
दृष्टान्त–१
ऋणको भारीले थिचिंदै गएपछि दाङ बबई–७ की ३२ वर्षीया लुम्बिनी–१ (परिवर्तित नाम) विदेशिने सोचमा पुगिन् । उनलाई यो सोच बनाउन गाउँकै मामा नाता पर्ने जीतबहादुर थापाले सघाए । भारत ओहोर–दोहोर गरिरहने थापाले लुम्बिनी–१ लाई फ्रि भिसा, फ्रि टिकटमा विदेश जान पाइने र कमाइ पनि राम्रो हुने भनेर लोभ्याए ।
भने जस्तै सहयोग पनि गरे थापाले । पासपोर्ट बनाउँदा र विदेश जान लाग्ने सबै खर्च उनैले व्यहोरे । घरेलु कामदारमा मासिक ६० हजारसम्म कमाइ हुन्छ भनेपछि मामा नाता पर्ने थापाको विश्वासमा विदेश उड्न तयार भइन्, लुम्बिनी–१ ।
जीतबहादुरले उनलाई रामेछापका रमेश पाण्डे भन्ने अर्का एजेन्टसँग भेट गराए । पाण्डेले उनलाई नेपालगञ्ज नाकाहुँदै भारत पुर्याए । त्यसपछि दिल्ली हुँदै २०७७ चैतमा लुम्बिनी–१ कुवेत पुगिन् । केही दिन एउटा कोठामा राखेर लुम्बिनी–१ लाई स्थानीयको घरमा काम गर्न पठाइयो ।
पुगेकै दिनदेखि उनका कहाली लाग्दा क्षण सुरु भए । बिहान ७ बजेदेखि राति २ बजेसम्म गर्दा पनि नसकिने काम थियो घरमा । दैनिक १८ घण्टा काम गर्दा पनि मालिक खुसी हुँदैनथे । केही दिनपछि त स–सानो बहानामा नै कुट्न, पिट्न थाले ।
‘सुरुमा भाषा नबुझेर के गरौं, कसो गरौं हुन्थ्यो । एक थोक भनेको मैले अर्कोथोक बुझ्दा कुट्ने, पिट्ने गर्थे’ लुम्बिनी–१ ले भनिन्, ‘विस्तारै यातनाले शरीरभरि नीलडाम र घाउ नै घाउ हुन थाल्यो ।’
अरबीको छोरा बेला बखत नराम्रो व्यवहार गथ्र्यो । हुँदाहुँदा एकदिन घरमा कोही नभएको मौका छोपेर उसले जबरजस्ती गर्यो । ‘यस्तो काम तीन महिनासम्म चल्यो’ लुम्बिनी–१ ले भनिन्, ‘त्यसपछि मैले घर पठाइदेऊ भनेर रोइ–कराइ गर्न थालें । तर, उनीहरूले मानेनन्, उल्टो मारेर फालिदिन्छु भनेर मलाई धम्काए ।’
लुम्बिनी–१ भन्छिन्, मेरो मोबाइल खोसेर राखेका थिए । एकदिन धेरै रोइकराइ गरेपछि दिए । त्यसपछि नेपालमा माइतमा फोन गरेर उद्धार गर्न भनें । परिवारको पहलमा २०७८ मंसिरमा म स्वदेश फर्कन पाएँ ।’ उनी भन्छिन्, ‘त्यो नर्कबाट म बाँचेर फर्किन्छु भन्ने लागेकै थिएन । परिवारले मलाई बचाएर फर्कायो, मैले दोस्रो जीवन पाएँ ।’
दृष्टान्त–२
दाङ, घोराहीकै ३५ वर्षीया लुम्बिनी–२ (परिवर्तित नाम) पनि जेठाजु नाता पर्ने भीमबहादुर विकको भर परेर विदेश जान तयार भइन् । स्थानीय एजेन्टको रूपमा वैदेशिक रोजगारीमा पठाउने काम गरिरहेका विकले फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने र महिनाको ५० हजार रुपैयाँ कमाइ हुने लोभ देखाए ।

