+
+

भ्रष्टाचारको विषयमा कांग्रेसले निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्छ : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १४:५०

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणतन्त्रपछि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यो प्रक्रियाको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले भने ‘गणतन्त्रपछि जति पनि भ्रष्टचारका घटना छन्, तिनको छानबिन कांगेसको नेतृत्वमा हुनुपर्दछ । गणतन्त्र पछि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्ने र त्यो प्रक्रियाको नेतृत्व कांग्रेसले गर्नुपर्दछ ।’

भ्रष्टाचारका कारण कांग्रेसका केही नेता अप्ठ्यारोमा परेकाले भ्रष्टचारको भावनाको विषय होइन नभएको बताए ।

‘सिद्धान्तको विषय हो । नैतिक प्रश्न मात्रै होइन, कानुनी प्रश्न पनि हो । जति पनि भ्रष्टचारका घटना छन्, तिनको निष्पक्ष छानबिन गर्नका निम्ति पार्टीले सहयोग गर्नुपर्दछ,’ पौडेलले भने ।

प्रदीप पौडेलले केन्द्रीय कार्यसमितिको बैठकमा  प्रस्तुत गरेको  विचार

लामो समयपछि हामी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका छौँ । यो हाम्रो बैठकलाई हाम्रो पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, आम जनताले पनि निकै चासोका साथ हेरिरहेका छन् ।

काँंग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइभाई अनुयायी नभई काँंग्रेस मात्र भएर हामीले पार्टिको कठोर आत्ममुल्याङ्कन गर्न जरुरी छ । पार्टिलाई सिटामोलले पुग्न सक्ने अवस्था छैन, कतिपय सर्जरी नै जरुरी छ । त्यसैले पार्टी प्रश्नसँग भाग्ने हैन, जवाफका लागि प्रतिबद्ध हुनुपर्छ ।

लामो समय देखि पार्टीको अब्यवस्थापन र नेतृत्व सबैको अभिभावक बन्न नसकेको कारण पार्टिका सबै तहमा पलायन, निष्क्रियता र विद्रोहको मानसिकता देखिन थालेको छ ।

अहिले पार्टी बिधानमा रहेर महामन्त्रीले ल्याउनु भएको प्रस्ताव यो भन्दा फराकिलो हुन सक्दैन । यसमा मेरो बिमती छैन । तर अब पाटिकै बिधान र छवि परिबर्तन गर्ने समय आएको छ । संगै संविधान संसोधनको लागि पनि कांग्रेसले नेतृत्व लिने बेला आएको छ ।

संगठन विस्तार जरुरी छ, सँगसँगै जनता सम्म पार्टीको सकारात्मक छवि पनि जरुरी छ ।

(क) म सदस्यताबाट सुरू गर्छु ।

मासबेस्ड पार्टीले सदस्यहरुबीच वर्गीकरणको कल्पना गर्दैन । त्यसैले पार्टीमा एकै प्रकारको सदस्यता लागु गरेर सबैलाई खुल्ला प्रतिस्पर्धाको लागि सहज वातावरण र प्रावधान राख्न प्रस्ताव गर्छु ।

योग्यता पुुगेको नेपालीले जुनसुकै समयमा जहाँसुकैबाट सदस्यता लिनसक्ने व्यवस्था होस् । अनलाइन सिस्टमबाट पनि सदस्यता लिन सकिने गरी कठोर प्रावधानहरु सरलीकृत गरौँ । बरु अधिवेशनहरुमा भाग लिन चाहने सदस्यले सदस्यता लिएको एक वर्ष पुरा भएको हुनु पर्ने प्रावधान राखौँ ।

(ख) पार्टिमा सम्पुर्ण रुपमा प्राइमेरी इलेक्सनको अबधारणा लागू गरौं । जनता र कार्यकर्तालाई उमेदवार केन्द्र बाट नलादौ । सिधै जनता र कार्यकर्ताले छान्ने प्रणालीमा जाऔ। चुनाव पुर्वको गठबन्धनमा अब नजाऔ । नीतिगत निर्णयका लागि महासमितिमा जाउँ । नेतृत्व चयन सिधै सदस्यको जिम्मा दिउँ ।

