
काठमाडौं । कलाकार र लेखकको हड्तालका कारण ठूला हलिउड फिल्मको निर्माण रोकिएको छ । बीबीसीका अनुसार ‘अवतार’ र ‘ग्लेडिएटर’जस्ता ठूला फिल्मको निर्माण प्रभावित बनेको हो । यस महिनाको अन्त्यमा प्रदर्शनको तयारीमा रहेको डिज्नीको फिल्म ‘हन्टेड म्यानसन’को प्रिमियर रोकिएको छ ।
चर्चित निर्देशक क्रिस्टोफर नोलनले हड्ताल अवधिभर कुनै पनि फिल्म निर्माण नगर्ने बताएका छन् । कमिक कन र एमी अवार्डजस्ता ठूला अवार्ड समारोह रोकिने लगभग निश्चित देखिएको छ । ६० वर्षपछि हलिउडका एक लाख ६० हजारभन्दा बढी कलाकार हड्तालमा उत्रिएका छन् ।
‘अवतार’का दुई श्रृंखला रिलिज भइसकेका छन् भने बाँकी तीन सिक्वेल निर्माणाधीन अवस्थामा छन् । हडताल अवधिभर कलाकारले काम गर्न नपाउने नियमका कारण ‘अवतार’ र ग्लेडिएटर’को निर्माण रोकिएको हो । जसले पूर्वनिर्धारित प्रदर्शन मितिमा अझै ढिलाइ हुन सक्ने अनुमान गरिएको छ ।
शुक्रबार बिहानदेखि सुरु हड्तालको पहिलो दिन नेटफ्लिक्स, डिज्नी, प्यारामाउन्ट र वार्नर ब्रोजभन्दा बाहिर प्रदर्शन भएको थियो । दोहोरो हड्तालका कारण टेलिभिजन सिरिजको निर्माण पनि रोकिएका छन् ।
हलिउड कलाकारको छाता संस्था स्क्रिन एक्टर्स गिल्डले नाफाको समानुपातिक विभाजन र काम गर्ने सुनिश्चित वातावरण तय गर्न स्ट्रिमिङ कम्पनीलाई दबाब दिइरहेको छ । साथै, एआईजस्ता डिजिटल प्लेटफर्मले सिर्जना गर्ने आकृति नियमनका लागि पनि माग राखिएको छ । एआईमार्फत कलाकारको आकृति र दृश्यलाई विस्थापित गर्न नहुने ठूलो माग समावेश छ ।
निर्देशक नोलनले हड्ताल समाधान नभएसम्म आफूले कुनै पनि हलिउड फिल्ममा काम नगर्ने घोषणा गरेका छन् । यसबारे सोधिएको जिज्ञासामा उनको जवाफ थियो, ‘बिल्कुल होइन । यो समयमा सबैले बुझ्नुपर्छ कि काम गर्ने मानिस र हलिउडबीचको सम्बन्धमा धेरै महत्वपूर्ण क्षणको रुपमा मैले यसलाई लिएको छु ।’
‘यो मेरो बारेमा होइन, यो मेरो फिल्मका कलाकारको बारेमा होइन,’ प्रशंसित निर्देशक, लेखक र निर्माताले हड्तालबारे भने, ‘यो काम गर्ने अभिनेताहरूको बारेमा हो, यो टेलिभिजन कार्यक्रमहरूमा स्टाफ लेखकहरूको बारेमा हो, जसले परिवार हुर्काउने प्रयास गर्दै, खाना टेबलमा राख्ने प्रयास गर्दैछन् ।’
हलिउड सञ्चारमाध्यमका अनुसार यसपटकको हड्ताल सन् २०२३ को अन्त्यसम्म निरन्तर रहन सक्छ ।
प्रतिक्रिया 4