
जब
म यी सहरको गल्लीका चोकहरूमा पुग्छु
र सालिकलाई देख्दछु
मेरा पैतालादेखि मलाई लाज लाग्छ
त्यो सालिक त आज
रगतविहीन छ
तर म त्यही रगत लत्पतिएको भुइँमा पैताला टेकेर उभिइरहेको छु
विना लाज !
मलाई मेरो सिंहदरबारदेखि हो
सबैभन्दा बढी लाज लाग्ने
अझ योभन्दा बढी बानेश्वरको सम्मेलन केन्द्र
जहाँ हरदिन एक अनौठो नृत्य प्रस्तुत हुन्छ ।
मलाई यी अस्पतालदेखि लाज लाग्छ
जहाँ संवेदना र रोगको व्यापार हुन्छ
मलाई स्कुलहरूदेखि लाज लाग्छ
जहाँ बुर्जुवा सोचहरूको चरम व्यापार हुन्छ
मलाई यी
दुकानहरूदेखि लाज लाग्छ
जहाँ भोकको चरम व्यापार हुन्छ
मलाई यी घाटहरूसँग लाज लाग्छ
जहाँ जल्नलाई पनि लाइन बस्नुपर्छ ।
मलाई अदालतदेखि लाज लाग्छ
जहाँ इज्जतबाहेक सबैले न्याय पाउँछ
मलाई यो लोकसेवादेखि लाज लाग्छ
जसले मरेका दिनका प्रश्न सोध्छ
मलाई यी बन्दुकहरूदेखि लाज लाग्छ
जो कहिल्यै भ्रष्टाचारी अगाडि पड्किन्नँ
म यो लजाएको मुख छोप्दा छोप्दा
बेडमा गएर लमतन्न पर्छु
देश रोएको देख्दा
लुटिंदा पनि
निकम्बा छु म ।
मलाई आज आफैंदेखि
आफ्नै जिन्दगीदेखि लाज लाग्छ
म एक जिउँदो लास हुँ
यार
आज सबैभन्दा बढी आफैंदेखि लाज लाग्छ !
– खोटाङ
प्रतिक्रिया 4