(ग) मैले अघि संविधान संसोधनको आवश्यकता पनि उल्लेख गरेको थिए । अहिलेको निर्बाचन प्रणालीले कहिल्यै कसैको बहुमत पुग्न निकै कठिन छ । यसले निरन्तर राजनीतिक अस्थिरता मात्रै बढाएको छ । यसरी देशको विकास हुनै सक्दैन । त्यसैले सबै सदस्यको निर्बाचन प्रत्यक्ष निर्बाचन प्रणालीबाट गर्ने र त्यसैमा सबैको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरि संविधान संसोधनको नेतृत्व कांग्रेसले लिनुपर्छ ।

प्रतिनिधि सभाको सदस्य संख्या बढीमा २०१ मा झारांै । राष्ट्रिय सभाको आकार घटाइ सात प्रदेशको ३ जनाको दरले र ९ जना विभिन्न वर्ग र समुदाय्को, ५ जना बिज्ञ र राष्ट्रिय ब्यक्तित्वको प्रतिनिधित्व सुुनिश्चत हुने गरी मनोनित हुने प्रणाली बिकास गरांै । राष्ट्रिय सभा ३५ सदस्यीय बनाउँ । प्रदेशमा पनि समानुपातिक हटाई प्रत्यक्ष निर्बाचन बाटै समावेशी प्रतिनिधित्वको ज्ञारेन्टी गरौं।

संघको मन्त्री परिषद बढिमा १५ जना र प्रदेशमा ५ जनामा झारांै । त्यसो गर्दा बित्तिकै प्रशासन तिर पनि जनशक्ती घट्छ ।

(घ) संगठन संरचनामा तत्काल आवश्यक सुधार

नियमित रुपमा कार्य सम्पादनको अनुुगमन पार्टीप्रति शुभेच्छा राख्ने स्वतन्त्र समूहबाट गराऔं । काम गर्ने समिति तथा नेतृत्वलाई सम्मान तथा पुरस्कृत गर्न सुरुवात गरौँ ।

भातृसंस्थाका निर्वाचनबारे महामन्त्रीको प्रस्ताव ढिला आयो तर अब कार्यान्वयन गरौं । भ्रातृ संगठन तथा शुुभेच्छुक संस्थाको निर्वाचन तोकिएको अवधिमा गराउने सुनिश्चित गरौँ, कुनै पनि समिति गठन निर्वाचन बाहेकका विधिबाट नगरौं ।

(ङ) पार्टीको निर्वाचन तथा नेतृत्व

सभापतिको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने व्यवस्था गर्न प्रस्ताव गर्दछु । केन्द्रीय पदाधिकारी तथा सदस्यहरु पनि देशभरका सदस्यबाट निर्वाचित गरौँ ।

जति पनि निर्वाचन हुन्छ, तिनमा सिधै पार्टि सदस्यले मतदान गर्ने ब्यवस्था गरा ैं।

पार्टीबाट सरकारको नेतृत्व गर्दा प्रधानमन्त्री, मन्त्री ,मुख्यमन्त्री र प्रदेश मन्त्री पनि एकै ब्यक्ती दुई पटक मात्र हुन पाउने व्यवस्था गरौँ ।

। त्यस्तै, पार्टीले संघको निर्वाचनका लागि उम्मेदवारी दिन एक व्यक्तिलाई बढीमा चार पटक मात्र टिकटको मौका दिने व्यवस्था गरौँ । प्रदेशमा यो व्यवस्था दुई पटक मात्र कायम राखौँ । समानुपातिक हट्नु अगाडिसम्म दोहोराएर मौका नदिने ब्यबस्था कडाइका साथ लागू गरौं ।

(च) पार्टीमा निर्णय प्रणाली

पार्टीले महत्वपूर्ण निर्णयहरु लिँदा वैधानिक व्यवस्थालाई कडाइका साथ लागू गर्ने, समितिका बैठकहरु तोकिए अनुसार सन्चालन गर्ने अनिवार्य अभ्यास गरौँ, केन्द्रीय समितिबाट मात्र निर्णय लिने परिपाटी विकास गरौँ । जस्तोसुकै अवस्थामा गरिएका निर्णयहरुलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनु पर्ने र यदि अनुमोदन नभएमा स्वतः निष्कृय हुने व्यवस्था गरौं ।

पार्टीमा अब सामूहिक निर्णय प्रणाली लागू गरिनु पर्दछ । दुरगामी महत्वका निर्णय लिनु अघि सबै समर्थक तथा शुभेच्छुक तथा विद्वत वर्गसँग राय लिनका लागि सार्वजनिक आह्वान गर्ने परिपाटी समेत बसाल्नु पर्छ ।

