
१ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सचिवको हाजिरीकिताबमा ‘रातो’ लगाइदिएको विषय मुख्यसचिवसम्म पुगेको छ ।
मन्त्री मोदीले गत शुक्रबार आफ्नै सचिव कृष्णहरि पुस्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरीकिताबमा रातो लगाइदिएका हुन् । प्रशासनिक कामकारबाहीमा समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई उसको सुपरिवेक्षकले हाजिरीकिताबमा रातो लगाइदिने प्रचलन हुन्छ ।
मन्त्रालयस्रोतका अनुसार, शुक्रबार मन्त्री मोदी र सचिव पुस्कर भेटघाट र छलफलपछि मन्त्रालयबाट निस्किएका हुन् । मन्त्री मोदी राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्न बानेश्वरतिर गए । सचिव पुस्कर भने मुख्यसचिव बैकुण्ठ अर्याललाई भेटन मुख्यसचिवको कार्यालयमा गए ।
‘मन्त्रीज्यूले समयमा नआएको र जानकारी नदिएको भनेर सचिव र सहसचिवको हाजिरीकिताबमा रातो लगाइदिएको हो’ सामान्य प्रशासन मन्त्रालयस्रोतले भन्यो । प्रधानमन्त्री कार्यालयका एक सहसचिवका अनुसार, मन्त्रालयमा नदेखेपछि मन्त्री मोदीले मुख्यसचिव अर्याललाई फोन गरेका थिए ।
जवाफमा अर्यालले ‘तपाईँको सचिव यही हुनुहुन्छ ।’ भनेर जानकारी दिएका थिए ।
त्यसलगत्तै हाजिरीकिताबमा रातो लागेको हो । घटनापछि पनि मन्त्री मोदी र सचिव पुस्करबीच छलफल र भेटघाट भइरहेको छ । सचिव पुस्करले ‘आफूलाई थाह नभएको विषयमा प्रतिक्रिया नदिने’ भन्दै यसबारे बोल्न चाहेनन् । उनले भने, ‘यसवारे मलाई केही थाहा छैन, के भन्नु ?’
घटनालगत्तै सचिवहरुको नियमित बैठक थियो । त्यसमा समेत सचिव पुस्करको हाजिरीकिताबमा रातो लगाएको विषयले प्रवेश पाएको थियो । त्यसक्रममा सचिवहरुको जिम्मेवारी अनि काम कर्तव्य र क्षेत्राधिकारका बारेमा छलफल चलेको एक सचिवले बताए । त्यही बैठकमा सचिव कृष्णबहादुर राउतको पक्राउबारे पनि छलफल भएको थियो ।
‘सचिवहरु शौचालय जाँदा समेत मन्त्रीलाई सोध्नुपर्ने परिस्थिति भयो भने क्षेत्राधिकारबारे स्पष्ट व्यवस्था गरिएको सुशासन ऐन किन चाहियो भन्नेवारे प्रश्न उठेको छ’ ती सचिवले भने, ‘मुख्यसचिव बैकुण्ठ अर्यालले गुनासोहरु सम्बोधन गर्ने आश्वासन दिनुभएपछि कुरा मत्थर भएको छ ।’
प्रतिक्रिया 4