+
+
मनोवाद :

मुटु अपरेशनको निधो गर्दा…

हस्पिटलको बेडमा सुतेको बेला मलाई जीवनको मूल्य महसुस भयो । उमेरमा खानपान, व्यायाम र व्यवहारप्रतिको हेलचेक्रयाईं सम्झिएर रिस उठ्यो । रिस, लोभ, डाह, पीर सम्झेर उद्विग्न भएँ । ‘मान्छेको शरीर त हाड, छाला र मासुको सट्टा फलाम, बालुवा र गिटीले बनेको हुनुपर्ने रहेछ, केही नहुने !’ मन भन्दैथियो । र मनमा ‘मुटुको वाईपास सर्जरी गर्ने कि स्टेन राख्ने ?’ दुईमध्ये कुनै एउटा छान्नुपर्ने द्वन्द्व थियो । दुवै जोखिमपूर्ण । के गर्ने ? के गर्ने ? म सोच्दा सोच्दै थाकिसकेको थिएँ ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८० साउन ६ गते १८:१५

फागुन महिना । म एक्लै बिहान नेशनल कार्डियाक सेन्टर बसुन्धरामा मुटुको चेकअप गराउन डाक्टर ओममूर्ति अनिलकोमा पुगें । मेरो ईसीजी र ईको हेरिसकेपछि डाक्टर एकछिन घोरिए । रगतको ट्रोपोनिन टेष्ट गरौं न है, भन्दै सल्लाह दिए ।

किन डाक्टरसा’ब मैले जिज्ञाशा राखें ।

मुटुको मसल्स ड्यामेज भएपछि रगतमा एक प्रकारको प्रोटिन आउँछ त्यो नै ट्रोपोनिन टेष्टमा देखिन्छ । ट्रोपोनिन न्यानोग्राम परमिलिलिटरमा नाप्ने गरिन्छ । यसको सामान्य लेभल ०.०४ देखि ३५ हो । तपाईंलाई हल्का ‘हर्ट एटेक’ भएको मेरो शंका छ । त्यही कन्फर्म गर्न ट्रोपोनिन टेष्ट गर्न खोजेको । डाक्टरले राम्रोसँग संझाए ।

हँ ! डाक्टरको कुरा सुनेर म सन्न भएँ ।

रगत दिएँ र आराम कक्षमा पर्खिरहें । रिजल्ट के आउँछ ? अत्तालिइरहें ।

हजुरको रगतको ट्रोपोनिन टेष्टको रिपोर्ट राम्रो छैन । दुईसय भन्दा माथि छ । न आत्तिनुस् । अब मनमोहन वा गंगालाल गएर एन्जिओग्राम गरेपछि सबै ठीक हुन्छ । मुटुमा जाने नसा बल्क भएको रहेछ भने पनि खोल्न मिल्छ, आजै हुनसक्छ । मैले इमर्जेन्सी रेफर गरेको छु । त्यसपछि प्रेसर त म म्यानेज गरिहाल्छु । ओममूर्ति डाक्टरले गम्भीर भएर सम्झाउँदै भने ।

मैले छोरालाई बोलाएँ । हामी केहीबेरमा नै महाराजगञ्ज टिचिङ हस्पिटलको मनमोहन कार्डियो भास्कुलर अस्पताल पुग्यौं । अस्पताल खचाखच थियो । एन्जियोग्राम गर्दा मल्टिपल बल्केज देखियो । दिनभरको जाँचपडतालपछि डाक्टरहरूले मलाई हस्पिटलमा भर्ना गरे । आफूलाई केही महसुस भएको थिएन । मन नलागी नलागी पनि मैले हर्ट अट्याक भएको कुरा पत्याएँ ।

बिहानसम्म केही नभएको । आफैं अस्पताल आएको मान्छेे । दिउँसो अस्पताल भर्ना भएर आईसीयू वार्डमा सुत्न पुगें । भोकभोकै दिनभरको दौडधुप । मलाई पिसाब फेर्ने फुर्सद समेत मिलेको थिएन । अहिले पिसाबले च्यापेर ल्यायो । दिदी ! मैले कामदार महिलालाई बोलाएँ र सोधें ‘ट्वाइलेट कता छ ?’