विकले पासपोर्ट पनि आफ्नै खर्चमा बनाइदिए । जेठाजुको विश्वासमा परेर उनी २०७८ माघ दोस्रो साता घरबाट हिंडिन् । भीमबहादुरले प्रेम सुनार भन्ने अर्का एजेन्टसँग लुम्बिनी–२ को भेट गराए । सुनारले नै उनलाई नेपालगञ्ज नाकाहुँदै भारत पुर्याए । विदेशमा काम गर्ने र पैसा कमाउने लोभमा निस्किएकी लुम्बिनी–२ लाई कहाँ जाँदैछु भन्नेसम्म पनि राम्ररी थाहा थिएन ।
‘१७ दिन म सहित २० नेपाली महिलालाई भारतमा एउटा कोठामा राखियो’ उनले भनिन्, ‘त्यसपछि भिजिट भिसामा हामीलाई दुबई लगियो ।’ सुरुमा ओमन जाने भनेका एजेन्टले दुबईबाटै उनीहरूलाई कुवेत पुर्याएका थिए । कुवेतमा घरेलु कामदारका रूपमा उनलाई स्थानीयको घरमा पठाइयो ।
‘घर मालिकले पहिलो दिनदेखि नै मलाई बन्धक बनाएर राखे । दुई महिना बित्दा पनि परिवारसँग सम्पर्क गर्न दिएनन्’ लुम्बिनी–२ ले भनिन्, ‘१६ घण्टासम्म काम गर्दा पनि सकिंदैनथ्यो ।’ उनमाथि पनि विस्तारै कुटपिट र नराम्रो व्यवहार हुनथाल्यो । छोटो समयमै उनलाई थाहा भयो, ‘यहाँ बसेर काम गर्न सकिंदैन ।’
एकदिन उनले आफूलाई घर फर्काइदिन भनेर झगडा गरिन् । रिसाएका मालिकले उनलाई पाँच लाख (नेपाली रुपैयाँ) मा किनेको र त्यति पैसा दिए मात्र घर जान दिने बताए । अनि उनी छाँगाबाट खसे जस्तै भइन् ।
‘अनि मात्रै मैले आफू बेचिएको थाहाँ पाएँ’ लुम्बिनी–२ ले भनिन्, ‘अब मात्रै मलाई थाहा भयो जेठाजु विक र एजेन्ट सुनारले विना श्रमस्वीकृति अवैध रूपमा मलाई त्यहाँ पुर्याएका रहेछन् ।’ विस्तारै उनले लुकीछिपी इमो (सामाजिक सञ्जाल) बाट परिवारलाई सम्पर्क गरिन् र आफूलाई उद्धार गर्न भनिन् । नेपालबाट परिवारको जोडबलले झण्डै दुई महिनापछि उनको उद्धार भयो ।
दृष्टान्त–३
लुम्बिनी–३ (परिवर्तित नाम) को व्यथा पनि उस्तै छ । भारतमा मजदुरी गरिरहेका श्रीमानको कमाइले मात्रै नपुग्ने भएर उनी छट्पटाउँदै बसिरहेकी थिइन् । यस्तैमा एक जना आफन्तले दाङकै एजेन्ट किसन विकसँग भेट गराइदिइन् । विक गौरीशंकर ओभरसिज नामक म्यानपावर कम्पनीको एजेन्टका रूपमा कामदार विदेश पठाउने काम गर्दै आएका थिए ।
एजेन्ट विकले उनलाई पनि उही भाषा दोहोर्याए । फ्रि भिसा, फ्रि टिकट छ, विदेश जान पैसा लाग्दैन । घरेलु काममा जाने हो, घरमा गरे जस्तै काम हो, दुःख हुन्न । आरामले महिनाको ४५ हजार कमाइ हुन्छ भनेपछि अरू केही सोच्ने कुरा पनि आएन । लुम्बिनी–३ ले भनिन्, ‘उसैको भर परेर हुन्छ भनें ।’
नभन्दै किसनले पासपोर्ट बनाइदिनेदेखि हवाई टिकटसम्मको खर्च आफैं व्यहोरे । १८ असार २०७९ मा हातमा भिजिट भिसा थमाइदिंदै किसनले सिकाए, ‘एअरपोर्टमा श्रीमानलाई भेट्न दुबई जान लागेको भन्नु, दुबईमा तिमीलाई लिन एक जना मान्छे आउँछ, उसैसँग जानु ।’
