
काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म ‘जारी’ले भारतको दार्जिलिङमा सोमबार प्रदर्शनको ५१ दिन सेलिव्रेसन गरेको छ । स्थानीय आइनक्स मल्टिप्लेक्स हलमा फिल्मले प्रदर्शनको खुशि साटेको हो । वितरक, प्रदर्शक र दर्शकले उक्त हलमा आयोजित समारोहमा केक काटेर खुशि बाँडे ।
सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्मले भारतमा ५१ दिन सेलिव्रेसन गरेको हो । दार्जिलिङको उक्त हलमा फिल्मका वितरक अभिषेक अग्रवाल, आइनक्स दार्जिलिङका प्रबन्धक अनुपहांग सुब्बा र दार्जिलिङ प्रेस गिल्डका सचिव विनय शंकरले केक काटेर खुशि साटे ।
‘अहिलेसम्म पनि दार्जिलिङका दर्शकले फिल्मलाई रुचाएको पाइयो’ हलका म्यानेजर अनुपहांग सुब्बाले भने, ‘दार्जिलिङको इतिहासमा पहिलोपटक कुनै नेपाली फिल्मले यसरी ५१ दिन मनाएको हो ।’ उनले मौलिक र स्तरीय फिल्म बनाउन सके दर्शकले रुचाउने समेत बताए ।
भारतको प्रतिष्ठित मानिएको आइनक्सको दार्जिलिङ चेनमा रामबाबु गुरुङले निर्माण र उपेन्द्र सुब्बाले निर्देशन गरेको यो फिल्मले उत्कृष्ट कमाइ गरेको समेत जनाइएको छ । यता नेपालमा भने क्यूएफएक्स हलमा अहिले पनि यो फिल्म एक शोसहित प्रदर्शन भैरहेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार दयाहाङ राई, मिरुना मगर स्टारर यो फिल्मले १७ करोड ग्रस हाराहारीमा कमाइ गरेको छ ।
प्रतिक्रिया 4