सिस्टर ! तीन नम्बरको बिरामी हिंड्न हुन्छ र ? उनले नर्ससँग सोधिन् ।

हुँदैन, हुँदैन । नर्सको छोटो तर गम्भीर उत्तर आयो ।

हँ, हिंड्नै हुँदैन ? रोगको डरलाग्दो जोखिम महसुस गर्दा छाती ढक्क फुल्योे । मन जोडले पोल्न थाल्यो ।

‘मोबाइल ट्वाइलेट’ ल्याइदिन्छु, दिदी बाथरुमतिर लागिन् ।

शरीरमा जोश-जाँगर भए पनि मलाई बिरामी परेर थला नै परेको अनुभव भयो । शिथिल मन लिएर ट्वाइलेट पर्खेर बसिरहें ।

ल, यसमा गर्नुस् । उनले बेडको वरिपरिको हरियो पर्दा तानेर छोपिदिइन् । म पिसाब फेर्न विस्तारै बेडबाट तल झरें ।

यताउता नर्सहरू हिंडिरहेका थिए । मुखसम्म आएर पनि पिसाब र्झन सकेन । उफ्, सुस्केरा आयो ।

सकियो ? दिदीको प्रश्न आयो ।

‘भयो दिदी’ म पिसाबै नफेरी बेडमा उक्लिएँ ।

दिदीले ट्वाइलेट घिसार्दै लगिन् ।

आईसीयू वार्डको बेडमा चारखुट्टा बाँधेर लडाएको घोडा झैं तारैतारले जेलिएर म पल्टिरहें ।

साँझ विस्तारै रातमा रूपान्तरण हुँदैथियो । मलाई साँच्ची नै केही दिन पहिले हर्ट अट्याक भएको थियो त ? मैले नियमित औषधि खाने र जँचाउने गरिरहेको थिएँ । जति सोच्यो उति म डराउँदै गएँ । डाक्टर ओममूर्ति अनिलको अस्पताल नगएको भए त मरिने रहेछ कि क्या हो ? एउटा डाक्टरको भरमा मात्र बस्नु हुँदोरहेनछ । मन विचरणको पोखरीमा पौडिन थाल्यो ।

भेटघाटको समय सकिएकोले हुनुपर्छ, वार्ड सुनसान थियो । बेला बेलामा, बिरामीको ऐया, आत्थु र नर्सको के भयो किन कराएको ? भन्ने आवाज सुनिन्थ्यो । म भय भरिएको गह्रुंगो मन लिएर आईसीयूको बेडमा छट्पटाइरहें ।

नर्सहरूको ड्यूटी फेरिने बेला भएकाले दुईजना नर्स हृयाण्डओभर लिने-दिने क्रममा मेरो नगिच आइपुगे । उहाँको आजै क्याथ टेष्ट गरेको । मुटुको अपरेशन गर्ने कि स्टेन राख्ने छलफल हुँदैछ । बुझाउनेले बुझ्नेलाई जानकारी गराइन् । नर्सहरू मेरो वरबुझारथ सकेर अर्को टेबलतिर लागे ।

‘मुटुको अपरेशन’ नर्सको वाक्य सुन्दै म तर्सिएँ । हे भगवान ! मलाई बचाऊ । म भगवानको शरणमा पुगें ।

छोरो जाउलो लिएर आइपुग्यो । जाउलो देखेर भोक लागेको थाहा पाएँ ।

जाउलो खाएपछि औषधि खानुस् है । नर्सले ब्लड प्रेसर कम गर्ने क्याम्लो एल, रगत पातलो बनाउने क्लोपिड र एस्प्रिन हातमा दिइन् ।

