+

कोमामा पुगेका बिरामी फर्किन पनि सक्छन्

२०८० असार  २८ गते १४:१९ २०८० असार २८ गते १४:१९
कोमामा पुगेका बिरामी फर्किन पनि सक्छन्

कोमामा पुगेको बिरामी प्राय: फर्कंदैनन् भन्ने धेरैले सोचेका हुन्छन् । त्यसैले कोमामा पुगेकाहरुलाई ‘जिउँदो लास’ भनेको सुनिन्छ । जसकारण धेरैले आफ्नो कोही व्यक्ति कोमामा पुगेपछि फर्किने आश नै मारिसकेका हुन्छन् ।

कोमामा रहेको व्यक्तिले आफ्ना वरपर भएका घटना तथा क्रियाकलापका साथै परिवर्तन तथा समस्याबारे समेत प्रतिक्रिया जनाउन सक्दैनन् । हामीमध्ये धेरैलाई कोमा उपचारको विकल्प नभएको अवस्था हो भन्ने लाग्छ । उसो भए  के साँच्चिकै कोमामा पुगेको व्यक्ति फर्किन सक्छन् ?

के हो कोमा ?

शरीरले आन्तरिक तथा बाह्य आवश्यकता पूरा गर्न नसक्ने अवस्थालाई कोमा भनिन्छ । कोमा मस्तिष्क अचेत अवस्थामा पुगी लामो समयसम्म बेहोसी अवस्थामा रहनु हो । जब कोही कोमामा पुग्छन्, उसलाई वरपर के भइरहेको छ थाहा हुँदैन। मान्छे जिउँदै हुन्छ । तर हेर्दा गहिरो निद्रामा पुगेको जस्तो देखिन्छ । तर कोमामा रहेको व्यक्तिको श्वासप्रश्वास बिस्तारै चलिरहेको हुन्छ । मस्तिष्कमा दुर्लभ गतिविधि पनि देख्न सकिन्छ। मस्तिष्क बाहेक शरीरका अन्य अंगहरु जस्तै मिर्गौला, कलेजो, फोक्सो, मुटु लगायतले काम गरिरहेको हुन्छ ।

कारण

कोमा हुने विभिन्न कारण हुन्छन् । जसमध्ये एक हो, ट्रमाटिक ब्रेन इन्जुरी । सडक दुर्घटना वा हिंसात्मक घटना हुँदा मस्तिष्कमा चोटपटक लाग्न सक्छ । यसबाहेक मस्तिष्कमा गहिरो घाउका कारण पनि यो अवस्था उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा मस्तिष्कभित्रको नसा फुट्छ र रगत बग्न थाल्छ । कहिलेकाहीं टाउको फुटेर मस्तिष्कको कोषिकाहरूमा पनि प्रवेश गर्न सक्छ ।

त्यस्तै ब्रेन ट्युमर, मधुमेह, कुनै कारणले शरीरमा अक्सिजन नपुग्नु, हृदयघात भइसकेको व्यक्तिलाई अक्सिजन अपुग हुँदा, इन्सेफलाइटिस र मेनिन्जाइटिस जस्ता संक्रमणले मस्तिष्क र मेरुदण्डको वरपरका तन्तुहरू सुन्निन्छन् । यी संक्रमणको गम्भीर अवस्थामा मस्तिष्क क्षति वा कोमा हुन सक्छ । शरीरमा विषाक्त पदार्थ जम्मा भएमा जस्तै कार्बनडाइअक्साइड उच्च भएर रगतमा मिसिएर मस्तिष्कघात र कोमामा पुग्न सक्छन् । मदिरा र लागुऔषधको ओभर डोजले पनि कोमामा पुग्ने सम्भावना जस्ता धेरै अवस्थाका कारण व्यक्ति कोमामा पुग्छ ।

कोमामा यसरी राखिन्छ

कोमामा पुगेको व्यक्तिको कार्यप्रणालीले काम गर्न नसक्ने हुँदा कृत्रिम मेसिनको सहाराबाट आवश्यक तत्व दिइन्छ र चिकित्सकको उच्च निगरानीमा नै उपचार सुरु हुन्छ । अक्सिजन दिन सिलिन्डर, पोषणका लागि पाइप, सल्यान, भेन्टिलेटर जस्ता सामग्री दिएर राखिन्छ ।

पहिचान तथा उपचार

कोमामा पुगेको हो वा होइन भनेर प्रभावित व्यक्तिको एबीसी (श्वासप्रश्वास, सास र यसको सञ्चार) बुझिन्छ । त्यसपछि मुटु, कलेजोदेखि महत्वपूर्ण अंगबारे सिटिस्क्यान, एमआरआईबाट हेरेर कोमामा के कारणले पुगेको भनेर पत्ता लगाइन्छ ।

