+
+

म मरे जिम्मेवार को ?

स्थानीय राजनीति बिग्रिन्छ वा भोट घट्छ भनेर वा किन कसैको छुच्चो हुनु भन्ने आधारमा यति गम्भीर विषयलाई नजरअन्दाज गरियो भने हामी भूकम्पीय जोखिमबाट त्यसै त अत्यन्तै उच्च अवस्थामा छौं, यसले झनै बढी जोखिम बढाउने कुरामा दुईमत छैन ।

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०८० साउन २ गते १०:०९

शनिबार बिहानै हामी पाटन दरबार स्क्वायरमा भेला भयौं । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सुरुवात गरेको सरसफाइ अभियानमा सरिक हुन गएका धेरै मानिसको भीडमा म हराइरहेको थिएँ । कुचो, बेल्चा लगायत सरसफाइ अभियानमा सबै होमिंदै गर्दा मेरा आँखा भने छेउमा रहेको झण्डै झण्डै ढल्नै लागेको घरमा पुग्यो ।

टेको लगाएर अड्याएको घर एउटा इतिहासको प्रतिमूर्ति थियो सायद । मनमनै कल्पना गरें, समाजका कतिपय मानिसले नेपालको सामन्ती संरचनालाई यसै गरी टेको लगाएर टिकाउन सकिन्छ कि भनेर प्रयास पनि गर्दै होलान् । हुनसक्छ, इतिहासको कुनै कालखण्डमा भव्यताको बिम्बका रूपमा रहेको त्यो घर आज खण्डहर बन्दै गएको छ । त्यसलाई जीवन्त बनाउने प्रयास खिइँदै गएको संवेदनाहीन नेपाली समाजप्रतिको एउटा ठूलो व्यङ्ग्य थियो ।

सरसफाइको क्रममा लगभग १०० मिटर हिंड्दा इतिहासका भव्यत्तर संरचनाका रूपमा रहेका त्यस प्रकृतिका धेरै घर आज भग्नावशेष बन्न लागेका थिए, जसलाई टेको लगाएर ठड्याउने प्रयास भइरहेको थियो ।

डा. डिजन भट्टराई

निमोनियाले ग्रस्त ९६ वर्षकी मेरी हजुरआमालाई अस्पतालको भेन्टिलेटरमा राखेर बचाउने हाम्रो केही वर्षअघिको असफल प्रयास आँखा सामुन्ने आयो । टेको लगाएर राखिएका ती घरहरू सायद मेरी निमोनियाले ग्रस्त हजुरआमाका प्रतिबिम्ब थिए ।

अझ त्यति मात्र थिएनन् यी घरहरू, बरु यी त हामीले गाउँमा मुसो मार्नका लागि राखेका पासो जस्ता देखिइरहेका थिए । मलाई ती घरका छेउबाट हिंड्न साह्रै असहज भइरहेको थियो । तर ती घरमा मानिसहरू बसिरहेका मात्र थिएनन् पसल, रेस्टुराँ समेत सञ्चालनमा थिए ।

मेरो मनमा २०७२ साल वैशाखमा गएको भूकम्पको चित्र आँखामा तिरमिराउन थाल्यो । सायद ती चिरा परेका घरहरू त्यही भूकम्पका पदचापहरू थिए । ती कठोरतासँग उभिइरहेका घरहरू कहिल्यै नमेटिने घाउ दिएर विछोडिएकी प्रेमिकाको यादमा त्यस्तै भूकम्पलाई पर्खिरहेका थिए, जुन एक दिन आउनेछ र आफूलाई त्यसमा विलीन गर्नेछ ।

मुटुभरि क्षत-विक्षत भएका घाउ बोकेर उभिन पनि नसकी टेको लगाएर उभिनुपर्ने बाध्यता ती घरहरूको थियो वा ती संवेदनाहीन घर मालिकहरूको, जो आफ्नो सम्पत्ति ठाडो पार्नका लागि हजारौं मानिसको जीवनमा खेलबाड गरिरहेका थिए ।

त्यसक्षण म एउटा राज्यविहीन दैत्यको शहरमा घुमिरहेको संवेदनाहीन मानिस अनुभूति गरें । त्यस्तो शहर जुन शहरमा कुनै नियम-कानुन छैन, अनि त्यहाँ केवल कसाही बस्दछन्, जसले शहरका हरेक मानिसमाथि तरबार उठाइरहेका छन् ।

क्षतविक्षत भएको घरको तल्लो तलामा रहेको पसलमा गएर सोधें, ‘यस्तो भत्किन लागेको घरमा बस्दा डर लाग्दैन ?’ उनले सहज उत्तर दिए, ‘बानी परिसक्यो ।’ यहाँ प्रत्येक पलका मृत्युमा मानिस बानी पर्ने रहेछन् । अनि फेरि सोधें, ‘पसल चलाए बापत भाडा कति तिर्नुपर्छ ?’