हस् ! मैले टाउको हल्लाएँ ।

चुरोट खान्नँ । मदिरा रक्सी पिउँदिनँ । मासु खान्नँ । धेरथोर व्यायाम दिनदिनै गरेकै हुन्छु । औषधि नियमित खान्छु । मलाई नै कसरी हर्ट अट्याक भयो ? जुन मैले थाहै पाइनँ, मैले जिज्ञाशा राखें

जाउलो खाएको आधा घण्टापछि । टेबलको बोतलबाट गिलासमा अलिकति चिसो पानी हालें । थर्मसको तातोपानी मिसाएँ । मनतातो पानीसँग तीनवटै औषधि खाएँ । बेडमा पल्टिएँ । दिमागमा अपरेशन गर्ने कि स्टेन राख्ने ? मनमा बाहेक अरू केही कुरा आउँदैनथ्यो । आँधीको झोलुङ्गो झैं मन मच्चिनैरहृयो ।

अंकल, रगत पातलो बनाउन ईनोएक्सापिरिन (लभिनक्स) सुई लगाऊ है ! नर्सले दाहिने साप्राको बीच भागको छाला र मसल्सको पनि बीचमा पर्ने गरी नापिन् र घोचिन् ।

आ… ! मेरो मुखबाट आवाज आयो ।

दुख्यो र ? सुई लगाएको ठाउँमा कटन राख्दै भनिन् ।

शरीर त हो, घोचेपछि दुख्ने नै भयो नि सिस्टर ! मैले निरपेक्ष जवाफ दिएँ ।

अनेकौं आकांक्षा, रहर र उद्देश्य लिएर हिंड्ने मान्छेको शरीर कति कमजोर रहेछ ? हस्पिटलको बेडमा सुतेको बेला मलाई जीवनको मूल्य महसुस भयो । उमेरमा खानपान, व्यायाम र व्यवहारप्रतिको हेलचेक्रयाईं सम्झिएर रिस उठ्यो । रिस, लोभ, डाह, पीर सम्झेर उद्विग्न भएँ । ‘मान्छेको शरीर त हाड, छाला र मासुको सट्टा फलाम, बालुवा र गिटीले बनेको हुनुपर्ने रहेछ, केही नहुने !’ मन भन्दैथियो । र मनमा ‘मुटुको वाईपास सर्जरी गर्ने कि स्टेन राख्ने ?’ दुईमध्ये कुनै एउटा छान्नुपर्ने द्वन्द्व थियो । दुवै जोखिमपूर्ण । के गर्ने ? के गर्ने ? म सोच्दा सोच्दै थाकिसकेको थिएँ ।

रात छिप्पिंदै गयो । बत्तीहरू क्रमशः निभ्दै गए ।

मन बेलगाम दौडिरहेकोले निद्रा पनि आउन सकेको थिएन । संसारमा प्रकाशभन्दा पनि छिटो हिंड्ने मन रहेछ, मैले वार्डभरि आँखा घुमाएँ । धेरैजसो बिरामी निदाइसकेका थिए । नर्सहरू कुर्सीमा नै झुलिरहेका थिए । डाक्टर पनि झुल्दै थिए । मेरो निद्रा कहाँ गयो ? सोचाइले घोचिरहेकाले म छट्पटाइरहें । शरीर र मन दुवै दुःखिरहेको थियो । पल्लो बेडका वृद्ध बिरामीले घुर्न थाले । एक मिनेटमा कति पटक घुर्दा रहेछन् त बुढाले ? म उनको घुराइ घडीको सुई हेर्दै गन्न थालें- एक..दुई..तीन…

अंकल, उठ्नुस् । नर्सले कानमै आएर बोलाइन् । म झल्यास्स भएँ । घडीमा आँखा परे । बिहानको पाँच बज्दै रहेछ । ‘ल राख्नुस्’ उनले थर्मामिटर दिइन् । मैले आँखा मिच्दै समातें र काखीमुनि घुसारें ।

दाँत माज्नुस् । ब्रसमा पेष्ट राखिदिंदै कामदार महिलाले भनिन् । थर्मामिटर कराएपछि म दाँत माझ्न थालें । नर्सले टेम्प्रेचर टिपिन्- सन्तानब्बे !

