+
+

कांग्रेस नेतृत्व : उमेरले शिथिल, विचारले निष्क्रिय

यतिबेला कांग्रेसलाई समसामयिक मुद्दा उठाएर संसद, सरकार र जनताबीच जान सक्ने इच्छाशक्ति र सामर्थ्य भएका जुझारु नेताको खाँचो छ । उमेर र विचार दुवैले शिथिल अनि निष्क्रिय देउवासँग यस्तो अपेक्षा गरिनु नै व्यर्थ छ ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८० असार २७ गते ९:०२

आजको युवा पुस्तालाई सगौरव भन्नु जरूरी छ कि- कांग्रेस पार्टीको जन्म जनअधिकार स्थापनाका निम्ति प्रतिबन्धित कालमै भएको हो । तर, आजका मितिसम्म आइपुग्दा यसको नेतृत्व विचार तथा उमेरले शिथिल व्यक्तिको हातमा पुग्दा पार्टीमा न संगठनात्मक संरचना निर्माण हुनसक्यो न वैचारिक फाँटमा प्रगति नै भयो ।

आम निर्वाचन सम्पन्न भएदेखि सरकार निर्माणसम्म, गठबन्धनको फुट हुँदै अनि यसबीचका राजनीतिलाई नै तरंगित बनाउने घटनाक्रममा समेत नेपालकै जेठो लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई संस्थागत ‘संवाद र छलफल’ भन्दा बाहिर राख्यो । यस सम्बन्धमा पार्टीभित्र र बाहिर गम्भीर प्रश्नहरू उठिरहेका छन् ।

तर, जीवन्त मानिएको पार्टीको झण्डै एक वर्ष पश्चात् बस्न लागेको केन्द्रीय समिति बैठक बारे समेत पार्टी संस्थापन पक्ष महाभारतको लडाइँ जिते झैं व्यापक ‘पैरवी’मा उत्रिएको छ । उक्त समूहले केन्द्रीय समिति बैठककै दिन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लक्षित प्रतिप्रश्न उठाउने तयारी गरेको बुझिन्छ ।

सम्भवतः केन्द्रीय समिति बैठकले छलफल नै नगरेको डिजिटल सदस्यता, स्थानीय तहसँगको विकास निर्माण केन्दि्रत रणनीतिक छलफल, क्षेत्र, प्रदेश, जिल्ला भेला र जिल्ला सभापति भेला किन बोलाइएको भनेर प्रतिप्रश्न उठाउने सम्भावना बलियो छ ।

संघ, प्रदेश तथा स्थानीय तहमा नेपाली कांग्रेसको उपस्थिति उल्लेख्य देखिए पनि गुटमा रमाउँदै आएको नेतृत्वका कारण यो पार्टीमा आन्तरिक लोकतन्त्र मजबुत बन्न सकेन र संगठन संचालनमा पारदर्शिता देखिन छाड्यो ।

देउवा स्वयं पाँच पटक प्रधानमन्त्री त बने तर, जनताबाट अनुमोदन हुनै नसकेका ‘गुटगत समूह’ कायम राखेर पार्टी तथा सरकार संचालनको अभ्यासमा निरन्तर लागिरहे । पार्टीमा उनी स्वयंमाथि लाग्ने चर्को आलोचनाको विषय हो, यो ।

देउवाकालीन समयमा पार्टी र प्रजातन्त्र माथि नै आघात भएकोले होला कुनै कालखण्डमा देउवातिर लक्षित गर्दै तत्कालीन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए- देउवाजीले सरकारको नेतृत्व गर्दा पार्टी र लोकतन्त्रलाई सधैं घाटा मात्रै भएको छ ।

आफ्नो राजनीति अनुकूल हुँदा गोर्खाली राजाले न्याय गरे भन्दै सरकार निर्माणमा तल्लीन देउवाले आफूले भने अनुसार नभएको भन्दै सुशील कोइराला पार्टी सभापति भएकै समय ‘मनोनित केन्द्रीय सदस्य’ बाट राजीनामा समेत दिएर ‘जगहँसाइ’ गरेका थिए ।

संसद विघटन, प्राडो, पजेरो, जम्बो मन्त्रिमण्डल लगायत बदनामी उनको खातामा जम्मा भएको छ । कणर्ाली, दलित, महिला, जनजाति र मधेशी ‘कदमजम’ का मुद्दामा भने दिवंगत नेता प्रदीप गिरीकै कारण सही, देउवाले राम्रो कामको सुरुवात गरेका हुन् । तर, उनले गरेका सयौं बेथितिका घटनाक्रमले ‘कदमजम’ सुधारको मुद्दा समेत ओझेलमा पर्न पुगेको छ ।

