+
+

अब सजग भएर काम गर्छौं, अर्को सातादेखि काममा फर्कन्छौं : बल्छी धुर्बे

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १७:२४

काठमाडौं । अनलाइन सट्टेबाजी एप वान-एक्स बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका ९ जना कलाकार र युट्युवर यसैसाता रिहा भए । ३० दिनको हिरासत बसाइपछि उनीहरु अदालतको आदेशमा छुटेका थिए । यसरी रिहा हुनेमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु मास्टर लगायत छन् ।

उनीहरु हिरासतमा पुग्दा उनीहरुको नेतृत्वमा हुँदै आएको टेलिभिजन कार्यक्रम प्रभावित बनेका थिए । यस्तोमा रिहा भएपछि अनलाइनखबरसँग कुरा गर्दै बल्छी धुर्वेले हिरासत बसाइको अनुभव बाँड्दै छिट्टै काममा फर्कने बताएका छन् । ‘हल्का रमाइलो’ अर्को आइतबार र ‘जुठे’ दुई सातापछि प्रसारण हुने उनले बताए ।

आफूहरु केही मानसिक रुपमा समस्यामा रहेको बताउँदै बल्छी धुर्वेले आगामी सजग भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो छ अनलाइनखबरसँग उनले गरेको कुराकानी :

३० दिन हिरासतमा बस्नुभयो । समग्रमा कलाकारको रुपमा हिरासतमा तपाईंको बसाइ कस्तो रह्यो ?

हिरासत भनिसकेपछि बाहिरको वातावरणभन्दा बेग्लै चीज हो । प्रहरीको सिस्टममा बस्नुपर्ने । बसाइ त ठीकै थियो तर मानसिकरुपमा कठिन हुने रहेछ । कलाकार मात्र होइन कोहीलाई पनि त्यहाँ गएर बस्दा कसैले पनि फ्रेस अनुभव गर्नुहुन्छ जस्तो लाग्दैन मलाई । यसकारणले मानसिकरुपमा दबाब नै थियो ।

कलाकारितामा नाम कमाएको मान्छे हिरासतमा पुग्दा, बाहिर आफूलाई लिएर यस्तो टिकाटिप्पणी भैरहेको भन्ने सुन्दा कस्तो लाग्थ्यो ?

परिवारका सदस्य भेट्न हिरासतमा जानुहुन्थ्यो । उहाँहरुले तपाईंबारे यस्तो न्यूज आएको छ, बेट खेलेर ६४ करोड रुपैयाँ लिएको रे भनेर भन्नुहुन्थ्यो । सत्यतथ्य नबुझिकन यस्ता कुरा आएको थियो । यस्तो कुराले हाम्रो परिवारलाई बढी टर्चर भएको थाहा पाइयो । यस्तो कुराले पारिवारिक हिसाबमा पनि अलि बढी प्रेसर नै थियो । टिकटक, फेसबुकमा आएको कुरा हेर्दाखेरी यसमा सत्यतथ्य थिएन । यो दुःखद पक्ष थियो ।

वान-एक्स बेटको प्रचार गैरकानूनी हो भन्ने कुरा थाहा थियो कि थिएन ?

हामीले कता-कता गैरकानूनी हो भन्ने सुनेकै हो । तर हामी कहाँनेर झुक्कियौं भन्दाखेरी एकवर्षअघि पोखरामा क्रिकेट गेम भएको थियो । त्यस्तै काठमाडौंमा नेपाल युथ च्याम्पियन खेल हुँदा ठूलो अक्षरमा वानएक्स बेट र वानएक्स बेटजस्तै बीइटी र बीएटी भन्ने अलग रहेछ । जस्ताको त्यस्तै लोगो र तर ए भन्ने शब्द मात्र चेन्ज गरेर प्रचार गरेका थिए । जसले हामीलाई बजाउन दिए, उहाँले हामीलाई प्रधानमन्त्री पनि जानुभएको छ । यहीखाले यो यही हो भनेर कन्भिन्स गर्नुभयो र बजाइदिएको हो । त्यहाँबाट झुक्किएका हौं, यसको मूल कारण पनि यही नै हो ।

तपाईंहरु हिरासतमा जाँदा जुठे, हल्का रमाइलोजस्ता टिभी कार्यक्रम प्रभावित बनेका छन् । यसको निरन्तरताबारे के भन्नुहुुन्छ ?

जुठेको पनि नयाँ एपिसोड छैन । हल्का रमाइलो सकिएको पहिल्यै हो । हामी छिट्टै नै काममा फर्कन्छौं । हामी बाहिर आनन्दले काम गरिराख्या मान्छे, एक महिना थुनिएर बस्दा मानसिकरुपमा हामीलाई थोरै समस्या भएको छ । ६४ करोडको प्रचारबाजीले हामीलाई मेन्टल्ली अलिकति हप्ता दशदिनमा काममा फर्कने तयारीमा छौं । हामी लेख्नुपर्ने, क्रिएसन गर्नुपर्ने मान्छे त्यसले गर्दा अलिकति समस्या भैरहेको छ । अर्को हप्ताबाट हल्का रमाइलो पनि आउँछ । जुठे चाहिँ भ्यालीबाहिर जानुपर्ने भएकाले एकदुई हप्ता नआउन सक्छ । त्यसपछि आउँछ ।

तपाईंहरुको मुद्दा अहिले पनि अदालतमा बिचाराधिन छ । अब मुद्दाको तारेखसँगै कामकाजलाई कसरी अघि बढाउनु हुन्छ ?

कामलाई समस्या छैन । अब एक महिनापछिको तारेख छ । यसबीचमा हामीले कामलाई अघि बढाउन कुनै बाधा रहेन्छ । हामीले आफ्नो कामलाई अघि बढाउन सक्ने रहेछौं । हामी सहजरुपमा नै काममा फर्कन्छौं । काम त हाम्रो पुरानै हुन्छ । केही विज्ञापन आइहाल्यो भने बजाइहाल्ने हुँदैन अब । अब विज्ञापनमा थोरै शंका लाग्यो भने कानूनीरुपमा वकिल राखेर काम गर्छौ । अब हतारिएर होइन कि सोचेर, बुझेर र संयम भएर यस्तो काममा हात हाल्छौं । अञ्जानमा भूल भयो ।

कलाकार हिरासतमा जाँदा बाहिर एक खालको सन्देश गएको छ । यसबारे दर्शकलाई तपाईंको अपिल के छ ?

अञ्जानमा भएको चीज हो यो । जानेरै यस्तो गरेको चीज होइन । काम गर्दैै जाँदा भूलवश भएको हो । यसलाई दर्शकले एकपटक सुध्रने मौका दिनुहुन्छ । हामीले गरेको कामले समाजमा सकारात्मक सन्देश जाओस् भन्ने ढंगले काम गर्छौं । नियोजित रुपमा काम नगरेकाले दर्शकले हामीलाई क्षमा दिनुहुन्छ भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?