तपाईं के खाने ? तपाईं के खाने ? आईसीयूको पाले बेड-बेडमा बिरामीलाई सोध्दै आयो । मानौं खानेकुरा पि|mमा आउँदैछ ।

चिनी नहालेको कालो चिया र बिस्कुट, मैलेे छोटो जवाफ दिएँ । चिया र बिस्कुट राखेर पाले गयो । चियासँग बिस्कुट खाएँ ।

‘ल औषधि खानुस्’, नर्सले उही तीन वटा औषधि मेरो हातमा राखिदिइन् । मैले तीन वटा औषधि पालैपालो खाएँ ।

ईनोएक्सापिरिन सुई वित्ताले नापेर देब्रे साप्राको बीचमा पर्ने गरी घोचिन् ।

हिजो क्याथडर छिराएको दाहिने नाडीको छाला त झण्डै कुहिनासम्म नै कालो भएछ । मैले नाडी ओल्टाई-पोल्टाई हेरें । मन खिन्न भएर आयो ।

भित्ताको घडीले सात बजेको संकेत दियो । सात बजेदेखि साढे सातसम्म बिरामी भेट्न कुरुवाहरू भित्र आउन पाउने रहेछन् । म चन्दा र छोरालाई पर्खेर ढोकातर्फ हेरिरहें ।

आईसीयूको आकाशे रङ्गको एप्रोन टाँक लगाउने पछाडि पारेर लगाउँदै चन्दा भित्र छिरिन् । म उनी आएको निशब्द हेरिरहें ।

कस्तो छ ? चन्दाले जिज्ञाशा राखिन् ।

मलाई त गम्भीर बिरामी बनाइसके । नर्सहरूले बेडबाट ओर्लन समेत दिंदैनन् । म फिस्स हाँसें ।

उनी पनि फिस्स हाँसिन् । उनको अँध्यारो निन्याउरो अनुहार देखेर मन पाकिएर आयो । पिलपिलाउन थालें ।
नरुनुस् न । मायालु हातले आँसु पुछिदिंदै सम्झाइन् ।

म बिरामी परेर तिमी नानीबाबु हस्पिटल भेट्न आएको सहनै सकेको छैन मैले । मनको वह सबै बाहिर पोखियो । झन् हिक्का बढेर आयो । थाम्नै सकिनँ । उनको हातमा ढल्केर रुन थालें ।

जो पनि बिरामी हुनसक्छ । उपचारपछि घर जाउँला नि ! कपाल मुसार्दै सम्झाइन् । मलाई हेरिरहिन् । म उनलाई हेरिरहें । दुवै जना खुलेर बोल्नै सकेनौं ।

‘ल बाहिर जानुस्’ पाले कराउँदै आइपुग्यो । कति छोटो समय हो । नआत्तिनुस् है । सम्झाउँदै गर्दा चन्दाका आँखाबाट आँसु छचल्किएर भुइँमा खसे । मेरो पनि बरर्र आँसु झर्‍यो । सिरानीमा गाला राखेर उनी बाहिरिएको हेरिरहें । सिरानी चिसो भएर आयो ।

आठ बज्यो । नर्सहरूको ड्यूटी बदलियो । नौ बज्यो । कार्डियाक सर्जन डाक्टर अनिल भट्टराई आइपुगे । अत्यन्त आकर्षक डे्रसअपमा । उच्च व्यक्तित्व । उनको वरिपरि छ/सात जना कनिष्ठ डाक्टरहरू थिए ।

नमस्कार डाक्टर साहेब, मैले हात जोडें ।

कोइरालाजी के गर्नुहुन्छ ? डाक्टर अनिलको प्रश्न थियो ।

म नेपाल सरकारको रिटायर्ड कर्मचारी हुँ, डाक्टरसा’ब । मैले पेशा बताएँ ।

घर कता हो नि ? अर्को प्रश्न थियो ।

गीतानगर, चितवन । मैले छोटो जवाफ दिएँ ।

हजुरको घर नि ? मैले पनि जिज्ञाशा राखें ।

पर्वत । डाक्टरले पर्वत भन्न नपाउँदै डाक्टरसँग नजिकिने लोभले मैले थपें, “मेरो ससुराली पनि पर्वत नै हो ।”

