+
+

गुण्डागर्दीविरुद्ध काठमाडौं प्रहरीको ‘ब्रोकन विन्डो प्रिन्सिपल’

गौरव पोखरेल गौरव पोखरेल
२०८० साउन ३ गते ८:५८
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की ।

३ साउन, काठमाडौं । छ वर्ष अघि नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएयता उपत्यकामा गुण्डाहरु संलग्न हाई–प्रोफाइल घटना भएका थिएनन् । बरु गुण्डागर्दीमा संलग्नविरुद्ध प्रहरीको निर्मम कारबाहीपछि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले वैकल्पिक पेशा रोज्न थालेका थिए ।

गौचन हत्यामा संलग्न समीरमान सिंह बस्न्यात (प्रहरीले छुट्टयाएको ‘क’ वर्गका गुण्डा नाइके) पक्राउ परेपछि त उपत्यकाका डन भनिएकाहरु संरक्षण खोज्दै खुला रूपमा राजनीतिक ओत लिन थालेका थिए ।

कुनै समयमा बस्न्यातका सहयोगी रहेका रुपन्देहीका गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन २ फागुन २०७४ मा प्रहरी मुठभेडमा मारिए । उनीमाथि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई ४ पुस २०७३ मा गोली हानेर हत्या गरेको आरोप थियो । तिवारी हत्यापछि भारतमा लुकेर बसेका बेला उनकै निर्देशनमा २१ पुस २०७४ मा फेरि तिवारीका साथी बलु पौडेलको पनि हत्या भएको थियो ।

त्यसबीच प्रहरीले चलाएको आक्रामक अपरेशनका कारण उपत्यकाका गुण्डाहरुले टाउको उठाउन पाएका थिएनन् । दिनेश अधिकारी ‘चरी’, कुमार श्रेष्ठ ‘घैंटे’, प्रवीण खत्री जस्ता कुख्यात व्यक्तिहरु प्रहरी मुठभेडमा मारिए । टिके डाँका, जसवन्त राई लगायत प्रहरीको गोलीबाट घाइते भए ।

गुण्डा नाइके रमेश बाहुन र समीरमानहरु बालबाल बचे । रमेश बाहुन अहिले आफू सुध्रिएर रमेश पौडेलका रुपमा चिनिने बाटोमा रहेको सार्वजनिक रुपमै बताउन थालेका छन् । यो बीचमा काठमाडौं मात्र होइन, नेपालमै गुण्डागर्दी शून्य जस्तै देखिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीको विश्लेषण छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले लगभग नेपालमा गुण्डागर्दी शून्य जस्तै रहेको सुनाए ।

तर, ठमेलस्थित क्लब ओम्नियामा १५ असारमा जे भयो, त्यसले गुण्डागर्दीमा संलग्नहरुले टाउको उठाउन खोजेका हुन् कि भन्ने संकेत देखिएको विश्लेषण पनि उनले सुनाए । काठमाडौंको अपराध प्रवृत्तिको वार्षिक समीक्षा सुनाउँदै उनले ‘केही मान्छेहरुले देखाएको अस्वाभाविक व्यवहार गुण्डागर्दी हो भन्न सकिने किसिमको’ रहेको बताए ।

त्यो दिन क्लब ओम्नियामा बसिरहेका सञ्चालक युवराज गुरुङसहित त्यहाँका कर्मचारीमाथि गुण्डा सानुभाइ भनिने युवराज गुरुङको समूहले कुटपिट गरेको थियो । राति २ बजे क्लबमा पुगेर कुटपिट गरेको भन्दै गुरुङले प्रहरीमा किटानी जाहेरी दिएका थिए । पटकपटक रकम माग्दै आफूलाई हैरानी दिने गरेको पनि उनले प्रहरीसमक्ष भनेका थिए ।

कुटपिटको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज समेत सार्वजनिक भएपछि प्रहरीले पोखराबाट पछ्याउँदै आएर सानु भाइलाई नागढुंगाबाट २९ असारमा पक्राउ गरेको थियो । उनलाई पोखरामा लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले तनहुँका सुवास र सुरेश कायस्थलाई पनि पक्राउ गरेको थियो ।

यही घटनालाई संकेत गर्दै एसएसपी कार्कीले गुण्डागर्दीमा संलग्नहरु फेरि सलबलाउन थालेका हुन् कि भन्ने देखिएको बताएका हुन् । प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएको छ । अधिकतम एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवानामा हुनसक्ने अभद्र व्यवहारका आरोपीको पक्राउलाई प्रहरीले सामान्यतयाः त्यति महत्व दिएर सार्वजनिक गर्दैन ।

तर, यसपालि प्रहरीले पत्रकारहरु बोलाएर उनीहरुलाई सार्वजनिक मात्र गरेको छैन, गुण्डा नाइके भनेर चिनिएका सानु भाइलाई हत्कडीसहित ठमेल डुलाएको समेत छ । ठमेल त्यही क्षेत्र हो, जहाँ उनी असुलीमा सक्रिय हुन्थे । जहाँ उनलाई देखेर व्यवसायीहरु तर्सिन्थे ।

