
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बगान’लाई बिहीबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा आयोजित प्रिमियर समारोहमा कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञको उपस्थिति रह्यो । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानासहितका अतिथि फिल्म हेर्न पुगेका थिए ।
निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौड्याल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, शोभित बस्नेत, ऋषि लामिछाने, अभिनेताहरू कृष्ण मल्ल, अशोक शर्मा, रमेश उप्रेती, गायकहरू सत्यराज आचार्य, स्वरुपराज आचार्य, विकास राणा, गायिका देविका बन्दना, सुनिता दुलाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कोशी प्रदेश सांसद मीना श्रेष्ठ लगायत समारोहमा उपस्थित रहे ।
फिल्म हेरेपछि प्रतिक्रिया दिंदै उपसभामुख रानाले ‘बगान’मा सिक्नुपर्ने कुरा धेरै रहेको बताइन् । एकल आमा समेत रहेकी उनले फिल्ममा छोरीले आमाको लागी जे गरेकी छन्, त्यही काम छोराले पनि गर्न सक्यो भने समाज समृद्ध हुने बताइन् ।
अभिनेत्री तथा निर्देशक निरौलाले बगान फिल्म मात्र नभएर क्रान्ति भएको बताइन् । ‘यस्तो प्रकारको विषयवस्तु उठाउनलाई ठूलै मुटु चाहिन्छ । सरोज खनाल जस्तो अभिनेता हुनुहुन्छ, त्यस्तै अब्बल निर्देशन गर्नुभएको छ,’ उनले भनिन् । फिल्मका संवादले हृदय छोएको उनको प्रतिक्रिया थियो ।
अभिनेता रमेश उप्रेतीले कम रुने आफ्नो स्वभाव भएपनि यो फिल्मले रुवाएको बताए । ‘म पुरुष हुँ, कम रुन्छु । म यत्तिकै पक्कै रोइन होला,’ उनले भने । कथा, निर्देशन र सबैको अभिनय पक्षको उनले प्रशंसा गरे । ‘सरोज खनाल जस्तो राम्रो कलाकार हो, उस्तै राम्रो फिल्म बनाउनु भएको छ । फिल्मले नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने छ । हामी सबैले खुसी भएर बाँच्न पाउनुपर्छ भन्ने धारणासहित यो फिल्म बनेको छ,’ उनले भने ।
गायिकाद्वय देविका बन्दना र सुनिता दुलालले निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर, नवनायिका कार्कीसहित सबै कलाकारको प्रशंसा गरे । समाजमा एकल आमाले बाँच्नका समाजमा कति चुनौती छन् भन्ने कुरा फिल्मले उजागर गरेको उनीहरुले बताए ।
अभिनेत्री मानन्धरले पहिलोपटक पूरा फिल्म हेरेपछि आत्मसन्तुष्टि मिलेको बताइन् । उनले भनिन्, ‘एक कलाकारलाई आफ्नो काम मन पर्दैन, तर बगान हेर्दा म सन्तुष्ट भएँ ।’ निर्माताले एकल आमालाई निःशुल्क फिल्म देखाउने घोषणा गरिसकेको छ । फिल्ममा खनाल, मानन्धर, कार्कीसँगै, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्माको अभिनय छ । अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका छन् । सुरेश वाग्ले निर्माता हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।
तस्वीरहरु
प्रतिक्रिया 4