
गत जून महिनामा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले परमाणु हतियारहरुको पहिलो खेप बेलारुसमा तैनाथ गर्नका लागि पठाइएको घोषणा गरे ।
युक्रेन युद्धको सुरुवातदेखि नै पुटिनले परमाणु हतियारहरुको प्रयोग गर्ने धम्की दिइरहेका थिए । तर बेलारुसमा परमाणु हतियारको तैनाथी यस दिशामा पहिलो कदम मानिएको छ ।
ती परमाणु हतियार बेलारुसमा युक्रेनको सीमाक्षेत्रमा तैनाथ गरिँदैछ जहाँबाट नेटोका सदस्यहरु पोल्याण्ड र लिथुआनिया जस्ता देशहरुलाई पनि निशाना बनाउन सकिन्छ ।
साथै रुसले यस्ता मिसाइल तथा लडाकु विमानहरु समेत पठाएको छ जसले ५ सय किलोमिटरको दूरीसम्म परमाणु हतियारहरुबाट हमला गर्न सक्दछन् ।
अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले यसलाई गैरजिम्मेवार हर्कत भनेका छन् । रुसले युक्रेनको जापोरिजिया परमाणु उर्जा केन्द्र पनि कब्जा गरिराखेको छ ।
यद्यपि वर्तमान बहुध्रुवीय विश्वमा केवल रुसी राष्ट्रपति पुटिनका धम्कीहरुमात्रै चिन्ताका कारण होइनन् बल्कि चीनपनि परमाणु हतियारको उत्पादनमा अमेरिका र रुसको बराबरी गर्न चाहन्छ।
सबैतिर हतियार नियन्त्रण सन्धीहरुका म्याद समाप्त भैरहेका छन् र नयाँ सम्झौता हुन सकेका छैनन् । यस्तो अवस्थामा के विश्वमा परमाणु हमलाको खतरा बढ्दै गएको हो त ?
रुसको आणविक ब्लाकमेल
रुसले प्रष्टरुपमा के भनिसकेको छ भने उसको सम्प्रभुत्ता र अस्तित्वमा खतरा पैदा भएमा निसन्देह रुपमा परमाणु हतियारको प्रयोग गर्नेछ।
रुससँग हजारौँ परमाणु हतियारहरु छन् जसमा कतिपय यस्ता ससाना रणनीतिक आणविक हतियार पनि छन् जसको प्रयोग रणभूमिमा गर्न सकिन्छ । तीमध्ये कतिपय ट्याक्टिकल परमाणु हतियार चाहीँ हिरोसिमामा खसालिएका परमाणु बमभन्दा पनि शक्तिशाली छन् ।
भियना सेन्टर फर डिसआर्मामेन्ट एण्ड नन प्रलिफेरेसनका वरिष्ठ शोधकर्ता तथा पूर्व रुसी परमाणु वार्ताकार निकोलाय सोकोभ भन्छन् : रुसमा परमाणु हतियारको सिमित मात्रामा प्रयोगको विषयलाई लिएर सार्वजनिक रुपमा विशेषज्ञहरुबीच बहस चलिरहेको छ । यद्यपि यसले रुसी सरकारको सोँचलाई दर्शाउँछ र यो एक गम्भीर कुरा हो ।
उनका अनुसार बेलारुसमा रुसी आणविक हतियारको तैनाथीबाट रुसलाई भन्दा धेरै खतरा नेटो सदस्य मुलुकहरुलाई भएको छ ।
उनी भन्छन्, ‘हामीले बुझ्नुपर्छ कि युक्रेन विरुद्धको युद्धलाई रुसमा एक प्रोक्सीवारको रुपमा लिने गरिएको छ । यसलार्ई युक्रेनको आडमा रुसले नेटो विरुद्ध गरेको लडाइँको रुपमा समेत हेर्ने गरिन्छ । कतिपय मानिसले चाहीँ रुसले युक्रेनमा परमाणु हमला गर्नसक्ने पनि अनुमान गर्दछन् ।
तर रुसले युक्रेनमाथि परमाणु हमला गर्ने सम्भावना शून्य बराबर रहेको उनको दाबी छ । तर मुख्य चिन्ताको विषय चाहीँ रुसले नेटोसँगको संघर्षलाई बढाइरहनु हो, जसले परमाणु संघर्षको अवस्था पनि निम्त्याउन सक्दछ ।
यो खतरालाई पश्चिमी देशहरुमा गम्भीरतापूर्वक लिइएको छ । तर भ्लादमिर पुटिनले संघर्षलाई उक्त सीमासम्म कसरी लैजालान् ?
