+
+

धरानमा एकै दिन भेटिए १०० भन्दा बढी डेंगु संक्रमित, बीपी प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त

तीन वर्ष अगाडिको भयावह अवस्था दोहोरिन सक्ने

विज्ञहरू अझै पनि सरकारले खोज र नष्ट अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताउँछन् । अव्यवस्थित शहरीकरण, घना बस्ती, संक्रमित लामखुट्टे र जोखिममा रहेको जनघनत्वकै कारण डेंगुको प्रकोप बढ्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० साउन ३ गते १९:२३

३ साउन, काठमाडौं । धरान उपमहानगरपालिकामा डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिरहेको छ । एक हप्ता अघिसम्म दैनिक १२-१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार गत तीन वर्ष अगाडिको दृश्य देखिन सुरु गरिसकेको छ ।

सन् २०१९ मा धरानमा डेंगुले महामारीकै रूप लिएको थियो । धरान उपमहानगरपालिकामा मात्रै अहिलेसम्म संक्रमित संख्या २ हजार नाघिसकेको छ ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मनसुन सुरु भएदेखि डेंगुका बिरामी आउने संख्या बढ्दो छ ।

‘हाल डेंगुकै बिरामीले आकस्मिक कक्ष भरिभराउ भएका छन् । बिरामीको चाप बढेपछि छुट्टै डेंगु क्लिनिकबाट सेवा दिइरहेका छौं’ पोखरेलले अनलाइनखबरसँग भने, ‘यो सुरुवाती दृश्यले डेंगु प्रकोपकै रूपमा फैलिन सक्ने आकलन गर्न सकिन्छ ।’

उनका अनुसार दैनिक परीक्षण गरिएको मध्ये ७५ प्रतिशतभन्दा बढीलाई डेंगु पुष्टि हुने गरेको छ ।  डेंगु संक्रमित बढेसँगै धरान उपमहानगरपालिका र प्रतिष्ठानको सहकार्यमा क्लिनिक सञ्चालनमा आएको हो ।

धरानमा हाल संक्रमणसँगै बिरामीको मृत्यु समेत हुन थालेको छ । डेंगु संक्रमणको कारण उपमहानगरपालिका वडा १७ की ३७ वर्षीया महिलाको मृत्यु भइसकेको छ । पोखरेलका अनुसार दैनिक डेंगुका ४०-५० जना आकस्मिक कक्षमा भर्ना हुने गरेका छन् ।

‘आकस्मिक कक्षको क्षमता १०० बेडको छ । तर, डेंगुका दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना हुँदा आकस्मिक कक्ष भरिभराउ हुने गरेको छ’ पोखरेलले भने, ‘बालबालिका, गर्भवती, ज्येष्ठ नागरिकसम्मलाई डेंगुको संक्रमण भइसकेको छ । धरानमा समुदायस्तरमा संक्रमण फैलिइसकेको छ ।’

अस्पतालको तथ्यांक अनुसार वैशाखदेखि १७४ जना डेंगुका बिरामीलाई वार्ड वा आईसीयूमा भर्ना गरेर उपचार गरिसकिएको छ । ‘बिरामी अस्पतालमा भर्ना हुने संख्या दिनप्रतिदिन दोब्बरको संख्यामा बढिरहेका छन् । केही दिनयता गम्भीर प्रकृतिका बिरामी बढ्दो छन् । जसलाई आईसीयूमा समेत राखेर उपचार गरिरहेका छौं’, पोखरेलले भने ।

‘अवस्था भयावह हुनसक्ने’

२९ असारदेखि प्रतिष्ठानले जीओपीडी भवन अगाडि सुरु गरेको डेंगु क्लिनिकमा बिहानदेखि नै शंकास्पद बिरामीको लाइन लाग्ने गरेको छ । डेंगु क्लिनिकमा आउने अधिकांश बिरामीलाई संक्रमण पुष्टि हुने गरेको डा. सिम्रन श्रेष्ठ बताउँछिन् ।

