुन्छ । यसरी सबै पेशा, वर्गको रोजाइमा पर्ने पाउरोटी स्वस्थर चाहिं कति हुन्छ ? यसबारे धेरै कमले मात्रै चासो राखेका हुन सक्छन् ।

पोषणविद् अस्मिता रिजाल दैनिक रुपमा पाउरोटी खानु स्वास्थ्यका लागि फाइदाजनक नहुने बताउँछिन् । ‘पाउरोटी सामान्यतया दुई किसिमका हुन्छन् सेतो र खैरो । यी दुईमध्ये अहिले जनमानसमा खैरो पाउरोटी स्वस्थकर हुन्छ भन्ने छ । तर सेतो पाउरोटी भन्दा केही प्रतिशत खानयोग्य होला तर यसमा पूर्ण रुपमा स्वस्थकर हुँदैन,’ उनी भन्छिन् ।

सेतो पाउरोटीमा पौष्टिक तत्व र फाइबरको मात्रा शून्य हुन्छ भने खैरोमा केही मात्रामा हुन सक्छ । त्यसैले पाउरोटी दैनिक खाँदा रगतमा सुगरको मात्रा ह्वात्तै बढ्न सक्ने रिजाल बताउँछिन् । यसले भविष्यमा मधुमेह हुने सम्भावना अत्यधिक हुने उनको भनाइ छ ।

पाउरोटीमा वनस्पति घिउ प्रयोग गरिने भएकाले यसमा ट्रान्स फ्याट (खराब चिल्लो पदार्थ)को मात्रा बढी हुन्छ, जुन खानामा स्वाद बढाउन र लामो समय सञ्चय गर्न प्रयोग गरिन्छ । ट्रान्स फ्याट भएको खानेकुरा नियमित सेवन गरेमा भविष्यमा मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मोटापन हुन सक्ने जोखिम हुन सक्ने पोषणविद् रिजाल बताउँछिन् । ‘फाइबर नहुने भएका कारण कब्जियतको हुने सम्भावना पनि अत्यधिक हुन्छ,’ उनी भन्छिन् ।

परम्परागत रुपमा बनाइने पाउरोटी स्वस्थकर हुन्छ ?

उहिले पाउरोटी युरोपको घरघरमा तयार पार्ने गरिन्थ्यो, जसरी नेपालमा गहुँको रोटी बनाइन्छ । युरोपमा नियमित खाने खानेकुरामा पाउरोटी पर्थ्यो । जसमा गहुँको पिठो, पानी, नुन र इष्टको प्रयोग गरिन्थ्यो ।

परम्परागत रुपमा पाउरोटी यसरी बनाइन्छ ।

सुरुमा गहुँको पिठोमा पानी हालेर मुछ्ने । त्यसपछि मुछिसकेपछि पिठोमा नुन र इष्ट राखेर मज्जाले मुछेर एकछिन सफा कपडाले छोपेर राख्ने । त्यसपछि आवश्यकता अनुसार पाउरोटीको आकार बनाएर आगोमा वा ओभनमा हाल्ने । केही समयपछि तयार हुन्छ पाउरोटी । यो एउटै पिस हुन्छ ।

किन मिसाइन्छ पाउरोटीमा नुन र इष्ट ?

पाउरोटीलाई लामो समयसम्म सञ्चय गर्न नुनको प्रयोग गरिने र इष्ट पाउरोटीलाई फुलाउनका लागि प्रयोग गरिने पोषणविद् रिजाल बताउँछिन् । तर अहिले बजारमा औद्योगिक क्षेत्रबाट उत्पादन भएको पाउरोटीलाई स्वस्थकर मानिंदैन ।

किनकि अहिलेको पाउरोटीमा हानिकारक चीज मिसावट गरेर बनाइने भएको विभिन्न अनुसन्धानबाट प्रमाणित भएको छ । अन्तर्राष्ट्रिय जर्नल मोकुलर इपिडेमिओलोजी एण्ड जेनेटिकले यो कुराको पुष्टि गरेको थियो । साथै अर्को जर्नल पेडिओट्रिक चाइल्ड हेल्थमा प्रकाशित लेखमा पनि पाउरोटी अस्वस्थकर भएको पुष्टि गरेको थियो ।

किन हानिकारक ?

पाउरोटीमा मैदा, चिनी, बेकर इस्ट, ब्रेकिङ सोडा, सोडा, ब्लिच, पोटासियम ब्रोमेट, एसिडिटी रेगुलर ई २७० र एन्टिअक्सिडेन्ट ई ३०० केमिकल, फुड कलर जस्ता केमिकल मिसाइएको हुन्छ । जसले शरीरलाई हानि पुर्‍याउँछ । अन्तर्राष्ट्रिय जर्नल मोकुलर इपिडेमिओलोजी एण्ड जेनेटिकले गरेको अनुसन्धानअनुसार यी केमिकलयुक्त पाउरोटी दैनिक बालबालिकाले सेवन गर्दा यसमा मिसाएको क्याल्सियम प्रोपिनेटले एलर्जी, एक्जिमा, माइग्रेन र छाला चिलाउने समस्या ल्याउन सक्छ ।

त्यस्तै अन्तर्राष्ट्रिय जर्नल पेडिओट्रिक चाइल्ड हेल्थमा प्रकाशित लेखमा दैनिक पाउरोटीको सेवनले बालबालिका रिसाहा हुने, सोच्ने शक्ति कम हुने, ध्यानकेन्द्रित नहुने  समस्या देखिने उल्लेख छ । त्यस्तै कार्बोहाइड्रेटले शरीरमा इन्सुलेन्स बढाएर मधुमेह हुने जोखिम हुन्छ । यसमा प्रयोग गरिने चिनीले शरीरमा खराब कोलोस्टेरोल बढाउन सक्छ ।

पाउरोटीको विकल्प के हुन सक्छ त ?

पाउरोटीको सट्टामा घरमै बनेका स्वस्थकर खाना खान पोषणविद् रिजाल सुझाउँछिन् । पाउरोटीको साटो गहुँको रोटी, फापरको रोटी, ओट्स्, फलफूल, गेडागुडी खान सकिन्छ ।

खानेकुरा पाउरोटी स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?