कोमामा पुगेको निर्क्योल भएपछि त्यसको आधारमा उपचार गरिन्छ । पहिला सास फेर्न र रक्तसञ्चार कायम राख्न मद्दत गरिन्छ । त्यसपछि सास फेर्न सहयोग गर्न नसामार्फत औषधि र अन्य सहायक आवश्यक चीज दिन सक्छन् । मस्तिष्क सुन्निएको कारणले हो भने मस्तिष्कमा दबाब कम गर्न एक प्रक्रिया वा औषधि आवश्यक हुन सक्छ । हातको नसाबाट ग्लुकोज वा एन्टिबायोटिक दिइन्छ । धेरै कम चिनीको स्तर छ वा मस्तिष्कलाई असर गर्ने संक्रमणको अवस्थामा रगत परीक्षणको नतिजा आउनुअघि नै यी औषधि दिइन्छ ।

यदि कोमा ड्रग ओभरडोजको परिणाम हो भने सामान्यतया यो अवस्थाको उपचार गर्न औषधि दिन्छन् । यदि कोमा हृदयघातको कारण हो भने औषधिले नियन्त्रण गर्न सक्छ । अन्य उपचारले मधुमेह वा कलेजो रोग जस्ता रोगका लागि विशेष औषधि वा उपचारमा केन्द्रित हुन सक्छ ।

कोमामा पुगेको व्यक्ति फर्किन सक्छन् ?

चिकित्सा विज्ञानमा अहिलेसम्म त्यस्तो कुनै प्रणाली छैन, जसले बिरामी कहिले कोमाबाट निस्कन्छ भनेर बताउन सक्छ । कहिले कोमाबाबाट बाहिरिन्छ भन्ने सम्भावना कोमाको कारणमा निर्भर गर्छ । यदि रोगको समाधान गर्न सकिन्छ भने व्यक्ति प्रायः आफ्नो सामान्य काम गर्ने सक्ने स्तरमा फर्कन सक्छ । मस्तिष्कमा गम्भीर क्षति पुगेको छ भने कोमाबाट फर्किन नसक्ने अवस्थामा पनि पुग्न सक्छ । टाउकोमा चोटपटक लागेर कोमामा पुगेको व्यक्ति निको हुने दर उच्च हुन्छ । कोमाबाट फर्किने संकेत उनीहरुको व्यवहारबाट पत्ता लगाउन सकिन्छ ।

कोमाबाट बाहिर आउन सक्ने ४ अवस्था  

कोमामा पुगेपछि कति समयमा बिरामी बाहिर आउँछ भन्न मुश्किल भए पनि केही कुराले सुधार भइरहेको संकेत पनि दिन्छ ।

पहिलो चरण : प्रतिक्रिया नदिने

कुनै पनि प्रतिक्रिया नदिने समयलाई पूर्ण कोमामा व्यक्ति छ भन्ने बुझिन्छ । तर यो समयमा कुनै खास कारणबिना प्रतिक्रिया र अनियमित हलचल भएको देख्न सकिन्छ ।

दोस्रो चरण : प्रारम्भिक प्रतिक्रिया

यस चरणमा बिरामीले प्रतिक्रिया दिन सुरु गर्छ । तर प्रतिक्रियाहरू कम, अनियमित र सुस्त हुन सक्छन् । केही प्रारम्भिक प्रतिक्रियामा आवाज दिने, छुनेजस्ता क्रियाकलाप गर्दा हात चलाउने, आँखा खोल्ने र बन्द गर्ने जस्ता गतिविधि गर्न थाल्छन् ।

तेस्रो चरण : निरन्तर हलचल र भ्रम

यस चरणमा कोमामा पुगेको व्यक्तिले लगातार प्रतिक्रिया दिन सक्छ । उसलाई आफू कहाँ छु र के भइरहेको छ भन्ने थाहा हुँदैन । तर आक्रोश, छटपटी पोख्ने र दाह्रा किट्ने भने गर्न सक्छन् ।

चौथो चरण : प्रतिक्रिया उच्च

यस चरणमा बिरामीले बिना कठिनाइ नियमित काम पूरा गर्न सक्षम हुन सक्छ । यद्यपि,  उनीहरु अझै पनि समस्या समाधान, निर्णय र निर्णय लिन सक्ने कुरामा कठिनाइ हुन सक्छ । यस चरणमा उनीहरूको सीमितताबारे पूर्ण रूपमा थाहा नहुन सक्छ । आफन्तजनले यो चरणमा व्यक्तित्वमा केही असामान्य   परिवर्तन पनि देख्न सक्छन् ।

निको हुने प्रक्रिया सबैको लागि फरक हुन्छ र केही बिरामीहरू एक चरणमा अर्कोभन्दा लामो समयसम्म रहन सक्छन् ।

(सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. सुनिलराम कोइराला वीर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

कोमा डा. सुनिलराम कोइराला स्वास्थ्य
डा. सुनिल कोइराला
लेखक
डा. सुनिल कोइराला
वरिष्ठ कल्सल्टेन्ट न्युरोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३०२७ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), डीएम (न्युरोलोजी) हाल वीर अस्पतालको न्युरोलोजी विभागमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?