+
+

गत वर्ष ४ खर्बको आन्तरिक र बाह्य लगानी प्रतिबद्धता

उद्योग विभागमार्फत हुने आन्तरिक र बाह्य लगानी प्रतिबद्धतामा ह्रास आएको छ भने लगानी बोर्डमार्फत भित्रिने ठूला लगानीको प्रतिबद्धतामा गत वर्ष भन्दा सुधार भएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन २ गते १३:१३

२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा उद्योग र जलविद्युत परियोजनामा करिब ४ खर्ब आन्तरिक र बाह्य लगानीको प्रतिबद्धता आएको छ । नेपालमा उद्योग दर्ता गर्ने दुई प्रमुख निकायहरु लगानी बोर्ड र उद्योग विभागमा दर्ता भएका उद्योगहरुमा यो परिमाणको लगानी आएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्षमा आएको कुल लगानीको तुलनामा आव ०७९/८० मा १७ दशमलव २ प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । आर्थिक वर्ष ०७८/७९ मा ४ खर्ब ७७ अर्ब लगानी प्रतिबद्धता लगानी बोर्ड र उद्योग विभागमार्फत आएकोमा ०७९/८० मा ३ खर्ब ९५ अर्बको मात्रै प्राप्त भएको हो ।

विवरणअनुसार उद्योग विभागमार्फत हुने आन्तरिक र बाह्य लगानी प्रतिबद्धतामा ह्रास आएको छ भने लगानी बोर्डमार्फत भित्रिने ठूला लगानीको प्रतिबद्धतामा गत वर्ष भन्दा सुधार भएको छ ।

उद्योग विभागमार्फत हुने प्रतिबद्धता ३६ प्रतिशतले कमी

उद्योग विभागमा दर्ता हुने उद्योगमा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता सवा खर्ब रुपैयाँले घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी लगानीकर्ताले विभागमा ३ खर्ब ५४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसमध्ये ३ खर्ब रुपैयाँ स्वदेशी लगानी थियो भने ५४ अर्ब विदेशी लगानीको प्रतिबद्धता थियो ।

यस्तै, लगानी बोर्डमार्फत भित्रिने ठूला वैदेशिक लगानी भने ४४ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ प्रतिशतले बढी हो ।

आव ०७९/८० मा विभागमा स्वदेशी लगानीका १९५ उद्योग दर्ता भएका छन् जसमा एक खर्ब ८१ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । जुन गत आवको तुलनामा एक खर्ब १९ अर्ब रुपैयाँले कम हो । आर्थिक वर्ष २०७८/७९ मा २४० उद्योग दर्ता भएका थिए । जसमा ३ खर्ब रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।

विभागका अनुसार आव २०७९/८० मा ठूला ६३ उद्योग दर्ता भएका छन् । गत वर्ष यस्ता उद्योगको संख्या १० वटा मात्रै थियो । यस्तै आव २०७९/८० मा मझौला ५७ र साना ७५ वटा उद्योगमा लगानीको प्रस्ताव गरिको छ ।

८७ वटा मझौला र साना ६३ उद्योगमा लगानी प्रतिबद्धता आएको थियो । यो विवरण उद्योग विभागमा दर्ता भएको उद्योग र लगानी प्रतिबद्धताको मात्रै हो । हाल प्रदेशमा पनि उद्योग दर्ता हुने भएकाले त्यहाँ दर्ता भएका उद्योगको विवरण बाउन अझै केही समय समय लाग्ने विभागले जनाएको छ ।

यस्तै, आव २०७९/८० मा उद्योग विभागमा ३२७ वटा विदेशी लगानीका उद्योगले नेपालमा लगानी भित्र्याउन प्रस्ताव गरेका छन् । जसका लागि उनीहरुले कुल ३८ अर्ब ४१ करोड रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । जुन आव २०७८/७९ को तुलनामा १६ अर्बले कम हो ।

