
२६ असार, पोखरा । पोखरा कास्कीको रुपा गाउँपालिकाले ६ महिनाको अन्तरमा हवाइ दुर्घटनाबाट २ जना सिनियर पाइलट गुमाएको छ ।
करिब ६ महिनाको अवधिमा रुपा गाउँपालिकाले पाइलट कमल केसी र चेतबहादुर गुरुङलाई हवाइ दुर्घटनामा गुमाएको हो । माघमा पोखरामा भएको यती एअरलाइन्स दुर्घटनामा पाइलट केसीलाई गुमाएको ६ महिनामै अर्का हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङको दुर्घटनामा निधन भएको हो ।
पाइलट गुरुङले मंगलबार सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् ।
हवाइ दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको जन्म रुपा गाउँपालिकामा भए पनि काठमाडौं कर्मथलो बनाएका थिए ।
स्मरणीय के भने, पालिकाले आफ्नो स्थापना दिवसका अवसरमा दुवै पाइलटलाई ०७८ मा ‘रुपा रत्न’ पुरस्कारबाट सम्मान गरेको थियो ।
गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार कामको सिलसिलामा पाइलट गुरुङ काठमाडौं बसोबास गर्दै आए पनि अझै पनि रुपा गाउँपालिका–६ मा पुर्ख्यौली घर छ ।
‘उहाँका सबै आफन्त, इष्टमित्र गाउँमै हुनुहुन्छ । धेरै समय काठमाडौं बसे पनि बेलाबेलामा आउजाउ भइरहन्थ्यो,’ उनले भने ।
६ महिनाको अवधिमा हवाइ क्षेत्रका २ महत्वपूर्ण पाइलट गुमाउनु पर्दा पालिका शोकमा डुबेको उपाध्यक्ष लालसुब्बा गुरुङले बताइन् ।
‘उहाँहरु पनि हाम्रै पालिकाको हुनुहुन्छ है भनेर गर्वका साथ छाती पिटेर हिँडिन्थ्यो । तर, अब उहाँहरु हामीसँग हुनुहुन्न,’ उनले भनिन्, ‘महत्वपूर्ण व्यक्तित्वहरुलाई छोटो समयको अवधिमै गुमाउन पुग्दा पालिका शोकमा छ ।’
यसअघि पोखरामा भएको यति विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट कमल केसीको स्मृतिमा पालिकाले शालिक बनाउने निर्णय गरेको छ । शालिकका लागि सर्वे सकेर डीपीआरको बनाउने तयारी भइरहेको पालिका अध्यक्ष ओझाले जानकारी दिए ।
प्रतिक्रिया 4