
३ साउन, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताएका छन् । बुधबार बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले आफ्नै पालामा आयोजनाको शिलान्यास हुने बताएका हुन् ।
‘पहिले जस्तो देशभर के के आयोजनाको उद्घाटन र शिलन्यास भए तर काम केही भएन यो पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता यहाँका स्थानीयबासीको थियो’, उनले भने, ‘तर हिजो हामी सबै बसेर एउटा बैठक गर्यौ र यो आयोजना निर्माण कार्य अघि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगेपछि म यहाँ आयोजना बन्नेमा निर्धक्क भएर आएको छु ।’
आयोजना निर्माण कार्य यथाशीघ्र अघि बढाउने बताउँदै उनले शिलन्यासका लागि आफै आउने आश्वासन समेत दिए । प्रधानमन्त्रीले भने, ‘हुन त चौथो पटक प्रधानमन्त्री भएपछि शिलान्यास गर्न आउने हो कि भनेर पनि भन्नुभएको छ, तर यही पटक म शिलान्यास गर्न आउछु ।’
बुढीगण्डकी आयोजनाका लागि हालसम्म ४३ अर्व रकम खर्च भइसकेकाले अव आयोजना निर्माणमा ढिलाइ गर्न नहुने उनले बताए ।
गोरखाको गण्डकी गाउँपालिका सिउरेनीटारमा रहेको उक्त कार्यालयको उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य हितराज पाण्डे, राजनेन्द्र बजगाईंलगायत पनि सहभागी थिए ।
यसअघि बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण पुनर्वास तथा पुनस्र्थापना इकाइको कार्यालयलाई नै कम्पनीको फिल्ड कार्यालय बनाइएको हो । फिल्ड कार्यालय स्थापनापछि उक्त इकाइ कार्यालय भने खारेज भएको छ ।
प्रतिक्रिया 4