उनले किसनले सिकाए झैं गरिन् र त्रिभुवन विमानस्थलहुँदै दुबईका लागि उडिन् । दुबईमा लुम्बिनी–३ लाई केही दिन एउटा घरमा राखेर घरेलु कामदारका रूपमा कुवेत पठाइयो ।
कुवेतमा एक स्थानीयको घरमा उनी दैनिक १६ घण्टा बढी काम गर्थिन् । पहिले, पहिले दुई छाक खान पाउने उनले विस्तारै एक छाक मात्र खान पाउन थालिन् । कुटपिट हुन थाल्यो र हुँदाहुँदा शारीरिक शोषण पनि । नेपालमा आफ्नो परिवारसँग सम्पर्क गर्न नदिने, शारीरिक र मानसिक यातना मात्रै दिने घर मालिकको व्यवहारले उनी बिरामी परिन् ।
‘बिरामी भए पनि आराम नपाइने । मैले त्यहाँ जिउँदै नर्क देखें’ लुम्बिनी–३ भन्छिन्, ‘डिप्रेसनको शिकार भएपछि मैले रोइकराइ गरेर घर पठाइदेऊ भनें तर मालिकले मानेन ।’ त्यहाँ जसोतसो चार महिना बिताएपछि एक दिन उनी भागेर नेपाली दूतावास पुगिन् । परिवारसँग सम्पर्कमा आएपछि २०८० जेठमा घर फर्कन पाइन् ।
दृष्टान्त–४
स्थानीय किसन भनिने दलालबाट खाडीमा बेचिएकी अर्की महिला हुन्, दाङ दंगीशरणकी लुम्बिनी–४ (परिवर्तित नाम) । घरगृहस्थी चलाउन मुश्किल हुँदै गएपछि के गर्ने भनेर छट्पटाइरहेकी थिइन्, उनी । यहीबेला फुपूकी छोरी दिदी नाता पर्ने सुशीला लामिछानेले घरेलु कामदारका लागि कुवेत जान भनिन् । एकपटक वैदेशिक रोजगारीमा गएर फर्किएकी सुशीलाले नै घरेलु कामदारमा राम्रो कमाइ हुने भनेर लुम्बिनी–४ लाई किसनसँग भेट गराइदिइन् ।
किसनले उनलाई काठमाडौंबाट भिजिट भिसामा कुवेत पठाए । ‘श्रीमानलाई भेट्न जान लागेको भन्न लगाएर मलाई काठमाडौंबाट कुवेत उडाइयो’ उनले भनिन्, ‘त्यहाँ मलाई एउटा घरमा केही दिन राखेर अर्को स्थानीयको घरमा पठाइयो ।’
उनका भनाइमा, उनलाई पोखराकी एक महिलाले अढाइ लाख रुपैयाँ लिएर ती अरबी महिलाको घरमा पठाएकी थिइन् । ‘त्यसपछि मैले आफूलाई घरेलु कामदारमा बेचिएको थाहा पाएँ’ उनले भनिन्, ‘हामी जस्तै थुप्रै महिलालाई त्यहाँ लगेर बेचिंदोरहेछ ।’
उनले खुबै दुःख पाइन् । ‘बिहानै ६ बजे उठेर राति २ बजेसम्म काम गर्नुपर्ने’ उनले भनिन्, ‘कहिले त सुत्नै नपाई २२ घण्टासम्म पनि काम गर्नुपथ्र्यो ।’ भाषामा समस्या थियो, गाली गर्थे, कहिलकाहीं कुटपिट पनि गर्न थाले । उनी लामो समय बिरामी परिन् ।
‘बिरामी हुँदा पनि परिवारसँग कुरा गर्न दिएनन्’ लुम्बिनी–४ ले भनिन् ‘त्यहाँ मैले ७ महिना काम गरेको पैसा पनि पाइनँ ।’ पछि एजेन्टसँग हारगुहार गरेपछि दुई महिनाको पैसा बुझेर उनी २०८० जेठमा घर फर्किइन् ।
दृष्टान्त–५
