
३ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य राधा घलेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विरुद्धमा पार्टीभित्रकै नेताहरु लागेको आरोप लगाएकी छिन् ।
केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा घलेले आरोप लाग्ने वित्तिकै व्यक्ति दोषी हुन नसक्ने भन्दै खाँणको बचाउ गरेकी छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको आरोपमा खाँण यतिबेला थुनामा छन् ।
उनै खाँणको बचाउ गर्दै घलेले पार्टीको नेता पक्राउ पर्दा आफ्नै हाम्रै पार्टीका साथीहरु संवेदनशील नभएको बताइन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँण पक्राउ भएपछि कांग्रेसका केही युवा नेताले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । त्यो प्रशंग निकाल्दै उनले भनिन्, ‘गृहमन्त्रीलाई बधाई दिन जानु यो कति उपयुक्त हुन्छ । एउटा साथीलाई दुख पर्दा अर्को साथीले काँध हाल्न सक्दैनौं?’
एउटाले खाएको बाघले अर्कोलाई पनि खानसक्ने भन्दै पार्टी नेताहरु खाँणका विरुद्धमा नलाग्न सुझाव दिइन् । घलेले भनिन्, ‘आरोप लाग्ने वित्तिकै कोही पनि दोषी भइहाल्दैन । जबसम्म दोषी सावित हुन सक्दैन ।’
घलेले रुपान्तरणको अभियान लिएर हिंडेका पार्टीका नेताहरुले आफू बलियो बनाउन लागेको आशंका उनले गरिन् ।
‘रुपान्तरणको पक्षमा हामी पनि छौं । नेपाली कांग्रेसलाई बलियो बनाउनु भन्दा पनि व्यक्ति व्यक्ति बलियो बनाउन लाग्नुभएको हो कि ?’ रुपान्तरण अभियानका नेताहरुलाई उनको प्रश्न थियो ।
एउटै नाउमा सवार रहेकाले प्वाल पार्दा सबै डुब्न सक्ने तर्फ उनले सचेत बनाइन् ।
“]
प्रतिक्रिया 4