
३१ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी संसदीय दलका नेता फेर्नुपर्ने अभिव्यक्ति लगातार दिन थालेका छन् ।
शनिबार विराटनगर पुगेर महामन्त्री थापाले दलको नेता हटाउने प्रयास निरन्तर रहने बताए । ‘म त दलको नेतामा लडेको मान्छे हुँ, हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोशिस हुन्छ’ महामन्त्री थापाको भनाइ थियो, ‘साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’
एक साता अगाडि २३ असारमा काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा पनि महामन्त्री थापाले यस्तै आशयको अभिव्यक्ति दिएका थिए ।
५ पुस २०७९ मा सम्पन्न संसदीय दलको चुनावमा पार्टी सभापति देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री थापाको यस्तो अभिव्यक्तिलाई चासोका साथ हेरिएको थियो । त्यसबेला थापाले २५ मत पाउँदा ६४ मत पाएर देउवा दलको नेता चुनिएका थिए ।
तर सात महिनाभित्रै महामन्त्री थापाले दलको नेता फेर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । ‘संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरेपछि कहिल्यै प्रतिस्पर्धा गर्न पाउँदैनस् भनेको छैन’, अनलाइनखबरसँग थापा भन्छन्, ‘प्रतिस्पर्धा गर्न योग्य ठानेरै प्रतिस्पर्धा गरेको हुँ । यो बीचमा मेरो योग्यता घटेजस्तो मलाई लाग्दैन ।’
महामन्त्री थापाले भनेजस्तै संसदीय दलको नेता फेर्नु भनेको देउवालाई छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो बन्द गर्नु हो । किनकि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसले यही गठबन्धनबाट चुनावी सरकारको प्रधानमन्त्री लिने सहमति छ ।
महामन्त्री थापा र उनी निकट नेताहरुले भने २०८४ मा हुने चुनावी सरकारको नेतृत्व देउवाले गर्न नहुने तर्क गरिरहेका छन् । उनीहरुका अनुसार, देउवाले चुनावी सरकारको नेतृत्व गरे कांग्रेसले थप क्षति बेहोर्नुपर्नेछ ।
‘देउवा प्रधानमन्त्री हुँदा उल्लेखनीय काम गरेको विगत छैन’, थापा निकट एक नेता भन्छन्, ‘चुनावको नजिक उनी प्रधानमन्त्री भए पार्टीले हार ब्यहोर्न सक्छ, कारण उनै हुन्छन् ।’
राष्ट्रिय राजनीतिमा परिवर्तन आइरहेकाले समयानुकुल पार्टी बनाउन संसदीय दलको नेता परिवर्तन हुनुपर्ने विषय उठ्नु स्वभाविक भएको महामन्त्री थापा निकट गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी बताउँछन् ।
संसदीय दलको चुनाव गरेर देउवालाई हटाउनुपर्ने तर्क गर्नेहरुले आगामी चुनावमा गठबन्धन गर्न नहुने पक्षमा देखिन्छन् । त्यसका लागि कांग्रेसको नेतृत्व परिवर्तनलाई उनीहरुले शर्त मानेका छन् । महामन्त्री थापा, भूतपूर्व प्रधानमन्त्रीहरुको क्लबबाट मुक्त हुन पनि आफूले परिवर्तनको आवाज उठाएको बताउँछन् । ‘नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनाउन पाएको बेलामा भूतपूर्व प्रधानमन्त्री बन्नुहुँदैन’ थापा भन्छन् ।
गणितले साथ दिने आश
कांग्रेसको संसदीय दलको विधान अनुसार, २५ प्रतिशत प्रतिनिधि सभाका सदस्यले संसदीय दलको नेता माथि अविश्वासको प्रस्ताव राख्न सक्ने व्यवस्था छ ।
त्यो भनेको २२ सांसदले अविश्वासको प्रस्ताव ल्याएमा संसदीय दलको नेता चुनाव हुनसक्छ । तर संसदीय दलको नेता हुन ५० प्रतिशत कटाउनुपर्छ । अर्थात ८८ सदस्यीय संसदीय दलमा दलको नेता हुन ४५ मत चाहिन्छ ।

जुन गत ५ पुसको मत परिणाम हेर्दा सहज कुरा होइन । अझ १४औं महाधिवेशनमा देउवासँग पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला संसदीय दलको चुनावको पक्षमा खुलेका छैनन् ।
निकटवर्तीहरुका अनुसार कोइराला संख्यात्मक रुपमा बलियो नभई संसदीय दलको नेता परिवर्तन गर्ने कुरा उठाउन नहुने मत राख्छन् । परिणाम आफ्नो पक्षमा नहुने गरी कदम चाल्नु अपरिपक्व हुने उनको बुझाइ छ ।
महामन्त्री थापा भने संख्या हेरेर निर्वाचित हुने/नहुने धेरै हिसाब किताब नगरी ठीक लागेको बेला सही कदम उठाउनुपर्ने तर्क गर्छन् । महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल पनि उनलाई साथ दिन तयार छन् ।
संस्थापन इतर पक्षका कतिपय नेता, देउवाको विकल्पमा सांसदहरु खुल्दै गएको बताउँछन् । ठूलो दलका रुपमा प्रधानमन्त्री देउवा हुने आशले ५ पुसमा मत दिएका कतिपय सांसद विकल्पमा खुल्ने अपेक्षा उनीहरुले राखेको देखिन्छ ।
‘मन्त्रीको प्रलोभन देखाए । कोही अरु केहीको प्रलोभनमा पनि परे होला’, संस्थापन इतरका एक केन्द्रीय सदस्य भन्छन्, ‘संसदीय दलको चुनाव फेरि हुँदा राजनीतिक भविष्य पनि हेर्छन् ।’
महामन्त्री थापाले देउवा हटाउन आफ्नो विकल्पमा समेत जानसक्ने संकेत दिएका छन् । ‘सके आफू बन्छु, नसके अरुलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु’ थापा भन्छन् ।
प्रतिस्पर्धा गर्नुपर्दछ भन्ने राजनीति सभापति देउवाबाट नै सिकेको उनले सुनाए । पूर्व सभापति गिरीजाप्रसाद कोइरालासँग देउवाले निरन्तर प्रयास गरेकै कारणले सफलता प्राप्त गरेको विगत सुनाए ।
‘एक पक्षले अहिले उपयुक्त समय छैन भनेर अहिलेका सभापतिलाई भनिरह्यो,’ थापा सम्झन्छन्, ‘मैले त्यो बेलाको कुरा नजिकबाट हेरिरहेको थिएँ । त्यही कुराबाट सिक्ने प्रयास गरेको छु ।’
तर कांग्रेसमा संसदीय दलको नेतालाई बीचैमा हटाएको इतिहास छैन ।
प्रतिक्रिया 4