सोकोभका अनुसार आक्रमण अचानक हुनेछैन । सुरुमा ससाना संघर्ष हुनेछन् जसमा परम्परागत हतियारको प्रयोग हुनेछ । त्यसमा युक्रेन युद्धसँग सम्बन्धित नेटोका अड्डाहरुलाई निशाना बनाइन सक्दछ ।
सोकोभ भन्छन् : त्यसमा नेटोको के प्रतिक्रिया हुन्छ भन्ने कुराले संघर्ष कति बढ्छ भन्ने कुरा तय हुनेछ । रुसले परमाणु परीक्षण पनि गर्न सक्दछ जुन नेटोका लागि एक कडा सन्देश हुनेछ । त्यस्तै पोल्याण्डमाथि परमाणु हमलाको खतरालाई बढाउन सक्नेछ । अहिले सन्देश आदानप्रदानको खेल चलिरहेको छ । तर यो स्थिति विस्फोटक हुनसक्छ ।’
निकोलाय सोकोभका अनुसार रुसले संघर्षलाई त्यो हदसम्म बढाउन चाहेको छ कि परमाणु संघर्षको खतरा पैदा होस् र नेटो यसबाट डराएर पछि हटोस् । वास्तवमा यो एउटा न्युक्लियर ब्लाकमेल हो ।
आखिर रुसको यस्तो आणविक ब्लाकमेललाई विश्व समुदायले कसरी सामना गर्ने त ?
चीनको बढ्दो शक्ति र तीन ध्रुवीय विश्व
रुसको परमाणु धम्कीका विषयमा अमेरिकाले निकै नै तौलिएर प्रतिक्रिया जनाएको छ । रुसले तत्काल परमाणु हमलाको तयारी गरिरहेको छैन भन्ने अमेरिकी अधिकारीहरुलाई लागेको छ । तथापि अमेरिकी राष्ट्रपति जो बाइडेन भने यो एक वास्तविक खतरा भएको बताउँछन् ।
अमेरिकाको विड्रो विल्सन इन्टरनेसनल सेन्टर फर स्कलर्सका अन्तराष्ट्रिय सुरक्षा विभाग निर्देशक रोबर्ट लिटवाकका अनुसार अमेरिकी प्रशासनले यो कुरा स्पष्ट पारेको छ कि यदि रुसले परमाणु हतियारको प्रयोग गरेमा उसले गम्भीर नतिजा भोग्नुपर्नेछ।
उनी भन्छन् ,’बाइडेन सरकारले के कुरा प्रष्ट पारेको छ भने रुसले ससाना ट्याक्टिकल परमाणु हतियारको प्रयोग गरोस् वा ठूला बमको । अमेरिकाका लागि दुबैखाले हतियारको प्रयोग समान हो र यसलाई अमेरिकाले परमाणु हमलाकै रुपमा हेर्नेछ ।
र, यहीँ कुरा रुसद्धारा युक्रेनको जापोरिजिया आणविक उर्जा केन्द्रमा गरिएको कब्जाको हकमा पनि लागू हुनेछ । उक्त पावर प्लान्ट पछिल्लो १ वर्षदेखि रुसको कब्जामा छ ।
रुसले त्यहाँ बारुदी सुरुंग ओछ्याएको दाबी युक्रेनी राष्ट्रपति जेलेन्स्कीको छ । अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सकिा अनुसार उक्त आणविक उर्जा केन्द्रको आसपासमा धेरैपटक बमबारीका घटना भएका छन् ।
रोबर्ट लिटवाकका अनुसार यदि रुसका कारण उक्त आणविक उर्जा केन्द्रमा कुनै दुर्घटना भएमा अमेरिकाले त्यसलाई परमाणु हमलाकै रुपमा लिनेछ र सोही अनुसार जवाफी कारवाही गर्नेछ ।
