
४ असार, काठमाडौं । राजश्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलको सहयोगमा बिहीबार बेलुकी लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको एक फ्ल्याटमा छापा मारेको छ ।
यो फ्ल्याटमा तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ बस्दै आएका थिए । विभागले छिरिङलाई बुधबार नै पक्राउ गरेको थियो ।
विभागका अधिकारीहरुका अनुसार, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र राखेर ल्याइएको सुन भारतर्फ लैजान लागिएको थियो । त्यसमा उनको संलग्नता रहेको हुनसक्ने आशंका छ ।
बिहीबार राति उनको फ्ल्याटमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरिएको विभाग स्रोतले अनलाइनखबरसँग बताएको छ । यसअघि बालुवाटारस्थित एक घरमा चिनियाँ तस्करले सुन राख्ने गोदाममा पनि विभागले छापा मारेको थियो । त्यसक्रममा ५/६ वटा पोका फेला परेको छ । ती सामग्री र कोठालाई विभागले शिल गरेर थप अनुसन्धान गरिरहेको छ ।
मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १ क्वीन्टल सुन बरामद गरेको थियो । प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । बिहीबार थप तीन जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ९ पुगेको छ ।
प्रतिक्रिया 4