(छ) भ्रष्टाचारविरुद्ध र सुशासनका सवालमा

पार्टिले शून्यबाटै आफ्नो छवि सुधार गर्नुपर्छ । नेपालमा पछिल्लो समय भएको भनिएका सबै प्रकारका भ्रष्टाचारबारे सत्यतथ्य छानबिन गर्न हामी आफै अग्रसर हुनुपर्छ । कम्तिमा पनि गणतन्त्र पश्चात् उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने र सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने पहिलो पार्टि नै नेपाली कांग्रेस बनोस् र आफैं बाट सुरु गरोस् भन्ने मेरो प्रस्ताव छ । चाहे ललिता निवास, चाहे भुटानी शरणार्थी काण्ड आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुक तथा जोकोहीका बारेमा भ्रष्टाचारजन्य आरोप लागेमा त्यसलाई ठीक ढंगबाट छानबिन गरेर निष्कर्षमा पु¥याउन नेपाली कांग्रेसले पूरै मद्दत गर्नुपर्छ । भ्रष्टाचारको विषयमा निरपेक्ष रहनु भ्रष्टचारकै पक्षपोषण गर्नु हो । यो भावनाको विषय हैन । यो सैद्धाान्तिक विषय हो । यो नैतिकतामा मात्र सीमित छैन । नैतिकता सँगपनि जोडिएको छ । तसर्थ यी काण्डहरुमा अनुसन्धानमा रहेकाहरुलाई पार्टिले जिम्मेवारबाट मुक्त गर्नु पदर्छ । भ्रष्टचारमा व्यक्तिको उत्तरदायित्व रहनु पर्दछ । व्यक्तिले गल्ति गर्न सक्छ, पार्टिले हैन ।

ज) हामी मिशन ८४ त भन्छौं तर त्यसका लागि के गरिरहेका छौँ ?

अहिले तीनै तहका सरकारमा नेपाली कांग्रेस छ । संघ र प्रदेशका सबै सरकारमा हामी प्रमुख सत्ता साझेदार दल हौँ । कुल स्थानीय तहमध्ये ३ सय २९ स्थानमा नेपाली कांग्रेसको नेतृत्व छ । र अन्यत्र पनि कुनै न कुनै प्रतिनिधित्व लगभग सबै पालिकामा छ ।

अब आउने निर्वाचनमा सत्तामा पुग्यौँ भने हामी यो गर्नेछौ भनेर क्रेडिटमा भोट माग्ने छुट हामीलाई हुनेछैन । किनकी हामी अहिले नै सत्तामा छौँ । हामीले त जनता (मतदाता)समक्ष आफूले सरकारमा रहँदा गरेका काम देखाएर तिनको विश्वास जित्नुपर्नेछ । तसर्थ संघीय सरकार, प्रादेशिक सरकार र आफ्नो नेत्तृत्वमा रहेका पालिका सरकारहरुले जनमुखी र प्रभावकारी काम गरेर स्थायित्व, सुशासन, आर्थिक तथा सामाजिक रुपान्तरण, चुस्त र दुरुस्त बनाउँदै सार्वजनिक सेवाको प्रत्याभूति दिन सक्नु पर्छ ।

अहिलेको गठबन्धन सरकारलाई रोजगारी, सुशासन, सामाजिक–आर्थिक रुपान्तरण, सेवा प्रदायकता, विकास निर्माण, लोक कल्याण, राष्ट्रिय सुरक्षा, परराष्ट्र लगायतका हरेक क्षेत्रमा निर्देशित गर्ने र डोहो¥याउने ल्याकत हामीसँग हुनुपर्छ । सबै तहका सरकारलाई निश्चित वार्षिक लक्ष्य तोकेरै टास्क दिनुपर्छ ।

आफ्नो मातहतमा निर्माण भएका स्थानीय तहका सरकारका काम–कारवाहीको प्रभावकारिता अनुगमन र मुल्याङ्कन गर्ने संयन्त्र पार्टीभित्रै निर्माण गर्नुपर्छ । सुशासन प्रत्याभूति गराउन आवश्यक प्रशिक्षण, सल्लाह–सुझाव र निगरानीको व्यवस्था गर्नुपर्छ ।

