काठमाडौं । अहिले मासु खान छाड्नेको जमात विश्वभर नै बढ्दो छ । बीबीसीमा प्रकाशित एक रिपोर्ट अनुसार आफ्नो स्वास्थ्य सुधार्नेदेखि पर्यावरण र जनवारको हितको लागि मासु छाड्नेहरुको संख्या थपिंदै गएको छ ।
बीबीसीमा लेखिएको छ, ‘यदि बेलायतको कुरा गर्ने हो भने एक तिहाइ नागरिक दाबी गरिरहेका छन् कि उनीहरुले मासु खान छाडिसके । अमेरिकामा पनि दुई तिहाइ नागरिकले विगतमा भन्दा निकै कम मासु खाइरहेको बताउने गरेका छन् ।’
तर विश्वमै शाकाहारीको जमात बढ्दै गएपनि मासुको खपत भने घटेको छैन । पछिल्लो ५० वर्षमा मासुको खपत विश्वमै तीव्र ढंगले बढिरहेको छ । साथै मासुको उत्पादन पनि बढेको छ । मासुको खपत बढ्नुमा मूलत: दुई कारण देखिएको छ, एक त जनसंख्या वृद्धि । अर्को चाहिं मान्छेको क्रय क्षमता ।
विकसित मुलुकहरुमा मासु उत्पादनको तौरतरिका पनि फरक छ । त्यहाँ मासुकै लागि पशु पालिन्छ । जवान र निरोगी पशुलाई सम्भव भएसम्म एकदमै कम पीडा दिएर बध गरिन्छ । यसरी उत्पादित मासुलाई स्वस्थ मापदण्ड अपनाएर भण्डारण तथा बिक्री वितरण गरिन्छ ।
तर हामीकहाँ उत्पादित मासु कति खानयोग्य छ भनेर जाँच गरिने परिपाटी छैन । न त बध गर्नुअघि पशुको स्वास्थ्य जाँच गरिन्छ । यही कारण यहाँ चिकित्सकहरुले सम्भव भएसम्म मासुको मात्रा नियन्त्रण गर्न सुझाव दिन्छन् । केही अध्ययनको निचोडले भन्छ, ‘खासगरी रातो मासु मुटुरोग, हृदयघात र केही प्रकारका क्यान्सरको कारण बन्न सक्छ ।’
मासु जाँच ऐन प्रभावकारी रूपमा लागू हुन नसक्दा नेपालमा उपभोक्ताले गुणस्तरहीन मासु खान बाध्य भएको पोषणविद् भुपाल बानियाँ बताउँछन् । उनी भन्छन्, ‘व्यवसायीले बिना परीक्षण मासु बिक्री वितरण गर्दा यहाँका जनता गुणस्तरहीन र अस्वस्थ्यकर मासु खान बाध्य छन् ।’
पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ अन्तर्गत वधशाला ऐनहरू निर्माण भएका छन् । पशु वध गर्नुअघि जँचाउनुपर्ने, वध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, मासुमा छाप वा चिह्न लगाउनुपर्ने जस्ता थुप्रै ऐन छन् । ती ऐन कार्यान्वयन नगरे पाँचदेखि २० हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुने व्यवस्था छ । तर यी सबै ऐन लागू भएका छैनन्, न त सम्बन्धित निकायले कार्यान्वयन भए नभएको अनुगमन नै गरेका छन् ।
‘रातो मासु भन्दा कुखुराको मासु स्वस्थकर भनेर हामी कुखुराको मासु खान्छौं । तर कुखुरालाई छिटो बिक्री योग्य बनाउन व्यसायीहरुले दानामा धेरै मात्रामा विभिन्न प्रकारको एन्टिबायोटिक प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘यस्तो धेरै मात्रामा एन्टिबायोटिक प्रयोग गरेर उत्पादन गरिएको कुखुराको मासु खाँदा पनि कालान्तरमा मिर्गौला कलेजो खराब हुन सक्ने सम्भावना बढ्न सक्छ ।’
सबै व्यवसायीले कुखुरालाई मापदण्ड भन्दा बाहिर गएर एन्टिबायोटिक दिएका छन् भन्ने होइन । केहीले त मापदण्ड अनुरूप नै पनि कुखुराको मासु उत्पादन र बिक्री वितरण गरेका पनि छन् । त्यसको एउटा उदाहरण भ्याली कोल्ड स्टोर भएको बानियाँले बताए ।
