
काठमाडौं । पछिल्लो समय पाकेटमारीका घटना दैनिकजसो सुनिन्छ । सार्वजनिक यातायातमा चढ्दा पाकेटमारहरूले पैसा, मोबाइल चोरी गरेको अनुभव धेरैसँग हुन सक्छ ।
पाकेटमारीको घटना बढिरहेको बेला यसबाट कसरी बच्ने चिन्ता सबैलाई हुन्छ । पाकेटमारबाट बच्न सार्वजनिक यातायातमा यात्रा गर्दा, भीडभाडमा जाँदा केही कुरामा सतर्क हुनुपर्छ ।
पाकेटमार कसरी चिन्ने ?
पाकेटमारहरू प्राय: भीडभाड वा खचाखच गाडीमा मात्र चढ्छन् । र, भीड भएको ठाउँमा उभिएर बस्छन् । उनीहरू उभिएर यताउता चलिरहन्छन् । भीडमा ठेलमठेल गर्दै बस्छन् । एकै ठाउँमा वा खुला ठाउँमा उभिँदैनन् । जहाँ भीड हुन्छ, त्यही घुस्रिन्छन् र असजिलो ढंगले बस्छन् । सकेसम्म गाडीको सिटमा बस्दैनन् ।
उनीहरू दुई वा दुई जनाभन्दा बढीको समूहमा गाडीमा चढ्छन् । समूहमा भए पनि उनीहरू एकअर्कालाई चिनेजस्तो गर्दैनन् । तर एउटै यात्रुलाई घेरेर बस्छन् र आँखाको इशाराले कुरा गर्छन् ।
उनीहरूले झोला भिरेका हुन्छन् र सकेसम्म त्यस्ता झोला अगाडितिर अर्थात् छातीतर्फ भिर्छन् । यसले गर्दा झोलाभित्रबाट हात लम्काएको अरूले देख्दैनन् । त्यसैगरी उनीहरूले झोलाको प्रयोग अरू यात्रुको आँखा छल्न पनि प्रयोग गर्छन् ।
पाकेटमारहरूले प्राय: लामो यात्रा गर्दैनन् । जहाँ पकेट मार्छन्, त्यहाँ उत्रिन्छन् । मानौं, गौशालामा चढेका छन् भने एयरपोर्टमा झर्छन् । उनीहरू आफूलाई हेर्दा सोझो, सामान्य र भलाद्मी देखाउने प्रयास गर्छन् । झुत्रेझाम्रे देखिंदैनन्, सुकिलामुकिला देखिन्छन् ।
फोनमा कुरा गरेजस्तो गर्छन् र हतारमा भएजस्तो हाउभाउ देखाउँछन् । भीडमा अरू यात्रुलाई मिलाएजस्तो गरेर सुटुक्कै गोजी छामिसक्छन् ।
पाकेटमारबाट कसरी बच्ने ?
बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरू तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुपर्छ ।
सार्वजनिक यातायातमा यात्रा गर्दा सकेसम्म धेरै पैसा वा धनमाल लिएर यात्रा गर्नु हुँदैन । गरगहना लगाएर हिंड्नु पनि सुरक्षित होइन ।
आफ्नो खल्ती वा झोलामा अरूले हात हाल्दै छ कि ? शंका गर्नुपर्छ । गाडी खचाखच छ भने अरू बढी सतर्क हुनुपर्छ । जानीबुझी अप्ठ्यारोमा पार्ने गरी वा असहज बनाउने नियतले कोही बस्छन् भने त्यो व्यक्तिमाथि निगरानी गर्नुपर्छ ।
सहरमा पाकेटमारीको घटना बढी हुने भएकाले गाउँबाट आएका व्यक्तिहरू पाकेटमारबारे सचेत नहुन सक्छन् । जसले गर्दा उनीहरू यसको सिकार बढी भइरहेका हुन्छन् । त्यसैले शंका लाग्यो भने ती व्यक्तिलाई पनि सचेत गराउनुपर्छ ।
कुन ठाउँमा बढी हुन्छ पाकेटमारीको घटना ?
धेरै भीडभाड तथा गाडी आवतजावत हुने ठाउँमा पाकेटमारीका घटना बढी हुन्छन् । काठमाडौंमा नयाँ बसपार्क, सुन्धारा एनएसी, रत्नपार्क, कलंकी, कोटेश्वर, गौशालाजस्ता ठाउँमा पाकेटमारीको घटना बढी हुने गरेको पाइएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत बताउँछन् ।
यी ठाउँमा तीज, दशैं र तिहार जस्ता चाडबाडको बेलामा यस्ता पाकेटमारी र लुटपाटको घटना बढी हुने गरेको उनी बताउँछन् ।
यस्तो समस्या भए प्रहरीमा कसरी उजुरी गर्ने ?
सार्वजनिक यातायातमा पाकेटमारीको घटना भए ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा फोन गर्न सकिन्छ । १०० मा नेपाली प्रहरीमा फोन गरेर पनि खबर गर्न सकिन्छ । साथै पाकेटमारको फोटो भिडियो खिचेर नजिकैको प्रहरी चौकीमा उजुरी गर्न सकिने कडाय बताउँछन् । ‘नेपाल प्रहरी एप्स र नेपाल प्रहरीको वेबसाइटमा पनि गुनासो तथा रिपोर्ट गर्ने विकल्प हुन्छ । त्यसमा भिडियो, फोटोलगायत प्रमाणसहित उजुरी गर्न सकिन्छ,’ उनी भन्छन् ।
के हुन्छ कारवाही ?
पाकेटमारहरूको सवालमा फौजदारी अपराध संहिता, २०७४ को दफा २४२ को (१) (ग) मा भएको भूकम्प, आगलागी, बाढी, हुलदंगा वा यस्तै प्रकृतिको अरू कुनै संकटापन्न स्थिति वा कुनै दुर्घटनाको मौका छोपी कुनै सम्पत्ति चोरी गर्ने वा गराउनेलाई सात वर्षसम्म कैद र २० हजार रुपैयँसम्म जरिवाना हुने व्यवस्था रहेको अधिवक्ता हरिप्रसाद मैनाली बताउँछन् ।
‘पहिलो पटक चोरी गरेकोमा कानुन बमोजिम र पटक-पटक चोरी गरेको भएमा सजायको मात्रा बढ्छ,’ उनी भन्छन् ।
प्रतिक्रिया 4