+
+

राष्ट्रिय किताबखानामा मन्त्री मोदीको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १५:४८

४ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् ।

बिहीबार बिहान १० बजे किताबखाना पुगेका मोदीले कर्मचारीको हाजिरी, कार्यकक्षमा भए नभएको लगायतका विषयमा चासो राखेका थिए ।

मन्त्री मोदीले सेवाग्राहीसँग पनि किताबखानाको सेवा प्रवाहबारे जानकारी लिएका थिए । सेवाग्राहीसँग मन्त्री मोदीको जिज्ञासा थियो, ‘कर्मचारीबाट सेवा लिने क्रममा तपाईहरुसँग कस्तो व्यवहार भएको छ र प्राप्त सेवाबाट सन्तुष्ट हुनुहुन्छ ?’ सबै कार्यालय कक्षको अवलोकनपश्चात मन्त्री मोदीले किताबखानालाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए ।

‘म यहाँ आजसमेत गरी दुईपटक आकस्मिक अनुगमनमा आए, तपाईहरुले मलाई के गर्दा किताबखानाको सेवा प्रवाह अझ व्यवस्थित र सुदृढ हुन्छ सुझाव दिनुहोला, मन्त्रालय तपाईहरुलाई सहयोग गर्न तयार छ’, मन्त्री मोदीले भने ।

अनुगमनका क्रममा आफूले खोज्दा नभेटिएका कर्मचारीहरुको हाजिरीमा आफूले कैफियत जनाउने गरेको बताउँदै मन्त्री मोदीले भने, ‘अनुगमनको क्रममा कार्यकक्षमा नभेटिएपछि केही न केही कारबाही त गर्नु नै पर्छ, मैले कैफियत जनाउने गरेको छु ।’

उनले आफ्नो लागि सबै दर्जाका कर्मचारी समान भएकाले साना कर्मचारीलाई पाखा र ठूलालाई काखा राख्ने काम आफूबाट नहुने समेत प्रष्ट पारे ।

मन्त्री मोदीले आफूले सुशासन कायम गर्नका लागि कुनै कसर बाँकी नराख्ने समेत बताए । ‘सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ’ उनले भने, ‘त्यसका लागि तपाई हामी सबैका व्यवहारमा सेवाग्राहीले अनूभुति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।’

उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ-हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताबखानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?