दाङ देउखुरीकी २६ वर्षीया लुम्बिनी–५ (परिवर्तित नाम) को व्यथा झन् कहालीलाग्दो छ । श्रीमानलाई प्रेसरले हानेपछि उपचार गर्दा १५ लाख रुपैयाँ ऋण लाग्यो । तर पनि श्रीमानलाई बचाउन सकिनन् । त्यसपछि कलिला दुई सन्तान हुर्काउने र श्रीमानको उपचार गर्दा लागेको ऋण तिर्ने जिम्मेवारी उनको काँधमा आयो ।
मजदुरी गरेर परिवार चलाइरहेकी लुम्बिनी–५ लाई एक दिन प्युठानका भाञ्जा नाता (नाम खुलाउन नचाहेको) पर्नेले विदेश जानु माइजु भनेर फकाए । ‘ऋण नै ऋणले थिचिएकी थिएँ’ उनले भनिन्, ‘भाञ्जाले नै राम्रो कमाइ हुन्छ भनेपछि जान्छु न त भनें ।’
भाञ्जाले उनलाई काठमाडौं पुर्याएर नवीन र माया भनिने एजेन्टहरूसँग भेट गराए । माया भन्ने ती महिलाले नै उनको पासपोर्टदेखि विदेश जाने चाँजोपाँजो सबै मिलाइदिइन् । सामान्य लेखपढ गर्न मात्र जानेकी लुम्बिनी–५ लाई आफू विदेश जाँदैछु भन्ने बाहेक कहाँ र कसरी जाँदैछु भनेर केही थाहा थिएन ।
उनको यो अज्ञानताको फाइदा उठाउँदै एजेन्टले उनलाई घरेलु कामदारका रूपमा भिजिट भिसामा काठमाडौंबाट कुवेत पुर्याए । अहिले पनि उनी कुवेतमा दुःख झेलिरहेकी छिन् । लुम्बिनी–५ भन्छिन्, ‘भाञ्जाको विश्वासमा पर्दा आज परदेशमा दुःख पाइरहेकी छु । मेरो उद्धारमा सहयोग गरिदिन सबैमा अनुरोध गर्दछु ।’
दृष्टान्त–६
श्रीमानले दोस्रो विवाह गरेपछि एकल जीवन विताइरहेकी बाँके कोहलपुरकी लुम्बिनी–६ (परिवर्तित नाम) लाई दुई छोरा र एक छोरी हुर्काउन मुश्किल परिरहेको थियो । उनको यो अवस्था बारे जानकार गाउँकै दाइ नाता पर्ने मनोज कार्कीले विदेश गएर पैसा कमाउन सल्लाह दिए ।
पासपोर्ट, भिसा र टिकटमा कुनै खर्च नहुने भनेर उनले लुम्बिनी–६ लाई काठमाडौं पुर्याएर सन्तबहादुर तामाङ नामका एजेन्टसँग भेट गराइदिए । सन्तबहादुरले नै उनको भिसा बनाइदिनेदेखि काठमाडौंमा खान–बस्न लाग्ने खर्च तिरिदिए ।
एजेन्ट तामाङले उनलाई सुरुमा काठमाडौंको एयरपोर्टबाट कुवेत उडाउँछु भनेका थिए । तर, पछि काठमाडौंबाट ढिलो हुनेभयो भनेर नेपालगञ्ज लगे । तामाङले उनलाई भारत घुम्न जान लागेको भन्न सिकाएर नेपालगञ्जको जमुनाह नाका पार गराए । उनलाई भारतको मुम्बईमा दुई हप्ता राखेर दुबईहुँदै २०७७ भदौमा कुवेत पुर्याए ।
कुवेतमा स्थानीयको घरमा पुगेपछि मात्रै उनले आफू बेचिएको थाहा पाइन् । मालिक साह्रै रिसाहा थिए । अनेक बहानामा कुट्न आइहाल्थे । ‘तँलाई दुई लाखमा किनेर ल्याएको हो भनेर मुक्का र लात्तीले हिर्काउँथे’ लुम्बिनी–६ ले भनिन्, ‘कहिलेकाहीं खान समेत नदिई घण्टौं शौचालयमा थुनेर राख्थे ।’
हिंसा सहन नसकेपछि उनले दुई वटा घर फेरिन् । तर, त्यहाँ पनि दुःख उस्तै थिए । एउटा घरमा उनीसँग काम गर्ने अर्की एक जना महिला थिइन् । एकदिन घर मालिकले काम बिराएको भनेर उनलाई दोस्रो तलादेखि खसालिदिए ।
