
५ साउन,बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्ने ठाउँमा सडक अतिक्रमण गरी बनेका संरचनामा डोजर चलाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो।
हालसम्म लुम्बिनी प्रादेशिक अस्पतालले उक्त निकासमा पर्खाल लगाएको थियो । अस्पताल विकास समिति र कालिका मन्दिर व्यवस्थापन समितिसँगको छलफलपछि पर्खालमा डोजर लगाएर निकास निकालिएको हो ।
यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जाने आउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मद्दत गर्ने बताए।
अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाएको उनले बताए । उक्त ठाउँका संरचना नहटाउँदा एक वर्ष अघि नै बनेको कालिकापथ सडकको निकास अनयोलमा परेको थियो ।
अब कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ । सो क्षेत्रमा डोजर लगाएर बुटवल उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4