आफ्नो सरकार नभएका स्थानीय निकायमा आवश्यक खबरदारी गर्नुपर्छ र ती ठाउँका नयाँ अजेण्डा र आवश्यकताहरुको पहिचान गरेर त्यसको नेतृत्व हामीले लिनुपर्छ ।

(झ) नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो र त्यो हिसाबले देशको अभिभावक हो।त्यसैले साझा नीति निर्माणमा नेतृत्व लिने जिम्मेवारी पनि हाम्रै हो । राजनीतिले डेलिभर गर्न नसकेको, सुशासन कायम गर्न नसकेको, भ्रष्टाचार र वेथिति बढ्दै गएको, नागरिका समस्या हल गर्न नसकेको, आर्थिक विकासमा प्रवेश गर्न नसकेको, सामाजिक विभेदको अन्त्य गर्न नसकेको, शिक्षा, स्वास्थ्य, न्यायलय जस्ता क्षेत्रमा राजनीतिक हस्तक्षेप बढेको कानुनी राज्यको पालना हुन नसकेको जस्ता कयौँ प्रश्न हाम्रा सामु छन् । सिङ्गो संसद र सबै राजनितिक दलहरुलाइ एक ठाउँमा ल्याएर राष्ट्रका गम्भीर बिषयमा साझा धारणा बनाउन पार्टिले अग्रसरता लिनुपर्छ ।

(ञ) डिजिटल युनिट स्थापना

पार्टीको संस्थागत स्मृति र अभिलेखलाई सुदृढ गर्न मात्र होइन, कार्यसमितिका निर्णयहरु, तथा पार्टीका ऐतिहासिक दस्तावेजहरूको वडास्तरदेखि नै निरन्तर संकलन गर्ने र प्रविधिमैत्री अभिलेख राख्न वडास्तर देखी नै डिजिटल युनिटको स्थापना गर्नुपर्छ । साथै, पार्टीका सूचना, क्रियाकलाप र काम कारवाहीलाई आम जनता सामु पु¥याउन, आफ्ना एजेण्डाहरु बुझाउन र डिजिटल प्रविधिप्रति अभ्यस्त नयाँ पुस्ताको नेपाली कांग्रेसप्रतिको आकर्षण बढाउन पनि हामीले पार्टीका सबै तहमा समय सापेक्ष स्मार्ट डिजिटल युनिट स्थापना गर्नु अत्यावश्यक छ ।

(ट) प्रशिक्षणहरु सञ्चालन गर्ने

स्थानीयस्तरमा निरन्तर रुपमा वैचारिक विमर्श सहितको कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुनुपर्छ । यसले पार्टीलाई विचारशून्यताबाट बचाउन सहयोग गर्छ । पार्टीका हरेक संगठनलाई गतिशील र चलायमान गराउँदै आममानिसका जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदलगायतका क्षेत्रहरूमा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै समाजमा नेपाली कांग्रेसको बलियो उपस्थिति महसुस गराउन सक्नुपर्छ ।

ठ) नीति अधिवेशनको सन्दर्भ महामन्त्रीको अहिलेको प्रस्तावमा पनि जोडिएकै छ । नीति अधिवेशनबाट पारित नीतिहरुलाई संस्थागत गर्न पार्टीको आन्तरिक र वैचारिक रुपान्तरणका विषयहरुलाई वैधता प्रदान गर्न महासमितिको बैठक अनिवार्य हुन्छ ।

युवाहरुका लागि पार्टिका कार्यक्रम र एजेन्डा के हुन् ? किशोरहरु महिला उपेक्षित वर्ग र वर्णका लागि वैदेशिक रोजगारी र अध्यनमा गएका नेपालिहरुका लागि हाम्रो कार्यक्रम के हो? यसमा विस्तृत छलफल हुनुपर्छ ।

ड) संसदिय भूमिका प्रभावकारी हुन सकेको छैन । दलको वैठक नभएको लामो समय भयो । संसदिय दललाई प्रभावकारी बनाउन निर्देशित गरियोस् ।

त्यसैले म अहिले नै महासमिति बैठकको पनि मिति तय गर्न प्रस्ताव गर्दछु ।

जय नेपाल ।

प्रदीप पौडेल,

केन्द्रीय सदस्य, नेपाली कांग्रेस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?