एसपी छँदा जिल्ला प्रहरी कार्यालय, कास्की र कपिलवस्तुको प्रमुख रहेका बेला पनि कार्कीले गुण्डागर्दीमा संलग्न र केही ठगहरुलाई हत्कडी लगाएर बजार डुलाएका थिए । कपिलवस्तुमा यसरी नै हत्कडी लगाएर अदालत पुर्याइएका ईश्वरीप्रसाद पोख्रेल भनिने गोपाल कामी फेरि काठमाडौंमा पक्राउ परेका थिए । त्यसबेला आयोजित पत्रकार सम्मेलनमा उनले आफूले गोपाल कामीलाई कपिलवस्तुमा हत्कडीसहित सडकमा हिँडाए पनि नसुध्रिएको सुनाएका थिए ।

पुलिसिङमा ‘ब्रोकन विन्डो’ सिद्धान्तलाई स–साना कसुरमा पनि आक्रामक कारबाही गरेर ठूला घटना हुन नदिने रणनीति बुझिन्छ ।

‘सामान्यतः मुद्दा चलिसकेपछि समातेर खुत्रुक्क गाडीमा हाल्यो, टाउको लुकायो हुँदो रहेछ’, काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्की भन्छन्, ‘गुण्डा भनेर आतंक सिर्जना गरेको मान्छे को रहेछ भन्ने नागरिकले थाहै नपाउने भयो, त्यसैले यो गुण्डो रहेछ भनेर आम नागरिकले थाहा पाउन्, ऊ लुरुक्क परेको पनि देखुन् भनेर यस्तो गरेका छौं ।’

प्रहरीले हालै सार्वजनिक गरेका गुण्डा सानु भाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी कतिसम्म त्रसित थिए भने उनी जतिसुकै बेला ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार, २५ पुस २०७२ मा उनी नुवाकोटबाट २८ बोर रिभल्बर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भिम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए । ‘सबै पृष्ठभूमि हेर्दा सार्वजनिक नोटिसमा राख्न पनि उनलाई सबैसामू प्रस्तुत गर्नैपर्ने भयो’, एसएसपी कार्की भन्छन् ।

कुटपिटमा संलग्न अभद्र व्यवहारका आरोपी सानु भाइविरुद्ध काठमाडौं प्रहरी किन कठोर देखियो ? एसएसपी कार्की भन्छन्, ‘खासमा मैले लण्डनको चर्चित ‘ब्रोकन विन्डो प्रिन्सिपल’ पालना गरेको मात्र हुँ ।’

के हो ‘ब्रोकन विन्डो प्रिन्सिपल’ ?

काठमाडौं प्रहरी प्रमुख कार्कीले भनेको ‘ब्रोकन विन्डो’ सिद्धान्त सन् १९९० को दशकमा अमेरिकाको न्यूयोर्कमा चर्चित पुलिसिङ शैली हो । समाजशास्त्री जेम्स विल्सन र जर्ज केलिङले १९८२ मा सिर्जना गरेको सिद्धान्तमा आधारित भएर न्यूयोर्क सिटी पुलिसका तत्कालीन कमिश्नर विलियम ब्याटन र मेयर रुडी गुलियानले ‘ब्रोकन विन्डो’ पुलिसिङ सिद्धान्त अघि सारेका थिए ।

यो सिद्धान्तमा एउटा खाली घरलाई त्यसै छाडिदियो र कसैले सीसी फुटायो भने त्यो पत्ता लगाएर तत्काल कारबाहीको दायरामा ल्याइएन भने छिट्टै अरु सीसा पनि फुट्छन् भन्ने मान्यता थियो । अर्थात्, कुनै पनि कुरालाई सानो कसूर भनेर छाड्दा त्यसले उग्र रुप लिन्छ भन्ने यसको मान्यता हो ।

‘जस्तै एउटा कुनामा चाउचाउको खोल फालियो भने एक हप्ताभित्र त्यहाँ फोहोरको डंगुर हुन्छ, त्यस्तै फाटाहाहरुलाई समयमै कारबाही गरेर बाहिर देखाउन सकिएन भने परिस्थिति झन् बढ्दै जान्छ भन्ने बुझाइ हो’, यो सिद्धान्तबारे स्पष्ट पार्दै एसएसपी कार्की भन्छन्, ‘त्यसैले सानो ठूलो कुनै किसिमका उछृंखलतालाई निरुत्साहित गरिहाल्ने नीति हो ।’

पुलिसिङमा ‘ब्रोकन विन्डो’ सिद्धान्तलाई स–साना कसुरमा पनि आक्रामक कारबाही गरेर ठूला घटना हुन नदिने रणनीति बुझिन्छ । यसमा अपराधको दर उच्च भएको क्षेत्रमा स–साना कसुर गर्नेलाई पहिल्यै कारबाहीको दायरामा ल्याएर अप्रिय घटना हुन नदिने प्रयास गरिन्छ । त्यही अनुसार काठमाडौंमा कुनै पनि अपराधलाई सानो ठूलो नभनी प्रहरीले निर्ममतापूर्वक अनुसन्धान अघि बढाएको एसएसपी कार्की बताउँछन् । भन्छन्, ‘अपराध भइसकेपछि अनुसन्धान गर्ने मात्र होइन, हुनै नदिनेतर्फ पनि प्रयासरत् छौं ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?