तर के अहिले कसैले पुटिनको परमाणु धम्कीमाथि रोक लगाउन सक्दछ त रु कतिपय मानिसमा के विश्वास छ भने चिनिया राष्ट्रपति सी जिनपिंगले यो भूमिका निर्वाह गर्न सक्दछन् । किनकि चीनले आणविक हतियार सुरुमा प्रयोग नगर्ने नीति लिएको छ ।
लिटवाक भन्छन्, ‘रुसले युक्रेन विरुद्ध प्रयोग गर्नसक्ने हतियारहरु रुसलाई नदिनका लागि अमेरिकाले चीनमाथि दबाब बढाइरहेको छ । सी जिनपिंगले पुटिनसँग भेट गरिसकेका छन् र त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि थिए । त्यसक्रममा दुबै नेताहरुले युक्रेनमाथि कुनैपनि परमाणु हतियारको प्रयोग नगर्न पुटिनलाई आग्रह गरेका थिए । यसले रुसमाथि अलिकति भएपनि अंशुक लागेको छ।
दोश्रो विश्वयुद्धपछि परमाणु हतियारको प्रयोग रोक्नका लागि अन्तराष्ट्रिय सम्झौताहरु भएका छन् । तर ती सम्झौताहरुको म्याद सकिइरहेको छ र नयाँ सम्झौताहरु पनि हुन सकेका छैनन् ।
उनी भन्छन्, ‘अहिले चीनपनि एक महाशक्ति हो र विश्व तीन ध्रवीय बनेको छ । जसका कारण नयाँ चुनौतिहरु पनि उत्पन्न भएका छन् र संघर्षहरु बढ्ने सम्भावनाहरु पनि व्यापक बन्दै गएका छन् । युरोपको सुरक्षाका दृष्टिले युक्रेन महत्वपूर्ण भएजस्तै उत्तर पूर्वी एसियामा यहीँ स्थिति ताइवान र चीनको बीचमा छ ।
जहाँसम्म चीनको सवाल छ, ऊ सन् १९६४ मै परमाणु शक्ति बनिसकेको हो । तर अहिले ऊ एउटा परमाणु महाशक्ति बन्दै गएको छ फलस्वरुप अन्तराष्ट्रिय सन्तुलन र व्यवस्था पेचिलो बन्दै गइरहेको छ ।
परमाणु हतियारमा चिनियाँ दौड
नर्वेजियन डिफेन्स इन्स्टिच्यूटका सहप्राध्यापक हेनरिक हीमका अनुसार अहिले धेरै देशहरुले आफ्नो प्रतिरक्षा नीतमा आणविक हतियारलाई धेरै महत्व दिन थालेका छन् ।
यो क्रम एसियामा तिव्र बन्दै गएको छ । उत्तर कोरियाको आणविक परीक्षणले मात्र होइन चीनको परमाणु नीतिबाट पनि अमेरिका र उसका सहयोगी देशहरुका लागि चुनौति बढ्दै गएको छ ।
परम्पारगत रुपमा अमेरिका र चीनको बीचका सम्बन्धहरुमा परमाणु हतियारको विशेष भूमिका थिएन । तर अहिले चीनले आफ्ना परमाणु हतियारको विस्तार गरिरहेको छ जसले दुई देशबीचको प्रतिद्धन्दिता झनै चर्किँदै गएको छ ।
उनी भन्छन्, चीनले ३ वर्षअघि परमाणु हतियार कार्यक्रमलाई बढाएको थियो जसको बारेमा सन् २०२१ मा थाहा भएको थियो । शोधकर्ताहरुका अनुसार पश्चिमी चीनमा तिनवटा ठाउँमा मिसाइल स्यालो फिल्ड अर्थात् भूमिगत क्षेत्र तयार पारिएको छ। हरेक क्षेत्रमा १ सय भन्दा धेरै स्यालो अर्थात् भूमिगत भवन तयार पारिएका छन् । त्यसपछि नै परमाणु हतियारको भविष्य र अमेरिका तथा चीनबीचको सम्बन्धलाई लिएर चर्चा तात्तिएको हो ।
