+
+
कांग्रेस बैठकमा उपसभापति खड्काको ब्रिफिङ :

‘ठूलो मिहिनेतले सबैतिर सत्तामा आयौं, परिस्थिति नबिगारौं’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते २०:१४

२ असार, काठमाडौं । नेपाली कांग्रेसले १० पुसमा बनेको एमाले–माओवादी गठबन्धन तोड्नुलाई ठूलो सफलता मानेको छ । साथै माओवादी सहितका दलहरुसँग मिलेर बनाएको सत्ता गठबन्धनलाई जोगाएर लैजानुपर्नेमा समेत जोड दिएको छ ।

मंगलबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुसमा भत्किएको वर्तमान सत्तागठबन्धन कसरी पुनः बनाइयो भनेर ब्रिफिङ गरे ।

२०७९ को स्थानीय तह, संघ र प्रदेशको चुनावमा गठबन्धन गरेका कांग्रेस–माओवादी केन्द्र १० पुसमा छुट्टिएका थिए । आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएपनि पहिलो पालो आफूलाई छाड्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० पुसमा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भए । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टीसहितका ७ दलको गठबन्धन बन्दा कांग्रेस संघीय सरकारमा मात्र होइन, सातवटै प्रदेशमा सत्ताबाट बाहिर पुग्यो ।

उपसभापति खड्काले यसलाई २०७२ असोजमा संविधान जारी भएपछि कांग्रेस सत्ता बाहिर हुनु परेको अवस्थासँग तुलना गरे । त्यो बेला एमाले नेतृत्वमा सरकार बनाउने सहमति विपरीत तत्कालीन सभापति सुशील कोइराला प्रधनमन्त्रीको उम्मेदवार बनेपछि एमाले–माओवादी लगायतको गठबन्धन बनेको थियो ।


विविध कारणले १० पुसमा गठबन्धनमा निरन्तरता पाउन नसकेको भन्दै खड्काले भने, ‘जसरी संविधान जारी गरेको जस लिएको कांग्रेस विविध कारणले सडकमा पुग्नुपरेको थियो, त्यसैगरी पुस १० गते अर्को दुर्घटना भयो र, कांग्रेस संघ, प्रदेश सबै ठाउँमा सत्ता बाहिर रह्यो ।’ सरकारसँगै मुलुकका अरु संरचनामा पनि कांग्रेस बाहिर रहने अवस्थाको प्रारम्भ भएको उनले बताए ।

यद्यपि त्यही १० पुसकै बेलुकादेखि नै भत्किएको गठबन्धनलाई पुनर्स्थापित गर्न आफूहरुले प्रयत्न थालेको उनले सुनाए । त्यसक्रममा आवश्यक पर्‍यो भने राष्ट्रपतिमै सम्झौता गरेर भएपनि गठबन्धन भत्काउनुपर्छ भन्ने छलफल भएको खड्काले सुनाए । उपसभापति खड्काले बैठकमा भने, ‘त्यो तहको त्याग गरेर भएपनि गठबन्धन परिर्वतन गर्नुपर्छ भन्ने तहमा छलफल भएको थियो ।’

त्यसमाथि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारको पक्षमा फर्किन वातावरण बनाउने प्रतिवद्धता जनाएको उनले सुनाए । त्यसअनुसार (२५ फागुन) पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेको र (१७ चैत) आफ्नो नेतृत्वमा पार्टी सरकारमा गएको खड्काले बताए । हाल सरकारमा कांग्रेसका ९ मन्त्री छन् ।

उनले अगाडि भने, ‘सबै प्रदेशमा कांग्रेस सत्ता बाहिर थियो, आजको दिनमा सात प्रदेशमध्ये सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा सरकारको नेतृत्व गरेको छ । तीन वटा प्रदेशमा आफ्नो हैसियत अनुसार सरकारमा सहभागी छौं ।’

सरकारमा गएकाहरुले काम गर्ने क्रममा कुनै कमजोरी भए सच्याउनका लागि सुझाव दिन उपसभापति खड्काले आग्रह गरे । संघ तथा प्रदेशको बजेटलाई लिएर सांसद, केन्द्रीय सदस्य र नेताहरुको गुनासो हुनसक्ने भन्दै उनले मिलाउन सकिने तहसम्म मिलाउने बताए ।

तर गठबन्धनलाई नै असर पार्ने काम कारबाही नगर्न र अभिव्यक्ति नदिन नेताहरुलाई आग्रह गरे । सहयात्री दलहरुलाई विश्वासमा लिएर जानुपर्ने दायित्व सबभन्दा ठूलो दलको हैसियतमा कांग्रेसको भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले बताए ।

‘धेरै ठूलो मिहिनेत गरेर अनुकुल स्थिति निर्माण भएको छ । यसलाई सच्याउने, सुधार गर्ने कुरामा लागौं’, प्रदेश र संघीय सरकारमा सत्ता बाहिर भएको दुई/अढाई महिनामा पार्टीका आम कार्यकर्ताको मनोदशा कस्तो थियो भन्ने सम्झिनुपर्ने भन्दै उनले भने, ‘तर मेरो आग्रह छ, हाम्रा गतिविधि, हाम्रा बोलीबाट कत्ति पनि यो राजनीतिक परिस्थिति, भत्किने बिग्रिने तहमा पुग्ने गरी जान हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?