
बजारमा थरीथरीका सोफा पाइन्छन् । सोफा खरिद गर्दा धेरैले बाहिरी आकर्षणलाई नै ध्यान दिएको पाइन्छ । तर सोफाको आवरणभन्दा पनि त्यसमा प्रयोग गरिएका सामग्री कस्ता छन् त्यो महत्वपूर्ण हुन्छ । सोफामा काठ, कपडा र फाइबर (फम) मुख्य रुपमा प्रयोग हुने सामग्री हुन् । यसले नै सोफाको गुणस्तर कस्तो छ भन्ने कुरा निर्क्योल गर्छ ।
प्रायजसो सोफामा पनि सिसौको काठ हाल्दा टिकाउ हुन्छ । सिसौको काठ उपलब्ध हुन नसकेमा उत्तीसको एक इन्च बाक्लो काठ प्रयोग गर्दा राम्रो हुन्छ । त्यस्तै कपडामा लेदर, रेग्जिन, कटन, सिल्क, लिनेन र सिन्थेटिक फेब्रिकमा एक्रेलिक प्रयोग गर्न सकिन्छ । त्यस्तै फम पनि थुप्रै खालका हुन्छन् । सामान्यतया ६ इन्च ५० डेन्सिटी (घनत्व) भएको फम राम्रो मानिन्छ ।
बजारमा कस्ता कस्ता सोफा ?
बजारमा अहिले चल्नचल्तीमा रहेको ६ प्रकारका सोफा छन् ।
बेडकम सोफा
अहिले धेरै ग्राहकले रुचाएको सोफा हो बेडकम हो । सानो ठाउँमा पनि राख्न मिल्ने यो सोफालाई बेड पनि बनाउन सकिन्छ । यो एउटा मात्र सोफा हुन्छ, जसमा तीन जना बस्न मिल्छ । यो रेग्जिन र सोया कपडाको प्रयोग गरिन्छ । यसको मूल्य ४० हजार रुपैयाँबाट सुरु हुन्छ । यसलाई ग्राहकको इच्छाअनुसार बनाउन सकिन्छ ।
हेभी कर्नर सोफा
हेभी कर्नर सोफालाई मुडा कर्नर सोफा पनि भनिन्छ । यसमा तीनवटा सोफा र चारवटा टुल हुन्छन् । यो सामान्यतया चार फिट अग्लो र १२ फिट लामो हुने भएकाले एक जना सुत्न समेत मिल्ने सोफा हो । यो अफिस र बैठक कोठामा प्रयोग गर्न सकिन्छ ।
यसको मूल्य ८० हजारदेखि एक लाख २० हजारसम्म छ । साथै ग्राहकको डिजाइनअनुसार र मेटरियल अनुसार फरक मूल्य हुन्छन् । यसमा बीचमा फूलदानी वा केही सजावटको सामान राख्न मिल्छ ।
एम कर्नर सोफा
प्राय: यो कर्नरमा राख्ने गरिन्छ । यसमा दुईता सोफा जसमा एउटामा दुईजना र अर्कोमा तीन जना बस्न मिल्छ । साथै यसमा चारवटा टुल हुन्छन् । यसको मूल्य ३० हजारदेखि सुरु हुन्छ । यसबाहेक यु र एल आकारको सोफा पनि पाइन्छ ।
सलमान सोफा
यो तीनवटा हुन्छ । दुईवटामा दुई-दुई जना बस्न मिल्ने र एउटामा एक जना बस्न मिल्ने हुन्छ । यसमा बटन भएको पनि बनाउन सकिन्छ । यसको मूल्य १४ हजारदेखि सुरु हुन्छ । यसमा टुल हुँदैन । बर्फी र पुतली सोफा पनि सलमान सोफा जस्तै हुन्छन् ।
डबल ब्याक सोफा
यसमा तीनवटा सोफा हुन्छ । जसमा दुईवटामा दुई जना र एउटामा एक जना बस्न मिल्छ । यसको मुख्य २२ देखि २४ हजारसम्म पर्छ ।
हेभी बटम सोफा
यो सोफामा बटम राखिएको हुन्छ । त्यसमा पनि दुई प्रकारका हुन्छन्, फुल बटम र हाफ बटम । फुल बटम सोफामा सोफाभरि नै बटम राखिएको हुन्छ भने हाफमा अडेस लगाउने ठाउँमा मात्र राखिएको हुन्छ । अन्य सोफाभन्दा यो केही महंगो नै हुन्छ । यसको मूल्य ६० हजार रुपैयाँबाट सुरु हुन्छ । यसको बटम र कच्चा पदार्थअनुसार मूल्य फरक पर्न सक्छ ।
यसबाहेक ग्राहकको इच्छाअनुसार पनि सोफाको डिजाइन गर्न सकिन्छ । बजारमा सामान्यतया १० हजार रुपैयाँदेखि सोफा उपलब्ध हुन्छन् । सोफामा दुई वर्षदेखि सात वर्षसम्मको वारेन्टी दिइएको हुन्छ ।
(धरेल काठमाडौं सामाखुसीस्थित सोफा हब काठमाडौंका सञ्चालकका साथै सोफा उत्पादक संघको अध्यक्षसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4