उनले भने, ‘सस्तै छ महिनाको १० हजार मात्र । अरू राम्रो घरमा त २५ हजार भन्दा कममा पाइन्न ।’

व्यक्तिगत सम्पत्तिको संरक्षणका लागि दैनिक हजारौं मानिस आवतजावत गर्ने बाटो-घाटोको छेउमा रहेका अत्यन्तै जोखिमपूर्ण घरहरूप्रति राज्य कतिन्जेल चुपचाप बस्ने हो ?

हाम्रो सरसफाइ कार्यक्रम चलिनै रहेको थियो । केही समयपछि अलि पर अर्काे त्यस्तै घरमा पसल राखेको पाइयो । म पसलमा गएर एक बोतल पानी किनें । त्यही सन्दर्भमा सोधें, ‘तपाइँले यस पसलको कति भाडा तिर्नुहुन्छ ?’ उनले गौरवमय भावमा आत्मसम्मान सहित भने, ‘कहाँ भाडा तिर्नु नि, यो त मेरै घर हो ।’ मलाई उनीप्रति केही दया, केही आक्रोश उत्पन्न भयो । मैले भनिहालें, ‘यस्तो ठाउँमा यसरी सबै भत्किएको घर किन राख्नुभएको ? यो भत्काएर नयाँ बनाउनु भए पनि हुने । यो भत्कियो भने त हजुरहरू पनि जोखिममा पर्नुहुन्छ, यस्तो भीडभाडको बाटो छ, अरू सर्वसाधारण मानिस पनि जोखिममा पर्छन् नि !’

उनी तत्कालै आक्रोशमा आइहाले । ‘यो तपाइँको सम्पत्ति हो र मलाई सिकाउने ! सरकारले दिन्छ मलाई घर बनाउने पैसा ! मेरो सम्पत्ति म जेसुकै गरौं !’ म उनको आक्रोशलाई केही शान्त पार्ने प्रयासमा हल्का मुस्कुराउँदै भनें, ‘हैन दाजु, यो त हजुरकै लागि भनेको हो नि ! कमजोर घरमा बस्दा हजुरलाई नै बढी जोखिम हुन्छ भनेर भनेको नि ! हेर्नुस् त यति भीडभाड छ, हजुरको कमजोर घरका कारण कसैको मृत्यु भयो भने !’

मैले यति भनिसक्दा उनको आक्रोश झनै बढ्यो । ‘मलाई सिकाउने । तपाइँ के कामको लागि आएको हो, त्यही काममा गइहाल्नोस्’ भन्दै उनले बडो चर्काे आवाज सहित ममाथि जाइलाग्न खोजे झैं गरे । भित्रबाट एउटी महिला निस्किइन्, सायद उनकै श्रीमती थिइन्, उनले केही नेवारी भाषा, केही नेपाली भाषा मिश्रति स्वरमा मलाई थप गाली गर्न थालिन् । मसँगै उभिएको भाइ बेनोजलाई उनीहरूले कराएको देखेर रिस उठेछ ।

उसले पनि केही आवेगमा आएर बोल्यो, ‘यो एक लात्त दिंदा भत्किएला जस्तो सबै चिराचिरा परेको घर छ, अहिले भूकम्प आएर भत्किएर म मरें भने जिम्मा लिनुहुन्छ ?’ घर धनी झनै आक्रोशित भयो, ‘तपाइँ मर्ने म किन जिम्मा लिने नि !’

बेनोजले भन्यो, ‘भत्किन लागेको घर यस्तो ठाउँमा राखिरहने, अनि तपाइँले जिम्मा नलिए कसले लिन्छ त ?’ घर धनीको मुखबाट प्वाट्ट खुस्किहाल्यो, ‘सरकारले लिइहाल्छ नि !’