बानियाँ भन्छन्, ‘पहिले गाउँघरमा खसीबोकालाई चराएर पाल्ने गरिन्थ्यो । तर अहिले खसी छिटो ठूलो बनाउन दाना नै खुवाउने गरिन्छ । जसले गर्दा खसीमा धेरै बोसो लाग्छ । उनी भन्छन्, ‘खसीको मासुमा भएको त्यो बोसो स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । जसले गर्दा खसीको मासुको धेरै सेवनले मुटुसम्बन्धी समस्या निम्ताउन सक्छ ।’
राँगाको काँचो मासुमा जुका र ‘माइक्रोब्याटिरियल कन्टामिनेसन’ लगायत विभिन्न प्रकारका कीटाणु हुन्छन् । बानियाँ भन्छन्, ‘यो मासुलाई राम्ररी पकाएर खाइएन भने दीर्घकालीन रूपमा मिर्गौला र कलेजोसम्बन्धी समस्या निम्तिन सक्छ ।’
‘मासुलाई कसरी काट्ने, कसरी बिक्री लगायतको मापदण्ड विदेशमा मात्र होइन नेपालमा पनि छ । तर त्यो मापदण्ड पूरा भएको छ कि छैन भनेर अनुगमन गर्ने निकाय नहुँदा रोगी र कम गुणस्तरीय मासुले विभिन्न रोग निम्तिन सक्ने बानियाँ बताउँछन् ।
यसरी धेरै एन्टिबायोटिक प्रयोग भएको मासु खाने बित्तिकै त समस्या नदेखिएला तर कालान्तरमा दीर्घरोग बढ्न सक्छ । त्यसैले कुनै पनि जनावर मासु खान योग्य छ कि छैन भनेर भेटनरी डाक्टरले जाँच गरेर खान योग्य छ भनेर भनेपछि मात्र त्यसलाई बिक्री वितरण गर्नुपर्ने बानियाँ सुझाउँछन् ।
माछा कति खानयोग्य ?
स्वास्थ्यको दृष्टिकोणले प्रोटिन, ओमेगा थ्री हुने भएकाले माछा खानु राम्रो हुने बानियाँ बताउँछन् । ‘तर नेपालमा उत्पादन हुने माछाले बजारको माग धान्न नसक्ने भएकाले भारत तथा अन्य देशहरूबाट माछा आयात हुने गर्छ,’ उनी भन्छन्, ‘माछा आयात गर्न लामो समय लाग्ने भएकाले नबिग्रियोस् भन्नका लागि त्यसमा कीटनाशक र लामो समय नबिग्रियोस् भनेर संरक्षकको रूपमा फर्मालिन प्रयोग गरिन्छ ।’
नेपालमा ल्याएर पनि लामो समय बिक्रीमा राख्न फर्मालिनको प्रयोग गरिन्छ । यसरी मरेको माछालाई फर्मालिन प्रयोग लामो समय राखेको माछा खाँदा दीर्घकालीन रूपमा मिर्गौला र कलेजोलाई असर गर्न सक्ने बानियाँ बताउँछन् । त्यसैले बजारबाट माछा किनेर ल्याउँदा मरेको माछा भन्दा जिउँदो माछा ल्याउनु उचित हुने उनको सुझाव छ ।
के भन्छन् खाद्य अनुसन्धान अधिकृत ?
खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझीका अनुसार मासुबाट प्राप्त हुने प्रोटिन गेडागुडीबाट पाइनेमा भन्दा बढी बायोलोजिकल भ्यालु भएको हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । त्यसैले मासु खानु स्वास्थ्यका लागि राम्रो भएकाले यसको सेवन विश्वभर नै गरिने रायमाझी बताउँछन् ।
‘यस्तोमा नेपालमा पाइने मासु कति स्वस्थकर छ ? मासुको लागि प्रयोग हुने जनावर कति स्वस्थ छन् ? भन्ने कुराको अनुगमन गर्ने काम सम्बन्धित निकाय हो । तर जति अनुगमन हुनु पर्ने हो त्यति अनुगमन भएको छैन,’ रायमाझी भन्छन् ।
धेरै मात्रामा एन्टिबायोटिक प्रयोग भएको मासुले नै बजार भरिएको भन्ने कुरा सत्य नभएको उनी बताउँछन् । रायमाझी भन्छन् । ‘हामीले गरेको केही अनुगमन अनुसार धेरै व्यवसायीले मापदण्डमा रहेर नै काम गरेका छन् । तर नेपालमा मासुको लागि पशुपालन र मासु बिक्री घरघरमा हुन्छ । यस्तोमा केही व्यवसायीले नाफाको लागि धेरै हार्मोन दिएका पनि हुन सक्छन्,’
प्रतिक्रिया 4