विदेशी लगानी प्रतिबद्धतामध्ये ५ उद्योग ठूला हुन् भने २५ वटा मझौला र २९७ वटा साना उद्योग रहेको विभागले जनाएको छ । अघिल्लो आवमा जम्मा २९५ वटा उद्योगमा ५४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । जसमा ५ वटा ठूला, ७३ वटा मझौला र २१७ वटा साना उद्योगहरु थिए ।

विभागका महानिर्देशक बाबुराम गौतमका अनुसार स्वदेशी लगानीका उद्योगहरुको विवरण अहिल्यै तुलानात्मक रुपमा भन्न सकिने अवस्थामा उपलब्ध भइसकेको छैन ।

उद्योगमा विदेशी लगानी प्रतिबद्धतामा भने विभागमा गर्न पाइने लगानीको सीमा घटेपछि संख्या बढेको र लगानी रकममा ह्रास आएको उनले बताए ।

‘पहिले विदेशी लगानीमा ५ करोडको न्यूनतम सीमा थियो । यसले धेरै लगानी प्रतिबद्धता जनाउनुपर्ने हुन्थ्यो,’ महानिर्देशक गौतमले भने, ‘अहिले २ करोडको सीमा छ । यसले उद्योगको संख्या बढेको देखाउँछ भने लगानी रकममा भने ह्रास आएको छ ।’

आव २०७९/८० मा बोर्डमार्फत भित्रिने विदेशी लगानी भने ४४ अर्ब ९१ करोडले बृद्धि भएको छ ।
लगानी बोर्डले मार्फत आव २०७९/८० मा एक खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । आव २०७८/७९ मा एक खर्ब २२ अर्ब ६८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।

बोर्डले तल्लो अरुण जलबिद्युत परियोजनामा ९१ अर्ब ६८ करोड, माथिल्लो मर्स्याङ्‍दी जलविद्युत परियोजनामा ३३ अर्ब १९ करोड र दूधकोशी २ जलविद्युत परियोजनामा २० अर्ब ३५ करोड लगानी प्रतिबद्धता आएको छ ।

यस्तै, सिम्बुवाखोला जलविद्युत परियोजनाका लागि १३ अर्ब ४४ करोड र माथिल्लो मादी जलविद्युत परियोजनाका लागि ७ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको बोर्डले जनाएको छ ।

गत वर्ष बोर्डले ५ परियोजनामा लगानी भित्र्याउने सम्झौता गरेको थियो । बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील भट्टले बोर्डले लगानी सम्झौता गरेका परियोजनाहरुमा विदेशी लगानी भित्रिने दाबी गरे । विस्तृत परियोजना अध्ययन प्रतिवेदन र सबै प्रकारका अध्ययनपछि मात्रै लगानी सुनिश्चितता गरिने भएका कारण सम्झौता भएका लगानी भित्रिनेमा उनी ढुक्क छन् ।

‘व्यावसायिक कार्य योजना र रणनीतिक योजनाबाट मात्रै लगानी सम्झौता हुने भएकाले प्रतिबद्धता हुने भएकाले त्यो रकम भित्रिनेमा हामी विश्वस्त छौं,’ भट्टले भने, ‘निर्वाचन र सरकार बन्नै समय लाग्ने अप्ठ्यारो समय बीच लगानी भित्रिने क्रम गत वर्ष भन्दा बढेको छ ।’

नेपालमा ऊर्जा र गैर ऊर्जा क्षेत्रमा ठूला लगानीका लागि सम्भावनाका क्षेत्रहरु कायमै रहेको पनि उनले बताए ।

विदेशी लगानीको प्राप्ति चाहिँ प्रतिबद्धताको तुलनामा अत्यन्तै कम हुने गरेको छ । गत आर्थिक वर्षको ११ महिनामा नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी जम्मा ४ अर्ब ६५ करोड मात्रै भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड थियो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?