‘त्यो देखेपछि मेरो ज्यानको सुरक्षा छैन भनेर माइतमा सम्पर्क गरेर उद्धार गर्न भनें’ उनले भनिन्, ‘चार महिनासम्म रोइकराइ गरेपछि एजेन्टले बल्लतल्ल घर पठाइदियो ।’ २०७७ चैतमा उनी नेपाल फर्किइन् ।
दृष्टान्त–७
सल्यान कपुरकोटकी २५ वर्षीया लुम्बिनी–७ (परिवर्तित नाम) को गएको असार तेस्रो हप्ता साउदी अरेबियाबाट उद्धार गरियो । खाडीमा फसेकी नेपाली चेलीको उद्धार गरिएको भन्दै रोल्पाकी प्रतिनिधिसभा सदस्य ईश्वरी जिएम उनको स्वागतमा एयरपोर्टमै पुगिन् ।
दलालको फन्दामा परेर उनलाई २०७९ भदौमा भारतको बाटोहुँदै साउदी पुर्याइएको थियो । उनलाई पनि आफन्त दिदी नाता पर्ने (नाम खुलाउन नचाहेको) ले नै दाङ लमहीकै अर्जुन परियार भन्ने एजेन्ट मार्फत साउदी पठाएकी थिइन् । उनलाई महिनामा ५० हजार रपैयाँ कमाइ हुने, जान पैसा नलाग्ने भन्दै अवैध रूपमा भारतबाट कुवेतहुँदै साउदी पुर्याइएको थियो ।
साउदीमा उनले श्रमशोषण र शारीरिक हिंसा भोगिन् । बिहान ६ बजेदेखि बेलुकी ३ बजेसम्म काम गर्थिन् । दिन–रात नभनी काम गर्दा पनि ६ महिनासम्म तलब पाइनन् । त्यसपछि उनले तलब माग्न थालिन् । काम गरेको पैसा माग्दा उनलाई नराम्ररी पिटियो । कुटपिटले थलिएकी उनी एक दिन भागेर नेपाली दूतावास पुगिन् ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको सम्पर्कमा पुगेकी उनलाई ३० असार २०८० मा नेपाल फर्काएर परिवारसँग मिलन गराइयो । लुम्बिनी–७ भन्छिन्, ‘आफन्त र दलालले मलाई झुक्याए । यसरी परदेशमा बेच्छन् भन्ने थाहा पाएको भए म जाने नै थिइनँ ।’
दृष्टान्त–८
खाडीमा दुःख पाएर आएको अर्को उदाहरण छ– कञ्चनपुरको । बेलौरी नगरपालिका–८ की ३१ वर्षीया लुम्बिनी–८ (परिवर्तित नाम) को परिवार ज्याला मजदुरी गरी गुजारा गर्थ्यो । घर बनाउँदा लघुवित्तबाट लिएको पाँच लाख रुपैयाँ तिर्न नसक्ने स्थिति भएपछि उनी के गरौं र कसो गरौंको अवस्थामा थिइन् ।
यो थाहा पाएका उनका भिनाजु नाता पर्ने खिमबहादुर राना उनलाई खोज्दै घरमै आए । लघुवित्तको चर्को ब्याजको फन्दामा परेकी उनलाई खिमबहादुरले विना पैसा ओमन पठाइदिने भनेपछि आश पलायो । घरभित्रको सजिलो काम गरेर महिनामा ५५ हजार कमाइ हुने भनेपछि उनले हुन्छ भनिन् । २०७८ फागुनमा लुम्बिनी–८ लाई भारत हुँदै ओमान पुर्याइयो ।
यसरी घरेलु कामदारका रूपमा उनी ओमन पुगिन् । १२ जनाको परिवार भएको त्यो घरमा उनले पाउनुसम्म दुःख पाइन् । पुगेकै दिनदेखि उनीमाथि दुर्व्यवहार सुरु भयो । घर मालिकले अढाइ महिनासम्म उनीमाथि यौनशोषण गरे ।
