+
+

छात्रवृत्तिका लागि काठमाडौं महानगरमा १ हजार बढीको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १९:५२

४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकामा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ । काठमाडौँ महानगरपालिकाले २८ असारको बिहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गतेको कार्यालय समयसम्म १ हजार ८३ जनाले आवेदन दिएका हुन् ।

यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना रहेका महानगरपालिकाले जनाएको छ ।

व्यवस्थापन विषयका लागि २३९ जनाले आवेदन दिएका छन् । यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ ।

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको महानगरको शिक्षा विभागले जनाएको छ ।

कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने महानगरको आकलन छ ।

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले विद्यालयहरुबाट चारित्रिक प्रमाण पत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि अब चारित्रिक प्रमाण पत्र बिना पनि आवेदन दिन सकिने व्यवस्था गरिएको कोइरालाले बताए । विद्यार्थीहरुले साउन १२ गते १२ बजेसम्म आवेदन दर्ता गराउन सक्नेछन् ।

न्यूनतम जीपीए १.६ हुनुपर्ने

छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनु पर्नेछ । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नुपर्ने महानगरपालिकाले व्यवस्था गरेको छ । संस्थागत (निजी) विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन सिफारिस गर्नुपर्छ ।

महानगरपालिकाले छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौं महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

बाँकी रहेको ४५ प्रतिशत सिटलाई सय प्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिवासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

उनका अनुसार दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ ।

पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?