
४ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० सार्वजनिक गरेको छ । आन्तरिक मूल्याङ्कनका आधारहरु वैज्ञानिक बनाउन मापदण्ड तयार गरिएको केन्द्रले जनाएको छ ।
नयाँ पाठ्यक्रम लागू भएसँगै विद्यालयले मूल्याङ्कन गरेको आधारमा २५ प्रतिशत अंक पठाउने र विद्यार्थीले दिएको बाह्य परीक्षाको आधारमा ७५ प्रतिशत मूल्याङ्कन हुने व्यवस्था थियो । तर विद्यालयले विद्यार्थीको दैनिक गतिविधि मूल्याङ्कन गर्नेभन्दा पनि आफूखुसी नम्बर दिने गरेको पाइएपछि विद्यार्थीको सक्रियता, सहभागिता र प्रस्तुतीलाई मूल्याङ्कन गर्नका लागि मापदण्ड तयार पारिएको केन्द्रले जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी डा.बाबुराम ढुंगानाले भने, ‘विद्यालयले आन्तरिक मूल्याङ्कन विद्यार्थीको मुख हेरेर दिने गरेको थियो तर अब त्यो गर्न पाइँदैन । शुरु पाठदेखि नै ब्रेक डाउन बनाइएको छ । विद्यार्थीको क्रियाकलापमा आधारित भएर अंक दिनुपर्ने भनेर मापदण्ड तयार पारिएको हो ।’ यसरी मूल्याङ्न हुँदा कोही पनि मर्कामा नपर्ने उनको भनाइ छ ।
नयाँ पाठ्यक्रम लागू भएसँगै अब कक्षा १० को गणित विषयमा पनि आन्तरिक मूल्याङ्कन हुनेछ ।
केन्द्रले सार्वजनिक गरेको आधारभूत तह (कक्षा ४–८) र तथा माध्यमिक तह (कक्षा ९–१२) को मापदण्ड अनुसार आन्तरिक मूल्याङ्कनको २५ प्रतिशत अंक भार हुनेछ । प्रत्येक विद्यार्थीको कार्यसञ्चयिकालाई अद्यावधिक गरी व्यवस्थापन गर्नुपर्नेछ । मापदण्डले तोकिए अनुसार भारको अङ्क आन्तरिक मूल्याङ्कनका रुपमा समावेश गरिनुपर्ने उल्लेख गरेको छ ।
तीन क्षेत्र अनुसार अंकभार
मापदण्डले मूल्याङ्कनका तीन क्षेत्र अनुसार अंकभार निश्चित गरेको छ । उपस्थिति र कक्षा सहभागिता (उपस्थिति र सिकाइमा सक्रियता र सहभागी)को लागि ३ अंक तोकिएको छ ।
यसैगरी प्रयोगात्मक/परियोजना कार्य, सिर्जनात्मक कार्य र प्रस्तुति (सुनाइ, बोलाइ र पढाइ भाषिक सिपको मूल्याङ्कन) मा १२ अंक तोकिएको छ ।
सिर्जनात्मक र परियोजना कार्यको मूल्याङ्कनमा ४ अंक गरी १९ नम्बर र त्रैमासिक परीक्षामा ६ अंक गरी जम्मा २५ अंकभार आन्तरिक मूल्याङ्कनको हुने छ । यी तीन क्षेत्रभित्र पनि मूल्याङ्कन विभिन्न सूचकहरु तोकिएका छन् सूचक अनुसार अंकभार तोकिएको छ । त्रैमासिक परीक्षा लिँदा शुरु इकाइदेखि पठनपाठन भएका इकाइसम्मका सबैबाट विशिष्टीकरण तालिकाका आधारमा प्रश्न सोध्नुपर्ने छ ।
यसले विद्यार्थीको नतिजामा धेरै ठूलो परिवर्तन ल्याउने केन्द्रका निर्देशक तथा सूचना अधिकारी ढुंगानाको दाबी छ । अब विद्यार्थी, अभिभावक हरेक महिना हुने मूल्याङ्कनबारे जानकार हुने भएकाले नतिजा सुधार गर्ने उनको जिकिर छ । ‘शुरुदेखि नै विद्यार्थीको क्रियाकलापमा आधारित भएर मूल्याङ्कन गर्दा विद्यार्थीले पनि उसको २३ आयो किन मेरो १५ मात्रै आयो भनेर थाहा पाउँछन्, अभिभावकले पनि थाहा पाउँछन्,’ उनी भन्छन्, ‘शिक्षकले सधारको लागि सुझाव दिन सहज हुन्छ ।’
परिवर्तित पाठ्यक्रम अनुसार मूल्याङ्कनले सिकाइका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न सिकाइमा थप सुधारका लागि मार्ग प्रशस्त गर्न सक्ने व्यवस्था गरेको र त्यस अनुसार विद्यार्थीको नियमित सिकाइबाट हुने उपलब्धिलाई व्यवस्थित गर्नु, वस्तुनिष्ठ बनाउनु, वैज्ञानिक तथा भरपर्दो बनाउनु लगायतको उद्देश्यले मापदण्ड तयार गरिएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया 4