‘घरमा कोही नभएको मौका छोपेर उसले ममाथि जबर्जस्ती गर्थ्यो’ उनले आफ्नो व्यथा अनलाइनखबरलाई सुनाइन्, ‘कसरी त्यहाँबाट निस्केर भागौं भयो मलाई । मेरो हारगुहार सुनिदिने पनि कोही थिएन ।’
उनले एक दिन लुकीछिपी फोन गरेर आफू अप्ठ्यारोमा परेको कुरा नेपालमा श्रीमानलाई सुनाइन् । यो थाहा पाएर उनका श्रीमान् उद्धारमा लागे । करिब ५ महिनाको प्रयासपछि २०७९ साउनमा लुम्बिनी–८ लाई नेपाल फर्काइयो ।
दृष्टान्त–९
दाङ तुलसीपुरकी लुम्बिनी–९ (परिवर्तित नाम) को कथा पनि उस्तै छ । क्यान्सरले श्रीमानको मृत्यु भएपछि उनलाई चिनेकै काका नाता पर्ने निर्मल नेपालीले विदेश जानु भनेर पटक–पटक भने । खर्च नलाग्ने भन्दै उनले लुम्बिनी–९ को पासपोर्ट समेत आफैं बनाइदिए ।
छोराछोरी पढाउँदा लागेको ऋण तिर्न सकेर अलिअलि पैसा जोगाउन सके राम्रै हुन्छ भनेर उनी विदेश जान तयार भइन् । उनलाई नेपालगञ्ज नाकाहुँदै दिल्ली लगेर त्यहाँबाट कुवेत उडाए । ‘घरमा काम गर्दा दुःख पनि हुँदैन, पैसा पनि राम्रो हुन्छ भनेपछि म जान तयार भएँ’ उनले भनिन्, ‘तर मलाई कसरी विदेश जानुपर्छ भन्ने थाहा पनि थिएन ।’
घरेलु कामदारका रूपमा लुम्बिनी–९ ले त्यहाँ स्थानीयका घरमा पाँच महिना काम गरिन् । अरूलाई जस्तै उनलाई पनि बन्धक बनाएर राखियो । बाहिर निस्किन नपाइने, घरमा जे–जस्तो व्यवहार भए पनि सहनुपर्ने । अब विस्तारै शारीरिक शोषण हुन थाल्यो । दिन–रातको काम र शारीरिक, मानसिक शोषणपछि लुम्बिनी–९ विक्षिप्त भइन् । पछि कुनै माध्यमबाट परिवारको सम्पर्कमा पुगेपछि २०७७ साल फागुनमा नेपाल आउन सफल भइन् ।
दृष्टान्त–१०
१८ चैत २०७५ मा दाङ तुलसीपुरकी लुम्बिनी–१० (परिवर्तित नाम) लाई दिल्लीहुँदै ओमन लगिएको थियो । गाउँकै चिनेका आफन्तले उनलाई नेपालगञ्ज नाकाबाट दिल्ली पुर्याएका थिए ।
ओमनमा स्थानीयका घरमा काम गर्न थालेदेखि नै उनले दुःख पाइन् । ‘परिवारको संख्या ठूलो भएकाले दिन–रात नभनी सबै काम एक्लै गर्नुपर्थ्यो’ उनले भनिन्, ‘त्यसमाथि घरमालिक्नीले अनेक बहाना बनाएर पिट्ने गर्थिन् ।’
शोषण सहन नसकेर उनी भागेर अर्को घरमा पुगिन् । तर, त्यहाँ झन् ठूलो संकटमा परिन् । ‘घरमा एक्लै भएको बेला बाबु–छोराले ममाथि जबर्जस्ती गर्थे’ उनले भनिन्, ‘घरबाट भाग्न खोजे मार्ने धम्की दिन्थे । मलाई बन्धक बनाएर मनपरी गरे ।’
कतिसम्म भने उनको मोबाइल समेत खोसिएको थियो । ‘मर्नु न बाँच्नुको अवस्थामा पुगेपछि भागेर नेपाली दूतावास पुगें’ लुम्बिनी–१० भन्छिन् । त्यसपछि परिवारको सम्पर्कमा आएकी उनी २०७८ जेठमा नेपाल फर्कन पाइन् ।
रोजगारीको नाममा मानव बेचबिखन
