
२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले ढुकुटीमा पैसा नभएका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती विषयक कार्यक्रममा उनले राजस्व वा वैदेशिक ऋण लक्ष्य अनुसार प्राप्त नहुनेजस्ता कारणले भुक्तानीमा समस्या भएको बताएका हुन् ।
‘राजस्वमा सानो समस्या भएर आइदिएन भने तिर्ने पैसा हुँदैन । वैदेशिक ऋण कुनै शर्तका कारणले रोकियो भने त्यो पैसा आउँदैन । अनि, पेमेन्ट गर्न पाइदैन’ उनले भने, ‘अंकमा पैसा देखिन्छ । साँच्चिकै पैसा चाँहि हुँदैन, त्यो पनि अनेक गरेर फुकाउँदा जेठ, असार नै हुन्छ ।’
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण निर्माण व्यवसायीहरु चेक अनादरको मुद्दामा जेल जानुपर्ने अवस्था आएको गुनासो गरेका थिए । त्यसको जवाफ दिने क्रममा सचिव शर्माले राज्यको ढुकुटीमा पैसा नभएकाले समस्या भएको बताएका हुन् ।
‘अहिले राजस्व पनि भनेको जसरी उठेन र, वैदेशिक ऋणहरु पनि प्रक्षेपित चाहिँ आउन सकेन । त्यसैले भुक्तानीको समस्या भएको हो । यसमा एउटा पक्षले अर्को पक्षलाई दोष लगाउने काम गर्न मिल्दैन’, उनले भने । उनले विकास आयोजनाहरुको भुक्तानीमा अझै समस्या बढेर जाने सम्भावना रहेको बताए ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले सरकारले आफूहरुलाई गरिसकेको कामको भुक्तानी नगर्दा अब बाँकी काम गर्न सक्ने अवस्थामा नभएको बताए ।
सरकार आफैं विकास, निर्माणको काम अघि बढाउन गम्भीर नभएको आरोप समेत उनले लगाए । ‘यस्तो अवस्थामा पनि हाम्रा अभिभावक नेपाल सरकार पूर्वाधार विकासमा साँच्चै नै गम्भीर छैन’ अध्यक्ष सिंहले भने ।
प्रतिक्रिया 4