कहाँ ? डाक्टरको थप जिज्ञाशा थियो ।

चुवा । मेरो जवाफ छोटो थियो ।

ए…सर सिडिओ हुनुभयो नि ? डाक्टरको थप जिज्ञाशा थियो ।

हजुर, मैले टाउको हल्लाएँ ।

मनिटरमा ट्याङ्ग घण्टी लाग्यो । हामी तीनै जनाका आँखा दौडिएर मनिटरमा पुगे । प्रेसर झरेर १४० वाई नब्बे भएछ । छोराले लामो सास फेर्‍यो । म र चन्दा पनि ढुक्क भयौं

‘उहाँ सिडिओ साहेव’ डाक्टर अनिलले सबै कनिष्ठहरूलाई सुनाए । सरको आर्टरीमा मल्टिपल बल्केज भएकाले के गर्ने भनेर सल्लाह हँुदैछ । सरले पनि सल्लाह गर्नुहुन्छ । बथान लिएर डाक्टर अनिल आईसीयूबाट बाहिरिए ।

केहीबेरपछि दाजु, प्रमोद भान्जा र एकजना डाक्टर सँगसँगै छिर्नुभयो । मेरो स्कुल पढ्दाको साथी डाक्टर विभुष श्रेष्ठ । भान्जाले चिनाए ।

नमस्कार ! मैले औपचारिकता निभाएँ ।

म एनेस्थेसिया हेर्छु । वरिष्ठ कार्डियाक सर्जन भगवान कोइराला डाक्टर साहेबको टिममा नै हो, म पनि, डा. विभुषले भने ।

एकपटक डाक्टर भगवान कोइरालासँग भेट्नु पर्‍यो । त्यसपछि के गर्ने निर्णय लिनुपर्ला, मैले विभुषसँग अनुरोध गरें ।

भैहाल्छ नि ! डा. विभुषले भने ।

केहीबेरपछि, कार्डियोलोजिष्ट डाक्टर सूर्य देवकोटा परबाटै हाँस्दै आए । सँगसँगै छोरो पनि भित्र छिर्‍यो ।

कोइराला सर, अपरेशनमा नै जानुपर्छ होला । यस्ता केसहरूमा अपरेशन नै राम्रो हुन्छ । डाक्टर देवकोटाले सम्झाउँदै भने ।

अपरेशन सुन्ने वित्तिकै डराएर मेरो मुख कालो-नीलो भयो ।

बाबा नआत्तिनुस् । अपरेशन गर्न परे पनि गरौंला । पहिले म पनि सबैतिर बुझ्छु । छोराले मेरो टाउको मुसार्दै सम्झायो ।

छोरा… अपरेशनको डरले स्वर भास्सियो । आँखाहरू आँसुले डबडबाए, अगाडि बोल्नै सकिनँ ।

छोरो पछाडि फर्कियो र मलाई हेर्दै भन्यो- ‘रोयो भने कमजोर भइन्छ । बाबा त स्ट्रङ्ग मान्छे हो नि ! बाबा रुनुहुँदैन ।’ छोरा बच्चा हुँदा म जे भनेर उसलाई सम्झाउँथें आज उसले तिनै शब्दहरू सापटी लिइरहेको थियो मलाई सम्झाउन ।

ल तपाईं जानुस् । नर्सले छोरालाई ताकेता गरिन् । छोरो बाहिर निस्कियो ।

म एक्लो । आईसीयू वार्डभरि बिरामी र नर्सहरू हुँदा पनि शून्य लाग्यो । घुप्लुक्क बेडमा पल्टिएँ । छोरी प्रत्यञ्चा १० कक्षाको बोर्ड परीक्षा दिन पढिरहेकी थिइन् । कोरोनाको कारण परीक्षा अनलाइन वा अफलाइन निधो भएको थिएन । छोरी ‘परीक्षा प्रक्रिया’को अन्योलमा, म ‘अपरेशन कि स्टेन’ को भुमरीमा । मन रुमलिइरहृयो ।

