+
+
फ्राइडे रिलिज :

हलमा लागे तीन नयाँ फिल्म, ‘ओपेनहेइमर’ र ‘बार्बी’बीचको प्रतिस्पर्धा रोचक हुन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ११:४६

काठमाडौं । शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । नेपालको ‘लुङा’ तथा हलिउडका दुई प्रतीक्षित फिल्महरु ‘ओपेनहेइमर’ र ‘बार्बी’ । भिन्न कथावस्तुका फिल्म रुचाउने दर्शकलाई यो सप्ताहन्त रुचिअनुसार हेर्ने सुविधा उपलब्ध छ ।

किरण राई निर्देशित नेपाली भाषाको फिल्म ‘लुङा’ देशव्यापी प्रदर्शनमा आएको छ । बुद्धि तामाङ, भुवनसिंह राई र सारा राईको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ । रोमान्स ड्रामा जनरामा राखिएको ‘लुङा’लाई क्यूएफएक्स बाहेकका मल्टिप्लेक्सले रिलिज गरेका छन् । ‘लुङा’को रनटाइम २ घण्टा छ ।

क्रिस्टोफर नोलन निर्देशित ‘ओपेनहाइमर’लाई हलिउड क्रिटिक्सले शताब्दीकै सर्वश्रेष्ठ र महत्वपूर्ण फिल्मको रुपमा समीक्षा गरिरहेका छन् । ‘परमाणु बमका पिता’ मानिने जे रोबर्ट ओपेनहेइमरमाथि बनेको यो फिल्मलाई बायोग्राफिकल र थ्रिलर जनरामा राखिएको छ ।

काई बर्ड र मार्टिन जे शेरविनद्वारा सन् २००५ मा लिखित जीवनी ‘अमेरिकन प्रोमेथियस’मा आधारित यो फिल्मले जे रोबर्ट ओपेनहाइमरको जीवनको वर्णन गर्छ जो एक सैद्धान्तिक भौतिकशास्त्री थिए । उनलाई अमेरिका सरकारले आणविक हतियार निर्माण गर्ने ‘म्यानहटन परियोजना’को नेतृत्वको जिम्मा दिइएको थियो ।

‘ओपेनहेइमर’को शीर्ष भूमिकामा अभिनेता सिलियन मर्फीले अभिनय गरेका छन् । ओपेनहेइमरकी पत्नीको रूपमा एमिली ब्लन्ट,  म्याट डेमनले जनरल लेस्ली ग्रोभ्स अर्थात् ओपेनहाइमरको सैन्य ह्यान्डलरको रूपमा, र रबर्ट डाउनी जूनियरले लुइस स्ट्रस, संयुक्त राज्य एटोमिक एनका वरिष्ठ सदस्यको रुपमा अभिनय गरेका छन् ।

नेपालको सेन्सर बोर्डले यो फिल्मको रनटाइम १८० मिनेट तय गरिदिएको छ भने एडल्ट सर्टिफिकेट प्रदान गरेको छ । यो फिल्मलाई १८ वर्ष उमेरभन्दा तलका दर्शकले हेर्न पाउनेछैनन् ।

अर्को प्रतीक्षित हलिउड फिल्म ‘बार्बी’ पनि शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएको छ । ग्रेटा गर्विग निर्देशित यो फिल्ममा मार्गट रोबी, रायन गोस्लिङ, एमा म्याकी लगायतको शीर्ष भूमिका छ । फेन्टासी र कमेडी जनरामा राखिएको यो फिल्म म्याटेलद्वारा निर्माता बार्बी नामक फेसनको गुडियामा आधारित छ । यो धेरै कम्प्युटर–एनिमेटेड डायरेक्ट–टु–भिडियो र स्ट्रिमिङ टेलिभिजन फिल्मपछि पहिलो लाइभ–एक्सन बार्बी फिल्म हो ।

बार्बी नामक एक काल्पनिक भूगोलबाट फिल्मका मुख्य पात्रहरु वास्तविक संसारमा आएपछि उनीहरुले भोग्नुपरेको अस्तित्वको संकटको लडाइँको कथावस्तुमा यो फिल्म आधारित छ । यो फिल्मलाई पनि क्रिटिक्सले सकारात्मक समीक्षा दिएका छन् । अन्तर्राष्ट्रिय फिल्म बजारमा ओपेनहेइमर र बार्बीबीचको बक्स अफिस लडाइँ रोचक हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?