
३१ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो हुँदा समेत सुरू हुन सकेको छैन ।
मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय भए पनि दलहरुका बीचमा विधेयक पारित गर्ने प्रक्रियाका विषयमा छलफल चलिरहेको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक भएकाले अन्य विधेयकको रुपमा अगाडि बढाउन नसकिने एमाले नेताहरुको भनाइ छ ।
यसका लागि भाषा मिलाउनुपर्ने प्रस्ताव एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी लगायतले राखेका छन् ।
सत्तारुढ दलहरुले ६० दिन भित्र पास हुन नसक्दा अध्यादेश निष्कृय भएको र विधेयक निष्कृय नभएको बताउँदै प्रतिस्थापन विधेयक नै पास गर्नुपर्ने बताएको छ ।
नयाँ वानेश्वर स्थित संसद भवनमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले मिटरब्याज सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय गरिसकेको छ ।
पास गर्ने प्रक्रियाका सन्दर्भमा थप छलफल गर्ने जिम्मा राजनीतिक दलका प्रमुख सचेतकहरुलाइ दिएको छ ।
सचेतकहरुको छलफलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी छन् ।
सचेतकहरुको छलफल लम्बिएका कारण दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक समयमै सुरु हुन नसकेको हो ।
प्रतिक्रिया 4