माथिका १० दृष्टान्तले देखाउँछन् कि नेपालमा वैदेशिक रोजगारीको आडमा मानव बेचबिखनको धन्दा पनि उत्तिकै फस्टाइरहेको छ । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्छ । तर, श्रम स्वीकृति विना धेरै महिला अहिले पनि बेचबिखनको फन्दामा परेर खाडी लगायत मुलुकमा घरेलु कामदारका रूपमा बेचिइरहेका छन् ।
वैदेशिक रोजगारीका नाममा महिलालाई विभिन्न मुलुकमा तस्करी गर्ने संयन्त्र गाउँसम्मै फैलिएको छ । यो कसरी फैलिएको छ ? यसमा को को संलग्न छन् ? उनीहरूले के कस्तो लोभ देखाएर महिलालाई मानव तस्करीको साधन बनाएका छन् भन्ने थाहा पाउन हामीले श्रम स्वीकृति विनै खाडीका विभिन्न मुलुक पुर्याएका माथिका १० घटना केलाएका छौं ।
तिनको विश्लेषण गर्दा महिलालाई लोभ देखाउन गलत सूचना दिनेहरू धेरैजसो गाउँ–ठाउँकै आफन्त र चिनेजानेकै व्यक्तिहरू छन् । उनीहरूको सामाजिक हैसियत वैदेशिक रोजगार कम्पनीको ‘एजेन्ट’ रहेको देखिन्छ । यसको उपल्लोस्तरका मालिकहरू हत्तपत्त प्रकट हुँदैनन् ।
यसरी हेर्दा उनीहरू समाजको सबभन्दा तल्लो तहसम्म व्यवस्थित रूपमा फैलिएको मानव तस्करीको सञ्जालका सदस्य हुन् । असजिलोमा परेका महिलाको विवशताको फाइदा उठाउँदै पैसा कमाइने लोभ देखाएर प्रायःजसो अनपढ महिलालाई विदेश पुर्याउने सम्पर्क सेतुको काम यिनीहरूले गर्छन् ।
जिल्ला प्रशासन कार्यालय दाङभित्र रहेको आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता रीता लामा भन्छिन्, ‘झस्काउने कुरा के छ भने पैसाको लोभमा स्थानीय एजेन्टहरूले परिवारका सदस्य, आफन्त र छिमेकीलाई समेत अवैध रूपमा विदेश पठाउन मानव तस्करको सहयोगीका रूपमा काम गरिरहेका छन् ।’
खुला सीमाका कारण तस्करहरूलाई मानव बेचबिखन गर्न सहज भएको छ । पश्चिम नेपालमा भारतसँग जोडिएका पाँच ठूला नाका छन्— बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, रूपन्देहीको सुनौली, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा । यी नाकामा राहदानी वा कुनै परिचय विनै सजिलै आवतजावत गर्न सकिन्छ ।
माइती नेपाल कञ्चनपुर शाखाकी महेश्वरी भट्ट खुला सीमा नाकाको फाइदा उठाउँदै दलालहरूले महिलालाई भारतहुँदै खाडी पुर्याइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘खुला सीमा नाकाले तस्करलाई वैदेशिक रोजगारीको आवरणमा मानव बेचबिखन गर्न सहज भएको छ ।’
वैदेशिक रोजगारीमा जाँदा संकटमा परेकाहरूको उद्धारको काम पनि गरिरहेको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) दाङकी संयोजक बसन्ता पुन दलालले आर्थिक अभाव झेलिरहेका गाउँका सोझा र निरक्षर महिलालाई प्रलोभनमा पारेर सजिलै विदेश पुर्याउने गरेको बताउँछिन् ।
