
२ साउन, काठमाडौं । खाद्यका लागि कृषि अभियानले कालिमाटी र बालाजु तरकारी बजारका पसल पुनः भाडामा लगाउने विवादस्पद सम्झौता खारेजीको माग गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै अभियानले ६२२ वटा स्टल प्रतिस्पर्धा मिचेर बिचौलिया र व्यापारीलाई सुम्पिएको अभियानको ठहर छ ।
२०६५ साउनमा भएको सम्झौता २०८० असार मसान्तमा सकिएको थियो । सम्झौता सकिए पनि तिनै व्यापारीलाई दुवै बजारका पसल भाडामा सुम्पिने कार्य गलत भएको अभियानले जनाएको छ ।
‘जनभावना विपरीत पुनः तिनै व्यापारिहरूलाई निःशुल्क सरह बजार सुम्पिनु खेद्जनक छ,’ अभियानले भनेको छ । कालिमाटी तरकारी बजारको भाडा प्रकरण लामो समयदेखि विवादमा रहेको अवस्थमा कालिमाटी बजार समितिले तिनै व्यापारीलाई पसल भाडामा दिने गरी सम्झौता नवीकरण गर्नु उपयुक्त नभएको अभियानले बताएको छ ।
‘२०६० सालमा बनेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास तथा सञ्चालन नियमावली र २०७६ सालमा बनेको बजारको स्टल वितरण तथा सञ्चालन सम्बन्धी कार्यविधिलाई कुल्चिएर गरिएको यो निर्णय सरासर विचौलिया र व्यापारीको हितमा रहेको अभियानको ठहर छ’ अभियानका संयोजक उद्धव अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बजार नवीकरणको प्रक्रिया खारेज गरी खुला प्रतिस्पर्धाबाट उत्पादक कृषक समूह र कृषि उत्पादनमा संलग्न कृषि सहकारीलाई स्टल भाडामा लगाउन अभियानले सरकारसँग माग गरेको छ ।
यथाशीघ्र कृषि ऐन बनाउन, लम्पी स्कीन माहामारी नियन्त्रणमा प्रभावकारी काम गर्न पनि अभियानले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया 4