‘पछिल्ला दुई–तीन दिनयता डेंगु संक्रमितको केस ह्वात्तै बढेको छ । क्लिनिकमा आएका बिरामीले अन्य परिवारका सदस्यलाई पनि लक्षण देखिएको बताउने गरेका छन्’ डा. श्रेष्ठले भनिन्, ‘अहिले समुदायस्तरमा डेंगु फैलिइसकेको छ । केही हप्तामा संक्रमण व्यापक फैलिने संकेत गरेको छ ।’

उनका अनुसार अधिकांश मानिस घरमै सिटामोल खाएर आराम गरेर बस्ने गर्छन् । तर, गाह्रो बनाएपछि मात्रै अस्पतालमा आउने गरेका छन् ।

प्रतिष्ठानले बिहान ८ देखि बेलुका ६ बजेसम्म डेंगु क्लिनिकबाट सेवा दिइरहेको छ । डा. श्रेष्ठका अनुसार कतिपय मानिसमा डेंगुको लक्षण हुँदाहुँदै पनि परीक्षणमा संक्रमण पुष्टि नभए पनि डेंगुको लाइनमा उपचार भइरहेको छ ।

डा. सिम्रन श्रेष्ठले भनिन्, ‘अहिले समुदायस्तरमा डेंगु फैलिइसकेको छ । केही हप्तामा संक्रमण व्यापक फैलिने संकेत गरेको छ ।’

ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, वान्ता हुने तथा पेट दुख्ने लक्षण लिएर परीक्षणका लागि दैनिक २०० को हाराहारीमा आउने गरेको डा. श्रेष्ठले बताइन् ।

सामान्य लक्षण देखिएको तर जटिल अवस्था नभएका बिरामीहरूलाई सिटामोल र झोलिलो खाना खान सुझाव दिइएको उनी बताउँछिन् ।

‘आफैं खान सक्ने वा प्रेसर ठीक भएका बिरामीलाई लक्षण अनुसार औषधि दिएर पठाएका छौं । तर, जटिल खालका बिरामीलाई भने भर्ना गरेर उपचार गराइराखेका छौं’ डा. श्रेष्ठ भन्छिन्, ‘डेंगु संक्रमितलाई शारीरिक पीडा एकदमै धेरै हुन्छ । अहिले परिवार नै संक्रमित भएर अस्पताल आउने क्रम बढ्दो छ ।’

अहिलेको सुरुवाती दृश्यले नै आगामी दिनहरू निकै गाह्रो र जटिल हुनसक्ने डा. श्रेष्ठको अनुभव छ । धेरै बिरामी गाह्रो बनाएर जटिल अवस्थामा मात्रै आइपुग्छन्, जसलाई भर्ना गरेर राख्नुपर्ने अवस्था आएको उनी बताउँछिन् ।

‘अहिले डेंगुको सुरुवाती फेज हो । क्लिनिकमा आएका बिरामीसँग कुरा गर्दा संक्रमण घर-घरमा फैलिसकेको छ । बिरामीको केसहरू झन्-झन् बढिरहेकाले तीन वर्ष अगाडिको दृश्य दोहोरिने संकेत गरेको छ’, डा. श्रेष्ठ भन्छिन् ।

‘धरानमा पानी जम्मा गरेर राख्दा डेंगु बढी फैलियो’

गत वर्ष धरानमा फाट्ट-फुट्ट मात्रै डेंगु संक्रमण देखिएको थियो । तर, यो वर्ष भने प्रकोपको रूप लिइसकेको छ । धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार २० वटै वडामा संक्रमण फैलिएको छ ।

सन् २०१९ मा पनि धरानमा डेंगुले प्रकोपकै रूप लिएको थियो । त्यो समयमा सरकारी तथ्यांक अनुसार १८ हजार संक्रमित भएका थिए, ६ जनाको मृत्यु भएको थियो ।

‘अहिलेको अवस्थालाई हेर्दा डेंगुले प्रकोपकै रूप लिइसकेको छ । वडा नं. १७, १५ र ११ मा बढी फैलिएको छ’ मेहताले अनलाइनखबरसँग भने, ‘अबका दिन हाम्रो लागि चुनौतीपूर्ण हुने देखिन्छ । अघिल्ला वर्षमा संक्रमित भएका भन्दा बढी संक्रमित हुने निश्चित छ ।’

बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिन्छ । अहिले धरानमा डेंगु फैलिनुको प्रमुख कारण भाडाकुँडा, ड्रम, ट्यांकीमा पानी नछोपी राख्दा हो ।

‘धरानमा पानी दैनिक रूपमा नआउने भएकाले ट्यांकी, ड्रम, बाटा, बाल्टिनमा राख्नुपर्ने बाध्यता छ । तर, मानिसले पानीलाई माथिबाट राम्ररी नछोप्दा लामखुट्टेले फुल पारिरहेको हुन्छ’ मेहता भन्छन्, ‘अहिले लामखुट्टे घर–घरमा छिरेको छ । त्यसकारण लामखुट्टेले फुल पार्न सक्ने सम्भावित पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडाहरू खोजी–खोजी सफा गर्नुपर्छ ।’ त्यस्तैगरी, धरानमा डेंगु फैलिनुको अर्को कारण अव्यवस्थित रहेका सुँगुरको खोर पनि हो ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि धरानमा भइरहेको डेंगुको संक्रमणको गतिले आगामी दिनमा भयावह अवस्था आउने जोखिम रहेको बताउँछन् । डा. पुनका अनुसार गत वर्ष काठमाडौं उपत्यकामा देखिए जस्तो प्रकोप यो वर्ष धरानमा देखिन सक्ने सम्भावना उच्च छ ।

‘धरानमा पानी दैनिक रूपमा नआउने भएकाले ट्यांकी, ड्रम, बाटा, बाल्टिनमा राख्नुपर्ने बाध्यता छ । तर, मानिसले पानीलाई माथिबाट राम्ररी नछोप्दा लामखुट्टेले फुल पारिरहेको हुन्छ’ मेहता भन्छन्, ‘अहिले लामखुट्टे घर–घरमा छिरेको छ । त्यसकारण लामखुट्टेले फुल पार्न सक्ने सम्भावित पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडाहरू खोजी–खोजी सफा गर्नुपर्छ ।’ त्यस्तैगरी, धरानमा डेंगु फैलिनुको अर्को कारण अव्यवस्थित रहेका सुँगुरको खोर पनि हो ।

‘सन् २०१९ मा धरानबाट फैलिएको संक्रमण काठमाडौंसम्म पुगेको थियो । काठमाडौंमा गएको वर्षमा डेंगुको ठूलै प्रकोप देखियो’ डा. पुन भन्छन्, ‘डेंगु प्रकोपको ट्रेण्डलाई हेर्दा दुई-तीन वर्षमा प्रकोपको रूप लिने गरेको छ । यो वर्ष प्रकोप नहोला भन्न सकिंदैन ।’

चिकित्सकका अनुसार डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउँछ । तर, ज्वरो घटेर गएको बेला २४ देखि ४८ घन्टाको समयमा भने क्रिटिकल फेजमा रहन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट अत्यधिक रक्तसाव र केहीमा रक्तचाप घटेर सकमा जाने सम्भावना हुन्छ ।

डा. श्रेष्ठका अनुसार डेंगुका बिरामी अधिकांशलाई घरमै बसेर आराम गरेमा सञ्चो हुन्छ । तर, जटिल लक्षण देखिएको अवस्थामा तुरून्तै अस्पताल जानुपर्छ र संक्रमितलाई भर्ना गरेर उपचार गर्न जरूरी हुन्छ ।

चिकित्सकका अनुसार डेंगु संक्रमित व्यक्तिलाई श्वासप्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोश हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने हुन्छ ।

६८ जिल्लामा फैलियो डेंगु, खोज तथा नष्ट अभियान अझै प्रभावकारी भएन 

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार डेंगुको संक्रमण ६८ जिल्लामा फैलिएको छ । सरकारी अस्पताल पुगेका बिरामीको संख्या मात्र हेर्दा पनि पुसयता २ हजार ९३० जनालाई डेंगु भएको छ । जसमध्ये सुनसरीमा मात्रै १ हजार ५७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी, धादिङमा २५६, दार्चुलामा १८८, कास्कीमा १४९, सखुंवासभामा ५८, काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना डेंगुका बिरामी भेटिएका छन् ।