अब महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रारम्भ गरेको ‘रचनात्मक विद्रोह’का बारे केही टिप्पणी गरौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहले प्राप्त गरेको राजनीतिक उचाइकै कारण पनि आज कांग्रेस पार्टीलाई परिवर्तन गराइछाड्ने दबाबमा ‘गगन-विश्व’ छन् ।

उनीहरूमाथि ‘जनताको कांग्रेस’ निर्माण गरी पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्र भागमा टिकाइराख्ने कि आगामी २०८४ सालमा पार्टी समाप्त भएको घटनाको ‘साक्षी’ रहने भन्ने विषयले घेरा हालेकैले हुनुपर्दछ ‘सभापतिको असहमतिको बावजुद’ पनि संगठन चलायमान गराउन जिल्ला सभापतिको भेला आयोजना गर्न पुगे ।

पार्टीका केन्द्रीय पदाधिकारी तथा नेताले गुटमा विभक्त नभई वैधानिक माध्यमबाट पार्टी र सिंगो मुलुकको हितका खातिर नेतृत्व परिवर्तनको एजेण्डामा आफूलाई उभ्याउन सक्दा मात्रै जनताका बीच जाने मुद्दा बन्न सक्छ । अन्यथा यथास्थितिमै ‘जुहारी’ खेलेर बस्ने हो भने समयको वेगले कांग्रेस पार्टीलाई निकै पछाडि छाडिसकेको हुनेछ

महामन्त्रीको क्षेत्राधिकारभित्र रहेर आयोजना गरिएको जिल्ला सभापतिको भेलामा समेत आफू उपस्थित नभएर सभापति देउवाले आफूलाई ‘अनुदारवादी कित्ता’ मा उभ्याएका छन् । जसले प्रष्ट देखाउँछ आफूभन्दा चालीस वर्ष कान्छा उमेरका महामन्त्रीद्वयलाई ‘महामन्त्री’ को हैसियतमा स्वीकार्न देउवालाई हम्मे-हम्मे परेको छ ।

हिजो सुशील कोइराला सभापति भएको समयमा समेत भ्रातृ तथा पार्टीका विभाग गठनमा नाम समेत दिन नमानेर कोइरालालाई ‘असफल बनाउने रणनीति’मा क्रियाशील देउवा सामु आज महामन्त्रीद्वयले सहयोग गर्दा समेत उनीहरूप्रति देउवाको असहिष्णुतालाई कांग्रेसका युवा पुस्ताले सकारात्मक रूपमा लिन सकेका छैनन् ।

पार्टीभित्र अहिले ‘दुई लाइनको संघर्ष’ गज्जबसँग चर्कंदैछ । हुन त, कांग्रेसले जन्मँदै दुई लाइनको धार बोकेरै ल्याएको हो । एउटा धार अधिवेशनका समयमा मात्र चलायमान भएको देखाएर ‘खातापिता’ फर्मूलाबाट पार्टी कब्जा गर्न उद्यत छ । अनि अर्काे धार परिवर्तनको झण्डा उठाएर समाजका सबै वर्ग अट्न सक्ने कांग्रेस निर्माणमा तल्लीन छ ।

कार्यकर्तालाई ‘जो हात, सो साथ गर्दै पार्टी कब्जा’ गर्न उद्यत धारको निशानामा यतिबेला ‘परिवर्तनको झण्डा उचाल्ने’ धार पर्दैछ । जीवन्त पार्टीमा जिल्ला सभापति भेला, सदस्यता डिजिटल प्रविधि मार्फत गरिने वितरण सामान्य काम हुन् ।

हुँदाहुँदा वडा हुँदै जिल्ला प्रदेशसम्मको भेला किन आयोजना गरेको भनेर लोक हँसाउँदा कांग्रेसलाई फाइदा भएको छैन नै, संगठन निर्माणमा समेत गतिरोध सृजना भएको छ । यही विषय उठाएर देशैभरका नेता, कार्यकर्ता तथा पार्टीका केन्द्रीय समितिका सदस्यसम्मले पार्टी नेतृत्व सामु चुनौती दिन सक्दा मात्र संगठन चलायमान बन्न सम्भव छ ।

पार्टीमा कुनै चुनौती नै नभए झैं ‘गगन-विश्व, गुरु-मधु’ बाहेक कोही यी विषयहरूमा बोल्न तयार देखिन्नन् ! आजकै अवस्था कायमै रहे कांग्रेस पार्टीले २०८४ को निर्वाचन कसरी ‘फेस’ गर्ला भन्ने सवाल अहं छ ।

पार्टी र संसदीय दलमा दिवंगत नेता गिरिजाप्रसाद कोइरालासँग चुनाव लडेका देउवा राजनीतिका कान्छा पुस्ताका गगनकुमार थापासँग सम्म चुनाव लड्दैछन् । पार्टीमा परिवर्तनको अनुभूति के हो भन्ने विषय नै कहिल्यै नभेटिने ‘स्यालको सिङ’ बनाइँदैछ ।

