
काठमाडौं । विपिन कार्की र मिरुना मगरलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘ऊनको स्वीटर’ बन्न लागेको खबर पहिले नै सार्वजनिक भएको थियो । अब भने निर्माताले पत्रकार सम्मेलन गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका छन् ।
यो सोसल ड्रामा फिल्मको निर्माण आर्टमाण्डु मिडिया र निर्देशन नवीन चौहानले गर्नेछन् । पत्रकार सम्मेलनमा फिल्मको लाइनअप र क्रुबारे सार्वजनिक गर्दै शीर्ष गीत समेत प्रस्तुत गरियो । संगीतकार सुजन चापागाईंले फिल्मको मौलिक पार्श्व गीत प्रस्तुत गर्दै फिल्मको विषयवस्तुबारे जानकारी गराए ।
म्युजिक भिडियो निर्माणको पृष्ठभूमिबाट चौहानले कथानक फिल्ममा डेब्यु गर्न लागेका हुन् । लाइनअपमा थपिएका छन् ‘छक्कापञ्जा ४’ र ‘जारी’ फेम्ड अभिनेत्री परीक्षा लिम्बू र निर्देशक चौहानको पछिल्लो म्युजिक भिडियो ‘फूलथुंगे रानी’का मोडल एलेक्स विश्वकर्मा । केही महिनाअघि काठमाडौंमा मञ्चित नाटक ‘चोरको स्वर’का कलाकारहरु समेत लाइनअपमा समावेश छन् ।
‘लालपूर्जा’पछि विपिन र मिरुनाले दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । फिल्मको घोषणा गर्दै निर्देशक चौहानले भने, ‘म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ । फिल्मको घोषणा गर्न पाउँदा खुसी छु । ममाथि अभिभारा थपिएको छ । राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ ।’
अभिनेता कार्कीले आफ्नो लागि यो फिल्म विशेष हुने बताए । ‘नवीनजीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ । फिल्ममा धेरै कुरा समेटिएको छ । नयाँपनसँगै राम्रो हुनेमा विश्वस्त छु,’ उनले भने ।
अभिनेत्री मगरले आफूलाई प्रस्ताव गरिएको पात्रको कारण फिल्ममा काम गर्न उत्साहित रहेको बताइन् । ‘उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेको छु । झन् सहकार्य गर्न पाउँदा खुसी छु,’ मिरुनाले भनिन्, ‘जुन क्यारेक्टर मलाई प्रस्ताव गरियो, यो सुन्दा नै गज्जब लागेको थियो । गीत सुन्दा पनि कहिलेदेखि छायांकन होला भन्ने लागेको थियो ’
फिल्ममा सुजन चापागाईं र गायिका झुमा लिम्बूले संगीत दिनेछन् । फिल्ममा अनिल सुब्बा र सुरज तमु कास्टिङ निर्देशक छन् । फिल्मलाई चिन्तनराज भण्डारीले छायांकन गर्नेछन् । मंसिर पहिलो सातादेखि फिल्म छायांकन गर्ने तयारी छ ।
प्रतिक्रिया 4