म उसको कुरा सुनेर हल्का मुस्कुराएँ मात्र केही बोलिनँ । कति सजिलो छ है जे कुरामा पनि सरकार भन्न ! त्यस पश्चात् हल्का नोकझोंकमा नै हामी त्यहाँबाट हिंड्यौं ।

हामी त्यहाँबाट हिंडे पनि हाम्रो गफको विषय यिनै घरहरू भए, किनकि विषय गम्भीर थियो । आगामी दिनमा आउने सानातिना भूकम्पले पनि सहजै भत्काउन सक्ने यस्तो पासो प्रकृतिका उच्च जोखिमका घरहरूका कारण जनधनको क्षति भएमा कसले जिम्मेवारी लिन्छ ? हामी त्यहाँ बस्दा बस्दै भूकम्प गएर मरेको भए जिम्मेवार को ?

सम्बन्धित घरका घरधनीले त लिनै सक्दैनन्, किनकि घरभित्र बसेका भए तिनीहरूकै पहिले मृत्यु भइसकेको हुनेछ भने घर बाहिरै बसेका भए पनि कमजोर घर भएका कारण भूकम्पले घर भत्काएर जनधनको मृत्यु भए त्यसको जिम्मेवारी घरधनीले लिने व्यवस्था विद्यमान कानुनमा छैन । तर सरकारले त यसको जिम्मेवारी लिनैपर्छ ।

पाटन र असनका गल्ली-गल्लीमा टेको लगाएका सयौं घर आज पनि मृत्युका पासोको रूपमा रहिरहेका छन् । व्यक्तिगत सम्पत्तिको संरक्षण प्रत्येक व्यक्तिको अधिकार हो । राज्यले उचित क्षतिपूर्ति प्रदान नगरिकन त्यसमाथि अतिक्रमण गर्न पाइँदैन । तर सार्वजनिक सुरक्षा पनि त राज्यको आधारभूत दायित्व हो ।

व्यक्तिगत सम्पत्तिको संरक्षणका लागि दैनिक हजारौं मानिस आवतजावत गर्ने बाटो-घाटोको छेउमा रहेका अत्यन्तै जोखिमपूर्ण घरहरूप्रति राज्य कतिन्जेल चुपचाप बस्ने हो ?

नेपालको वर्तमान संविधानले विपद् व्यवस्थापनलाई स्थानीय तहको एकल अधिकार सूचीमा राखेको छ । त्यसका साथै संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार क्षेत्रको सूची समेत राखेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली २०७६ ले विपद्को जोखिमलाई न्यूनीकरण गर्ने तथा विपद्बाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि विभिन्न तहका विपद् व्यवस्थापन समितिको निर्माण गरेको छ ।

हामीसँग यति प्रभावकारी कानुनी र संरचनात्मक व्यवस्था हुँदाहुँदै शहरी क्षेत्रमा हुने यस प्रकृतिका जोखिमलाई कहिलेसम्म आँखाका अगाडि हेरिरहनुपर्ने हो ?

जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिले निश्चित समयावधि दिएर घरधनीलाई सरकारले तोकेको मापदण्डका सापेक्षतामा मर्मतसम्भार गर्न लगाउने र सरकारले दिएको समयावधिमा निजले घरको मर्मतसम्भार गरेन भने सार्वजनिक शान्ति सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीले निर्ममतापूर्वक उक्त घरहरू भत्काउनैपर्छ ।

व्यक्तिगत र सम्पत्तिको रक्षा गर्ने स्वतन्त्रता आम मानिसको सार्वजनिक सुरक्षा भन्दा ठूलो हुनै सक्दैन । नेपालको वर्तमान संविधान तथा कानुनले पनि सार्वजनिक शान्ति तथा सुरक्षाका साथै विपद्को जोखिम न्यूनीकरणलाई प्रधानता दिएकाले यस कार्यलाई जति सक्दो चाँडो गरिनु जरूरी छ । यस बापत स्थानीय सरकार र जिम्मेवार पदाधिकारी गम्भीर बन्नुपर्ने देखिन्छ ।

स्थानीय राजनीति बिग्रिन्छ वा भोट घट्छ भनेर वा किन कसैको छुच्चो हुनु भन्ने आधारमा यति गम्भीर विषयलाई नजरअन्दाज गरियो भने हामी भूकम्पीय जोखिमबाट त्यसै त अत्यन्तै उच्च अवस्थामा छौं, यसले झनै बढी जोखिम बढाउने कुरामा दुईमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?