यतिबेला, हिजो इतरधारमा आफूलाई उभ्याउँदै आएका नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिसम्मको औपचारिक समर्थन र डा.शेखर कोइरालाले रणनीतिक रूपमा आफूलाई ‘मझधार’मा उभ्याउँदाको फाइदा देउवाले उठाउँदै आएका छन् ।

आसन्न केन्द्रीय समिति बैठकमा उपस्थित केन्द्रीय पदाधिकारी तथा सदस्य सामु दर्जनौं प्रश्नसहित चुनौती छन् । सवाल २०८४ सालको निर्वाचनको मात्रै होइन । सवाल त, पार्टीलाई विधिको बाटोमा चलाउने कि निजी स्वार्थका निम्ति ‘चक्रव्यूह’मा फसाउने भन्ने हो । विरासतबाटै लोकतान्त्रिक पार्टीको ‘ब्राण्ड’को सुविधा पाएको कांग्रेसमा निर्वाचन सम्पन्न भएको झण्डै एक वर्ष बित्दा समेत त्यसको समीक्षा नहुनु आफैंमा दुःखद् पाटो हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको जरो आँगनमै आइपुगे पश्चात् ‘रातारात र एकाएक’ विपक्षी नेता समेतको ‘सिंहदरबार-बालुवाटार’ बैठकको उद्देश्य घाम झैं छर्लङ्ग छ । आज पार्टीका भ्रातृ संगठनहरूमा कि त छोराछोरी, कि त पार्टीको क्रियाशील सदस्यता तथा मतदाता नामावलीमा नाम समेत नभएकासम्मलाई रोजिएको छ । यो तहको ‘जगहँसाइ’ किन र केका लागि भन्ने विषयले केन्द्रीय समितिमा प्रवेश पाउनु जरूरी छ ।

सँगै, पार्टीले तत्कालै स्थानीय तहसम्म केन्दि्रत गरेर ‘वैचारिक बहस’का निम्ति ‘प्रशिक्षण कार्यक्रम’लाई निरन्तरता नदिने हो भने देशभरका तमाम कार्यकर्ता ‘अब्बल दर्जाका बिचौलिया’ बनेर निस्कने छन् । कार्यकर्ता नै वैचारिक फाँटमा निकम्मा हुँदा भोलि पार्टी कस्तो बन्ला सहजै अनुमान लगाउन सकिन्छ ।

तसर्थ पार्टीभित्रको यथास्थितिवादी धारले ‘गगन-विश्व’लाई नभई समयको वेग बुझ्न नसक्ने नेतृत्वलाई प्रमुख चुनौतीको रूपमा लिन सक्नुपर्दछ । यसको अलावा पार्टी केन्द्रीय समितिमा २०८४ को चुनावको चिन्ता गर्दै गर्दा उमेर समूह पनि ८४ कै हाराहारीलाई बिदा गर्ने बारेमा बहस हुन सक्यो भने मात्रै पार्टी रूपान्तरणको मार्गमा एक कदम अगाडि जान सक्दछ ।

उल्लिखित विषय कांग्रेसको आन्तरिक जीवनको विषय भयो । कांग्रेसको बैठक बस्नु या नबस्नु, भ्रातृ तथा शुभेच्छुक र विभाग बन्नु या नबन्नुसँग जनताको ‘साइनो र सरोकार’ छैन । जनतासँग प्रत्यक्ष जोडिने विषय भनेको नेपाली कांग्रेस पार्टीले जनताको आवाज कुन स्केलमा उठाउँछ र सरकारमा रहँदा सम्बोधन गर्छ कि गर्दैन भन्ने नै हो ।

आज पार्टी नेतृत्व मुलुकमा देखिएका तमाम ‘बेथिति’का बारे बेखबर मात्र नभई कतिपय घटनामा आफू सामेल समेत छ । यतिबेला कांग्रेसलाई जनताका मुद्दा उठाएर ‘संसद, सरकार र जनता’ बीच जाने इच्छाशक्ति भएका जुझारु नेताको खाँचो छ । जुन कुरा उमेर र विचारले शिथिल देउवासँग अपेक्षा गरिनु नै व्यर्थ छ ।

तसर्थ, पार्टीका केन्द्रीय पदाधिकारी तथा नेताले गुटमा विभक्त नभई वैधानिक माध्यमबाट पार्टी र सिंगो मुलुकको हितका खातिर नेतृत्व परिवर्तनको एजेण्डामा आफूलाई उभ्याउन सक्दा मात्रै जनताका बीच जाने मुद्दा बन्न सक्छ । अन्यथा यथास्थितिमै ‘जुहारी’ खेलेर बस्ने हो भने समयको वेगले कांग्रेस पार्टीलाई निकै पछाडि छाडिसकेको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?