
४ साउन, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्समा एकै पटक ३० जना एयरहोस्टेसको माग भएको छ ।
नेपाल एयरलाइन्सले पाचौं तहमा विमान परिचारिका (एयरहोस्टेस) पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
निगमले २०८० साल जेठ मसान्तसम्म रिक्त रहेका दरवन्दीमा यो संख्यामा एयरहोस्टेस भर्ना गर्न लागेको बताएको छ । करार सेवामा भर्ना हुने उम्मेदवारको योग्यता न्यूनतम १२ कक्षा वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने उल्लेख छ ।
१८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने शर्त तोकिएको छ । उचाइ कम्तीमा ५ फिट २ इन्च हुनुपर्ने गरी तोकिएको छ ।
युनिफर्म लगाउँदा ट्याटु देखिन नहुने
एयरहोस्टेसले निगमले तोकेको यूनिफर्म लगाउँदा ट्याटु देखिन नहुने समेत शर्तमा तोकिएको छ । अशक्तता/अपांगता नभएका उम्मेदवारले मात्र यस पदमा प्रतिपर्धा गर्न पाउने नेपाल एयरलाइन्सको सूचनामा उल्लेख छ ।
व्यक्तित्व परीक्षण, लिखित परीक्षा, शारीरिक र स्वास्थ्य परीक्षण र अन्तर्वार्ताका माध्यमबाट उनीहरुलाई छनोट गरिने भएको छ ।
परीक्षा दस्तुर १ हजार रुपैयाँ तोकिएको छ । दरखास्त दिने मिति १४ साउन र दोब्बर दस्तुर तिरेर २१ साउनसम्म दिन सकिने गरी तोकिएको छ ।
प्राधिकरणबाट इजाजत पाएपछि ५ वर्ष सेवा गर्न पाउने
निगममा एयरहोस्टेस बन्ने करारका विमान परिचारिकाको सेवा अवधि ५ वर्षको हुन्छ । नियुक्ति प्रक्रिया पुरा गरी अन्तिम सिफारिस भएका प्रशिक्षार्थी विमान परिचारिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट क्रु मेम्बर प्रमाणपत्र प्राप्त गर्नुपर्छ ।
त्यसपछि मात्र उनीहरुसँग ५ वर्षको करार सम्झौता हुन्छ । इजाजत नपाउने परिचारिकाले भने नियुक्ति पाउने छैनन् ।
प्रतिक्रिया 4