+
+

आफ्नो सेना र अरूको देशका विषयमा बोल्दा संवेदनशील हौँ : परराष्ट्रमन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १३:३९

२८ असार, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अन्य देशहरुसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गरेका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘माननीय सदस्यहरुले सम्मानीत सदनमा व्यक्त गर्नुभएका विचारहरु सरकारका लागि मार्गनिर्देशन हुने कुरा स्पष्ट गर्न चाहन्छु,’ मन्त्री साउदले भने, ‘तर, विभिन्न देशहरुसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेना जस्तो विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गर्दछु ।’

उनले नेपाली सेना यूएन मिसन अन्तर्गत विश्वमा शान्ति स्थापना गर्न र देशको प्रतिरक्षा गर्न सक्षम र समर्पित रहेको बताए ।

नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको स्पष्ट पार्दै उनले सबै देशसँग नेपालको सम्बन्ध सुमधुर रहेको बताए । गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको उनको भनाइ थियो ।

राष्ट्रिय सभामा विनियोजन विधेयक, २०६० अन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरुका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईले ‘नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि’ भन्ने जिज्ञासा राखेकी थिइन् ।

जवाफमा परराष्ट्रमन्त्री साउदले भने, ‘परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको छ । असंलग्नता ती आधारहरू मध्ये एक प्रमुख आधार रहिआएको छ ।’

उनले नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकी लगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको बताए । नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोणका कारण विश्व जगतमा विश्वसनीयता र सम्मान आर्जन हुन सकेको पनि परराष्ट्रमन्त्री साउदले बताए ।

उनी हालै मात्र पनि ३ देखि ६ जुलाई २०२३ सम्म अजरबैजानको बाकुमा सम्पन्न असंलग्न आन्दोलनको सम्मेलनमा सहभागी भएर फर्किएका हुन् ।

उक्त बैठकमा आफूले गरेको सम्बोधनबारे पनि परराष्ट्रमन्त्री साउदले राष्ट्रिय सभालाई जानकारी गराएका छन् । ‘मैले बदलिंदो अन्तर्राष्ट्रिय परिवेशमा असंलग्न आन्दोलनको सान्दर्भिकता र महत्वलाई थप उजागर गर्न सहकार्य गर्ने नेपाल सरकारको प्रतिवद्धता व्यक्त गरेको थिएँ,’ उनले भने, ‘साथै हाल विश्वका जल्दाबल्दा राजनीतिक तथा आर्थिक मुद्दाको समाधानका लागि असंलग्न आन्दोलनमा आवद्ध सदस्य राष्ट्रहरूको ऐक्यवद्धता र सहकार्यमा जोड दिएको थिएँ ।’

परराष्ट्रमन्त्री साउदले परराष्ट्र नीति २०७७ मा उल्लेख भएको व्यवस्था बमोजिम नेपाल सरकारले आवश्यकता अनुसार यस नीतिको पुनरावलोकन वा परिमार्जन गर्ने पनि बताए । यसअघि नेपाल सरकारबाट २०७७ कात्तिक ७ मा स्वीकृत परराष्ट्र नीति, २०७७ सोही वर्षको मंसिर महिनामा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?