एक अनुमान अनुसार चीनसँग हाल २ सयदेखि ३ सयसम्म परमाणु हतियार छन् जबकि अमेरिकासँग १५ सय परमाणु हतियार रहेका छन् ।
आगामी १०/१२ वर्षभित्रमा चीनसँग रहेका परमाणु हतियारको संख्या अमेरिकासँग बराबरी हुने प्रक्षेपण गरिएको छ । विश्लेषकहरुका अनुसार चीनले आफ्नो परमाणु कवचलाई अधिक मबजूत बनाउन चाहन्छ ताकि आवश्यकता परेको बेलामा ताइवानको विरुद्धमा आक्रामक कारवाही गर्न सकियोस्, ठीक त्यसैगरी जसरी रुसले युक्रेनमा आक्रमण गरिरहेको छ ।
त्यस्तै अर्को कोणबाट विश्लेषण गर्दा अमेरिकासँग रहेका परमाणु हतियार तथा अन्यखाले अत्याधुनिक हतियारलाई ध्यानमा राख्दै चीनले पनि अमेरिकासँग भविष्यमा सामना गर्नुपर्ने जुनसुकै सम्भावित संघर्षका लागि क्षमता हासिल गर्न चाहन्छ । अमेरिकाले आफूविरुद्ध परमाणु आक्रमण गरेमा त्यसको जवाफी हमला गर्न सकियोस् भन्ने चीनको चाहना छ ।
तथापि चीनको परमाणु हतियार कार्यक्रमको विस्तारलाई हेर्दा चीनले आफ्नो नो फस्र्ट स्ट्राइक डक्ट्रिन अर्थात् सुरुमा आक्रमण नगर्ने नीतिलाई त्याग्ने तयारी गरिरहेको पनि प्रतीत हुन्छ ।
चीनको यस्तो परमाणु नीति सन् १९६० देखि कायम छ । यद्यपि यस विषयमा चीनले कुनैपनि आधिकारिक सम्झौता गरेको छैन । तथापि उसले एकतर्फी रुपमा विश्व समुदायमा यस्तो प्रतिबद्धता जनाएको छ ।
उता अमेरिका र रुसले भने कहिल्यैपनि यस्तो नीतिको घोषणा गरेका छैनन् । त्यसैले विशेष परिस्थितिमा उनीहरुले सुरुमै आफुले आणविक हतियार प्रयोग गर्नसक्ने विकल्प खुल्ला राखेका छन् ।
अमेरिका र रुसको बीचमा परमाणु हतियार नियन्त्रणका सम्बन्धमा विभिन्न वार्ता तथा सम्झौताहरु समेत हुँदै आएका छन् । यी दुई मुलुकका बीचमा यस्ता परमाणु वार्ताका लागि विभिन्न संयन्त्रहरु रहेका छन् । तर उता अमेरिका र चीनको बीचमा भने यस्ता कुनै वार्ता तथा छलफल भएका छैनन् अनि निकट भविष्यमा हुने सम्भावना पनि छैन ।
सहयोगको आशा
रुसले यो वर्षको सुरुमै रणनीतिक हतियार न्यूनीकरण सन्धी अर्थात् स्टार्टमा सहभागी नहुने घोषणा गर्यो ।
यहीँ सम्झौताको माध्यमबाट एक दशकभन्दा लामो समयसम्म अमेरिका र रुसको बीचमा लामो दूरीसम्म मार हान्नसक्ने परमाणु हतियारहरुमाथि नियन्त्रण कायम रहेको थियो । नयाँ सम्झौताका लागि वार्ताहरुको सम्भावना पनि कम देखिएको छ ।
नेटोका उपमहासचिव समेत रहिसकेका अमेरिकाको स्टेनफोर्ड विश्वविद्यालयका वरिष्ठ शोधकर्ता रोज गोटेमोलरका अनुसार सन्धीका प्रावधानहरुलाई रुस र अमेरिका दुबैले पूर्णरुपमा नजरअन्दाज भने गरेका छैनन् ।
