+
+

जापानमा किन मौलाउँदैछन् जागिर छाड्न सहयोग गर्ने एजेन्टहरु ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १०:०२

विश्वकै समृद्ध मुलुकमध्येको एक जापान निकै इमान्दार र अनुशासित नागरिकहरुको देश पनि भनेर चिनिन्छ । त्यहाँ आम मानिसहरु आफू कार्यरत संस्थाप्रति निकै बफादार हुन्छन् भने अधिकांश मानिसहरु आफ्नो जागिरे जीवनमा एउटै ठाउँमा मात्र जागिर खाएका हुन्छन् । किनकि जापानमा आफूले काम गरिरहेको ठाउँमा जागिर छाड्नुलाई राम्रो मानिंदैछ र त्यस्ता मानिसलाई भगौडाको रुपमा लिइन्छ जुन निकै लज्जास्पद ठानिन्छ ।

कामकाजी मानिसहरुलाई यस्तै समस्याबाट जोगाउन तथा सम्मानजनक रुपमा जागिर छाड्नका लागि सहयोग गर्न जापानमा जागिरबाट अलग गराइदिने एजेन्टको व्यवसाय निकै मौलाएको छ । यस्तो एजेन्टलाई जापानमा ‘ताइशोकु डाइको’ भनिन्छ ।

पछिल्ला केही वर्ष यता जापानमा यस्ता दर्जनौं कम्पनीहरू खुलेका छन्, जसले सम्मानजक रुपमा जागिर छाड्नका लागि मानिसहरुलाई सहयोग गर्दछन् ।

टोकियोमा कार्यालय रहेको यस्तै एउटा कम्पनी गार्जियनका प्रमुख योशिहितो हासेगावा जागिर छाड्ने कुरालाई भद्रगोल प्रकारको डिभोर्ससँग तुलना गर्दछन् । उनको कम्पनीले गत वर्ष मात्रै १३ हजार जनालाई कसरी कमभन्दा कम झण्झटविना जागिरबाट राजीनामा दिने भन्ने विषयमा परामर्श दिएको छ ।

उनका अनुसार जापानीहरु आफ्नो जागिरमा असन्तुष्ट हुँदाहुँदै पनि प्रायः सोही जागिरमा टाँसिइरहन्छन् र आफूहरू राम्रो उद्धेश्यको लागि आफ्नो जीवन समर्पण गरिरहेको अनुभूति गर्दछन् जसलाई कामिकाजे भनिन्छ । जापानी जागिरेहरुलाई उनी दोस्रो विश्वयुद्धको अन्त्यतिर आत्मघाती मिसनका लागि पठाइएका सैनिकसँग तुलना गर्दछन् । जो देशको लागि आफ्नो जीवनको बलिदानी दिन प्रतिबद्ध थिए । त्यहाँ छाडेर जानुलाई धोकाधडी मानिन्छ ।

सन् २०२० मा स्थापना भएको ‘ताइशोकु डाइको’ कम्पनी गार्जियनले खासगरी २० तथा ३० अको दशकको उमेरका कैयन् युवायुवतीहरुलाई आफुले छाड्न चाहेको जागिरबाट न्यूनतम पीडासहित अलग हुन सहयोग गरेको छ । जसमा शिन्तो स्राइनदेखि ल र्फम र दन्त अस्पतालसम्म अनि रेष्टुरेन्ट देखि पसलहरु सम्ममा काम गरिरहेका युवायुवती छन् ।

गार्जियनका आधाभन्दा धेरै ग्राहक महिला छन् । त्यसमध्ये कतिपयले जागिर सुरु गरेको एकदुई दिनमै पहिले कबुल गरिए अनुसारको तलब सुविधा तथा कार्यघण्टा नभएको थाहा पाएसँगै त्यो जागिर छाड्न चाहेका हुन्छन् ।

कम्पनीले सजिलोसँग जागिर छाड्न सहयोग गर्ने उक्त सेवाका लागि प्रतिव्यक्ति २९ हजार ८ सय येन शुल्क लिने गरेको छ जुन करिब २७ हजार रुपैयाँ हो । जसमा युनियनको ३ महिने सदस्यताको शुल्क पनि समावेश हुन्छ जसले कर्मचारीको प्रतिनिधित्व गर्दछ र कर्मचारीको पक्षबाट सौदाबाजी गर्दछ ।

गार्जियनका ग्राहकहरु प्रायः साना तथा मझौला खालका व्यवसायहरुमा काम गरिरहेका व्यक्तिहरु हुन् । कहिलेकाहीं भने ठूलाठूला कम्पनीमा काम गरिरहेका मानिसहरु समेत सहयोग खोज्दै त्यहाँ आउँछन् ।

कर्मर्चारीहरुको मूख्य गुनासो नै हाकिमले हरेक कुरामा हैकम जमाउने तथा बिदा दिन अस्वीकार गर्नेलगायतका हुने गरेका छन् । जापानमा श्रमिकको अभाव निकै पेचिलो बन्दै जाँदा कार्यरत कर्मचारी तथा कामदारहरुले बिदा पाउन मुस्किल हुँदै गएको छ ।

जापानमा कानुनत कुनै पनि कर्मचारी वा श्रमिकलाई जागिर छाड्ने अधिकार छ । तर कतिपय पुरानो शैलीको पदसोपानिक परम्परामा अभ्यस्त भएका कतिपय रोजगारदाताहरु भने आफूले सीप सिकाएको कामदारले जागिर छाड्ने कुरा स्वीकार गर्दैनन् ।

आफू कार्यरत जागिर छाड्नका लागि संघर्ष गरिरहेकाहरुले त्यस्तो खालका रोजगारदातालाई मिनी हिटलर, कट्टरपन्थी तथा बदमासको उपमा दिने गर्दछन् ।

जापानी संस्कारमा निकै कठोरतापूर्वक काममै डुबिरहने वर्काहोलिक दबाब वास्तवमा निकै उच्च छ । श्रमिकहरु आफू समस्याको कारक बन्न चाहँदैनन् जसका कारण उनीहरु अधिकारीसमक्ष प्रश्न गर्न मन गर्दैनन् र बोल्न पनि डराउँछन् ।

जागिर छाडेपछि आफुमाथि दुर्व्यवहार हुन्छ कि भन्ने डरसमेत उनीहरुमा रहन्छ । साथै कतिपयले चाहिं जागिर छाडेपछिको अवस्थामा आफ्नो परिवार तथा मित्रगणहरुबाट आउने प्रतिक्रियाका बारेमा चिन्तित हुन्छन् ।

गार्जियनका अधिकांश ग्राहकहरुले आफ्नो नाम खुलाउन चाहेनन् । अनलाइनमा आफ्नो नाम ट्वीचान राखेका एकजना युवक कार्यरत कम्पनीमा आफ्नो बिक्री सम्बन्धी कार्यसम्पादनका बारेमा आलोचना भएसँगै डिप्रेसनमा गए र झण्डै आत्महत्या गर्ने सोँचमा पुगे । उनी पनि सहयोग माग्दै गार्जियनमा आएका थिए । गार्जियनको सहयोगमा उनले ४५ मिनेटमै आफू कार्यरत कम्पनीबाट सजिलैसँग राजीनामा दिन सफल भए ।

एपीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?