
३० असार, धनगढी । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यले शनिबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गर्ने भएका छन् ।
दिउँसो ३ बजे बोलाइएको बैठक अहिलेसम्म नबसेको भन्दै उनीहरुले बैठक बहिस्कारको घोषणा गरेका हुन् ।
३ बजे बैठक बस्ने सहमति भए पनि सरकार र सत्तापक्षका कारण समयमा बैठक सुरु नभएका कारण शनिबारको बैठक बहिस्कार गर्ने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए ।
‘कार्यव्यवस्था परामर्श समितिमा ३ बजे बैठक बस्ने सहमति भएको थियो, हामीले डेढ घण्टा भन्दा बढी कुर्यौं, तर सरकारले सदन चलाएन, अहिले कार्यसूचीमै नभएको बजेट पारित गर्ने विषय जबर्जस्ती लाद्न खोजिएको छ’ उनले भने, ‘त्यसैले हामी आजको बैठक बहिस्कार गर्छौं ।’
एमालेले सत्तारुढ दलहरुबीच निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने सहमतिको पनि विरोध जनाएको छ । सुदूरपश्चिममा एमालेका १० जना प्रदेशसभा सदस्य छन् ।
सुदूरपश्चिम प्रदेशमा शनिबार बजेट पारित गर्ने सरकारको तयारी छ । तर सारुढ गठबन्धनमै रहेका दलहरुले बजेटमा असन्तुष्टि राखेकाले शनिबार दिउँसो सत्ता गठबन्धनको बैठक र त्यसपछि गठबन्धनमा भएका सबै दलहरुको संसदीय दलको बैठक बसेका थिए । त्यसैले प्रदेशसभाको बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन ।
राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी विष्टले सरकारले आफूहरुलाई प्रदेशसभा बैठकमा धेरै समय कुराएकाले बैठकमा सहभागी नहुने बताइन् ।
स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारा जोशीले पनि प्रदेशसभा बैठक बहिस्कार गर्ने बताएका छन् । ‘सत्तारुढ दलभित्रै बार्गेनिङ चलिरहेको छ । उहाँहरुले एक पटक कुरा मिलाएर आयौं भनेर हामीलाई सदनमा डेढघण्टा कुराउनुभयो, तर बैठक सुरु भएन, त्यसैले अहिले उहाँहरुको साक्षी बस्न सकिँदैन’ उनले भने ।
प्रतिक्रिया 4