रुसले नयाँ स्टार्ट सन्धीको परिपालना गर्न बन्द गरेको छ । अर्थात् उसले अब परमाणु हतियार रहेका ठाउँहरुको नीरिक्षणको लागि अनुमति दिन छाडेको छ । साथै उसले अमेरिकासँग आफ्नो परमाणु प्रतिरक्षाको अवस्थाका बारेमा दैनिक रुपमा जानकारीको साझेदारी गर्नपनि छाडेको छ।
तथापि नयाा स्टार्ट सन्धी कायम रहुन्जेल आफुले सन्धीका प्रावधान अनुसार हतियार नियन्त्रणलाई भने कायमै राख्ने रुसले जनाएको छ । अर्थात् उसले परमाणु हतियार प्रयोग गर्ने प्रणाली अर्थात् मिसाइल र लडाकु विमानहरुको कूल संख्या ७ सयसम्म सिमित राख्नेछ ।
गोटेमोलरका अनुसार अहिलेको अवस्था सन् १९९१ मा सोभियत संघ विघठनको समयमा रहेको स्थिति जस्तै हो ।
उनी भन्छन् : सन् १९९१ र १९९२ मा ठूलो संकट खडा भएको थियो । अनिश्चितता र अस्थिरता थियो । त्यस समयमा सोभियत संघसँग वर्तमान रुसको तुलनामा धेरै नै परमाणु हतियार थिए । त्यसमध्ये केही हतियार हराउँछन् कि वा आतंकवादीको हातमा पर्दछन् कि भन्ने चिन्ता हामीलाई थियो ।
हाल रुससँग ४ देखि ५ हजार वटासम्म परमाणु हतियार छन् । त्यसबेला परमाणु हतियारको खतरालाई कम गर्नका लागि अमेरिका र रुसी नेताहरुबीच सहयोगका प्रयासहरु देखिएका थिए, जुन वातावरण अहिले देखिएको छैन ।
रुसमा परमाणु हतियारको पहिलो प्रयोगलाई लिएर चर्चा भैरहेको छ । तथापि पश्चिमी देशहरुलाई भने रुसको परमाणु नीतिमा परिवर्तन नआउने विश्वास छ ।
यद्यपि रुसभित्रको अस्थीरता चिन्ताको विषय हो । हालै रुसको वागनर समूहको विद्रोह भयो । यस्ता घटनाहरुले राष्ट्रपति पुटिनको शाखमा चुनौति दिनसक्दछन् । यस्तो अवस्थामा सत्तामा आफ्नो पकड बनाइराख्नका लागि उनले ट्याक्टिकल परमाणु हतियारको प्रयोगका बारेमा विचार गर्न सक्छन् ।
गोटेमोलर भन्छन् : वागनर समूहको विद्रोका कारण पुटिनले ट्याक्टिकल परमाणु हतियारको प्रयोग गर्ने सम्भावना बढेको छ भनेर त भन्न सकिँदैन । तर पुटिनले तीन दिनमा दुईपटक रुस गृहयुद्धको संघारमा आएको थियो भनेर भनेका छन् । यदि रुसमा गृहयुद्ध छेँडिएमा त्यहाँ रहेका परमाणु हतियार तथा परमाणु सामाग्रीहरुको भण्डारण तथा सुरक्षालाई लिएर चिन्ता उठ्नु स्वभाविकै हो ।
तर के चीनसँग पनि परमाणु हतियारको नियन्त्रणका सम्बन्धमा कुराकानी हुनसक्छ ?
गोटेमोलरका अनुसार यसको सम्भावना निकै कम छ किनकि चीनले पारदर्शिता चाहँदैन । अमेरिकाले आफ्नो कमजोरीको फाइदा उठाउँछ भन्ने डरका कारण चीनले अमेरिकासँग आफ्नो परमाणु तथा अन्य सैन्य क्षमताको जानकारीहरु शेयर गर्न नचाहने दाबी गोटेमोलरको छ । बीबीसीको सहयोगमा
प्रतिक्रिया 4