‘लुकीछिपी खाडी गएका धेरैजसो महिला आर्थिक रूपमा विपन्न, हिंसामा परेका र एकल छन्’ पुन भन्छिन्, ‘प्रायः महिला बेरोजगार र निरक्षर पनि छन् । कतिसम्म भने आफू कसरी विदेश जाँदैछु भन्नेसम्म पनि उनीहरूलाई थाहा हुँदैन ।’
कस्तोसम्म छ भने विदेशमा यौनशोषणमा परेर जन्मिएको बच्चा बोकेर नेपाल फर्किएका महिला पनि छन् । दलालको फन्दामा परेर २०७४ सालमा खाडी पुगेकी बर्दियाकी कर्णाली चौधरी (परिवर्तित नाम) यस्तै पात्र हुन् । खाडीमा जसको घरमा काम गर्न बसेकी थिइन् त्यही मालिकको यौन शोषणमा परेर जन्मिएको बच्चा लिएर उनी घर फर्किएकी थिइन् । सुरुमा घर छिर्न नदिएका परिवारले पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमती घर भित्र्याएका थिए ।
‘मालिकले ममाथि शोषण गर्दा गर्भ बस्यो’ उनले भनिन्, ‘नौ महिना गर्भमा रहेको सन्तान छोड्न कुन चाहिं आमाको मनले मान्छ र ? अरबीकै भए पनि कोख त मेरै हो भनेर बच्चा लिएर आएँ ।’ अहिले उनी र उनका श्रीमान् खेतीकिसानी गर्दै बच्चा हुर्काइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वली अब मानव बेचबिखनको शैली फेरिएको बताउँछन् । ‘पहिले पहिले भारत पुर्याएर कोठीमा बेचबिखन हुन्थ्यो, उनी भन्छन्, ‘अहिले त्यही काम वैदेशिक रोजगारीका नाममा भइरहेको छ ।’
वैदेशिक रोजगारको आवरणमा भइरहेको यो मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा नेपालको कानुन भने स्पष्ट छैन । वैदेशिक रोजगार ऐन २०६४ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ दुवैले वैदेशिक रोजगारीको आवरणमा हुने मानव बेचबखिनलाई कसुर वा अपराध भन्दैनन् । वैदेशिक रोजगार ऐनले त मानव बेचबिखनबारे उल्लेख नै गरेको छैन ।
कानुन स्पष्ट नहुँदा बेचबिखनमा संलग्नहरूले छुट पाइरहेका छन् । सामी दाङकी संयोजक बसन्ता पुन भन्छिन्, ‘वैदेशिक रोजगार ऐनले बेचबिखनका घटनालाई ठगीको रूपमा परिभाषा गर्दा पीडितहरू बेचबिखनको घटनामा पनि ठगी भनेर मुद्दा दर्ता गरिरहेका छन् ।’
पुन भन्छिन्, ‘पीडित स्वयंले पनि ठगीमा परिएको हो कि बेचबिखनमा भनेर छुट्याउन नसक्दा बेचबिखनका कैयौं मुद्दा ठगीमा परिणत भइरहेका छन् । त्यसबाहेक यौन हिंसामा परेका महिलाले गोपनीयता खुल्ने डरले पनि यो मामिला बाहिर ल्याउन चाहेको देखिन्न ।’
जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीका विचारमा ‘पहिलो त कानुनी जटिलता नै देखिन्छ । दोस्रो, यस्ता घटनामा आफन्त नै दोषी भएकाले पीडित सितिमिति मुद्दा हाल्न आउँदैनन् । अनि तेस्रो घटनामा पीडित निरक्षर, कमजोर हुने भएकाले यस्ता धेरै उजुरी प्रहरीसमक्ष पुग्दै पुग्दैनन् ।’
प्रतिक्रिया 4