+
+

भक्तपुर क्याम्पसको विवाद अझै सुल्झेन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १५:३३
२२ जेठमा क्याम्पसमा ताला लगाउँदै नेपाल विद्यार्थी संघ ।

२ साउन, काठमाडौं । भक्तपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिलाई लिएर भइरहेको विवाद अझै सुल्झन सकेको छैन । त्रिवि कार्यकारी परिषद्ले नयाँ क्याम्पस प्रमुख नियुक्ति गरेपछि गत जेठ २२ गते नेविसंघ इकाइले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासनमा लगाएको ताला खुल्न सकेको छैन ।

नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र नवनियुक्त क्याम्पस प्रमुख कविता लुइँटेल भट्टराईको नेमप्लेट नजिकैको रुखमा झुन्ड्याउनको साथै शिक्षक तथा कर्मचारीले हाजिर गर्ने दुई वटा ‘थम्प मेसिन’ गायब पारेको छ ।

कविता लुइँटेल भट्टराईले नेविसंघसँग अनौपचारिक कुरा भइरहे पनि औपचारिक वार्ता भने हुन नसकेको बताइन् । उनले भनिन् ‘अनौपचारिक रुपमा कुरा भइरहेको छ तर औपचारिक रुपमा वार्तामा बोलाउँदा उहाँहरु आउनुहुन्न ।’ हाजिर गर्नको लागि थम्प मेसिन नभएको र रजिष्टर पनि कायकक्षमा थुनिएकोले अहिले बैकल्पिक रजिष्टर बनाइ शिक्षक तथा कर्मचारीहरुको हाजिर गरिरहेको प्रमुख भट्टराईले जानकारी दिइन् ।

नेविसंघका इकाइ सचिव दीप गिरीले भने क्याम्पसले अहिलेसम्म आफूहरुलाई औपचारिक रुपमा वार्तामा नबोलाएको बताए ।

उनले भने ‘अनौपचारिक रुपमका कुरा भइरहेको छ । तर वार्ता गरौं भनेर अहिलेसम्म औपचारिक रुपमा बोलावट भएको छैन ।’

त्रिविले नियुक्त गरेको क्याम्पस प्रमुखलाई नेविसंघ इकाइले क्याम्पस प्रमुख नमानेकोले क्याम्पस प्रशासनले बोलाए मात्र वार्तामा बस्ने समेत गिरीले बताए । नेविसंघको माग क्याम्पस प्रशासनले भन्दा पनि भिसी कार्यालयले मात्रै सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।

सचिव गिरी भन्छन्, ‘यो विषय भिसी कार्यालयले सम्बोधन गर्नुपर्छ । राजनीतिक भागबन्डाको आधारमा नियुक्ति हुनुहुँदैन । त्यसरी गरिएको हामीलाई मान्य हुनेछैन ।’

गत चैत ३० गते तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाशपश्चात् त्रिविले वरिष्ठताको आधारमा सहायक क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई वैशाख ३ गते निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो । त्रिवि कार्यकारी परिषद्ले सहप्राध्यापक शाक्यलाई निमित्त क्याम्पस प्रमुखको हैसियतमा जिम्मेवारी दिएको करिब डेढ महिनामा जेठ १६ गते अर्की सहप्राध्यापक कविता लुइँटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्य आफूलाई जानकारी पनि नदिई काम गरिरहेकै बेला नयाँ क्याम्पस प्रमुख पठाएर आफूलाई अपमानित गरेको बताउँछिन् ।

क्याम्पस प्रमुखको नियुक्ति पत्र सहित कविता लुइँटेल भट्टराई जेठ २१ गतेबाट हाजिर हुन पुगेकी थिइन् । काम गरिरहेको बेला नयाँ क्याम्पस प्रमुख नियुक्ति लिएर आएपछि निमित्त प्रमुख शाक्यले काम छोडेर क्याम्पसको कागजात प्रशासनलाई बुझाएर गएपछि क्याम्पस गएकी छैनन् ।

विज्ञान संकायकी सह–प्राध्यापक शाक्य निमित्त क्याम्पस प्रमुख हुनुअघि सहायक क्याम्पस प्रमुख थिइन् । उनी भन्छिन ‘अब म कुन हैसियतले क्याम्पस जाने त ? न निमित्त क्याम्पस प्रमुख रहे न सहायक क्याम्पस प्रमुख । सहायक क्याम्पस प्रमुख भएपछि कक्षा पनि थिएन ।’ ११ वर्ष सहायक क्याम्पस प्रमुख भएर उनले संकायको व्यवस्थापकीय काम गरिरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?