यस्तै यस वर्ष भने कोशी प्रदेशमा सबैभन्दा बढी डेंगुका संक्रमित भेटिएका छन् । कोशी प्रदेशमा १ हजार ७४६, बागमती प्रदेशमा ४६८, सुदूरपश्चिम प्रदेशमा २७९, गण्डकी प्रदेशमा २६९, लुम्बिनी प्रदेशमा १३४, कर्णाली प्रदेशमा १८ र मधेश प्रदेशमा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

तर, प्रत्येक वर्षजसो डेंगुले प्रकोपकै रूप लिइरहँदा पनि सरकारले रोकथाम तथा नियन्त्रणका लागि ठोस कदम चाल्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीका अनुसार सरकारले दीर्घकालीन रणनीतिक योजना बनाउन नसक्दा प्रत्येक वर्ष प्रकोपको सामना गरिराख्नुपरेको छ ।

गत वर्ष सरकारी निकायबीच समन्वयको कमी, खोज तथा नष्ट अभियान प्रभावकारी नहुँदा, विगतको तथ्यांकको विश्लेषण नगरिंदा तथा स्वास्थ्य मन्त्रालयको कमजोर नेतृत्वको कारण काठमाडौं लगायत जिल्लामा डेंगुले महामारीकै रूप लिएको छ ।

गत वर्ष सरकारी तथ्यांकमा ५४ हजारभन्दा बढी संक्रमित र १०० भन्दा बढीले ज्यान गुमाएका थिए । तर, विज्ञको अनुमानमा २ लाखभन्दा बढी डेंगु संक्रमित भएका छन् ।

गत वर्ष सरकारी निकायबीच समन्वयको कमी, खोज तथा नष्ट अभियान प्रभावकारी नहुँदा, विगतको तथ्यांकको विश्लेषण नगरिंदा तथा स्वास्थ्य मन्त्रालयको कमजोर नेतृत्वको कारण काठमाडौं लगायत जिल्लामा डेंगुले महामारीकै रूप लिएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी डेंगु नियन्त्रणका कार्ययोजना अनुसार काम भइरहेको दाबी गर्छन् । डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाई ७७ वटै जिल्लामा कार्यान्वयनको लागि निर्देशन दिइसकेको उनको भनाइ छ ।

‘अघिल्लो वर्षमा सरकारी निकायबीच समन्वय नहुँदा डेंगु फैलियो । तर, यस वर्षदेखि हामीले संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट बनाएर काम गर्न निर्देशन दिएका छौं । बढी जोखिम भएका ठाउँमा विभिन्न कार्यक्रम गरिसकेका छौं’, डा. मरासिनीले भने ।

त्यसैगरी, सबै स्थानीय तहलाई ‘खोज तथा नष्ट अभियान’, स्वास्थ्यकर्मीलाई तालिम, अस्पताल तथा रेडक्रसलाई तयारी अवस्थामा रहन निर्देशन भइसकेको उनको भनाइ छ ।

विज्ञहरू अझै पनि सरकारले खोज र नष्ट अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताउँछन् । अव्यवस्थित शहरीकरण, घना बस्ती, संक्रमित लामखुट्टे र जोखिममा रहेको जनघनत्वकै कारण डेंगुको प्रकोप बढ्छ ।

डा. पुन खोज तथा नष्ट अभियानलाई केन्द्र सरकारले पूर्ण रूपमा स्थानीय सरकारको साथ लिएर व्यापक रूपमा सञ्चालन गर्न कमजोरी गरेको बताउँछन् ।

‘विगतका वर्षमा भएका क्षतिमा सरकारको अझै ध्यान जान सकेको छैन । खोज तथा नष्ट अभियान बारेमा अझै जनसमुदायलाई सम्झाउन सकिएको छैन’ डा. पुनले भने, ‘जबसम्म लामखुट्टेले फुल पार्ने वातावरण बनाइदिइरहन्छौं डेंगुको प्रकोप रहिरहन्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?