
काठमाडौं । अभिनेत्री मेलिना मानन्धरले पछिल्लोपटक २०७४ सालमा रिलिज भएको फिल्म ‘रोमियो’मा काम गरेकी थिइन् । त्यसपछि उनी श्रीमानसँगै अमेरिका लागिन् । सन् १९९० र २००० दशककी यी हिट हिरोइन पछिल्लो समय सपरिवार अमेरिका बस्दै आएकी थिइन् ।
करिअरमा ४५ हाराहारीका फिल्ममा काम गरेकी मेलिना पछिल्लो समय काठमाडौंमा छिन् । उनले केही मिडियासँग कुराकानी गर्दै राम्रो प्रोजेक्ट र कथावस्तु पाए फिल्ममा फर्किन तयार रहेको बताएकी छन् । ‘धेरै जनाले फिल्ममा कहिले फर्किने भनेर सोध्ने गर्नुहुन्छ । राम्रो कथावस्तु र प्रोजेक्ट भएर समय मिलाएर काम गर्छु,’ उनले भनेकी छन् ।
गत साता नेपाल आइपुगेकी मेलिना यो बसाइमा आफन्त, साथीभाइसँग भेट्ने र घुमघाम गरिहेकी छन् । लामो ग्यापपछि स्वदेश फर्किएकी मेलिनाको रमाइलो र रोचक भेट चाहिं ‘सीमाना’ को-स्टार धीरेन शाक्यसँग भयो । प्रकाश सायमी निर्देशित यो फिल्म २०५२ सालमा रिलिज भएको थियो ।
यी दुईले एकसाथ केही मिडियासँग गफगाफ पनि गरे । उनीहरुले आफूहरुले जोडी बाँधेर नाचेको ‘सीमाना’को गीत ‘फूलको डालीडालीमा’ गीतबारे पनि कुरा गरे । टिकटकमा समेत हिट बनेको यो गीतबारे कुरा गर्दै मेलिना र धीरेनले गोदावरीको सुटिङ गर्दाको क्षण पनि सम्झिए ।
‘हामी लक्की छौं, त्यो समयको हिरो हिरोइन भएकोमा’ मेलिनाले भनेकी छिन् । धेरैपछि भेटे पनि धीरेन र मेलिनाले उस्तै लागेको समेत बताएका छन् । मेलिना केही समयका लागि काठमाडौं आइपुगेकी हुन् । २०४९ सालमा रिलिज भएको फिल्म ‘अर्पण’बाट मेलिनाले नेपाली फिल्ममा अभिनय थालेकी थिइन् ।
तस्वीर : उद्दव रसाइली
प्रतिक्रिया 4