डाक्टर भगवान कोइराला गंगालालमा हुँदा म स्वास्थ्य मन्त्रालयमा कार्यरत थिएँ । डाक्टर भगवानलाई पर्खंदा पर्खंदै दिनै बितेर गयो । साँझको सात बज्यो । सबै बिरामीका मान्छेहरू सरर्र छिरे ।

चन्दा खोई ? बाबु खोई ? मन अत्तालियो । आँखा ढोकाबाट हटेका थिएनन् । चन्दा आईसीयूको नीलो एप्रोन लगाउँदै छिरिन् । मेरो रोग नै निको भए जस्तो भयो । घडी हेरें । सात बजेर एक मिनेट मात्र गएको रहेछ ।

अस्पतालमा बिहान र साँझ सात बजे मात्र बिरामी भेट्न पाइने थियो । म चन्दा र छोरालाई भेट्न बिहान १० बजे नै साँझको सात कहिले बज्ला जस्तो गरी पर्खिरहन्थें । दिनभर घडीको सुई रोकिए जस्तो लागिरहन्थ्यो ।

कलेज जाने र हस्पिटल आउने गर्दा धपेडी भयो तिमीलाई … मन कमजोर भएर होला केही बोल्न खोज्दा भक्कानो छुटेर आउँथ्यो । वाक्य पूरा गर्नै सक्दिनथें ।

हजुर बिरामी भएर बेडमा सुत्ने ! म धपेडी हुन्छ भनेर नआइकन बस्न सक्छु त ? चन्दाले गालामा झरेको आँसु पुछिदिंदै मसँग नै प्रश्न गरिन् ।

मलाई उनको काखमा घोप्टिएर रुन मन लाग्यो । तर चुपचाप उनलाई हेरिरहें । उनका आँखाहरू पनि रसिला थिए ।

कोठाका बत्तीहरू एकैचोटि बले । सयौं वाटका बत्तीले पनि हामी दुईको मन उज्यालो बनाउन सकेनन् । अँध्यारो मन लिएर हामी टोलाइरहृयौं ।

‘दिदी, तपाईं जानुस्’ पालेले समय सकिएको संकेत गर्‍यो । कति छिटो समय बितेको होला । मलाई चन्दासँग छुट्टनि मनै थिएन । तर पालेले छुट्याएरै छोड्यो ।

शनिबारको दिन, हस्पिटल सुनसान थियो । आईसीयूमा थोरै डाक्टर, नर्स थिए । जतिखेर पनि म अपरेशनको शब्दले डराइरहेको थिएँ । म बेडमा लडेको तीन दिन भइसकेको थियो ।

मुटुको वाईपास अपरेशन गर्ने भन्छन् सिस्टर, डर हँुदैन ? ज्वरो नाप्न आएकी नर्ससँग विस्तारै सोधें ।

दिन विराएर अपरेशन भइरहन्छ । सहजै तर भेग भाषामा उत्तर दिएर उनी अर्को बिरामीको ज्वरो नाप्न थालिन् ।

फागुन १७ भोलि । छोरीको बर्थ डे । के मनाउलिन् विचरा, बाबा नै बिरामी परेपछि ! मनमा एक किसिमको नरमाइलो भुमरी मडारिएर आयो । आँखाहरू आँसुले डम्म भरिए । कोठा नै अँध्यारो भयो । मलाई यति नरमाइलो कहिल्यै भएको थिएन, जीवनमा !

सिस्टर ! मैले नर्सलाई बोलाएँ । के भयो ? नर्स आइपुगिन् ।

मलाई एउटा सेतो कागज दिनुस् न, केही लेख्छु । नर्सलाई अनुरोध गरें ।

नर्सले कम्प्युटरको प्रिन्टरमा राखेको दुई पन्ना ए-फोर कागज दिइन् । गोडामुन्तिर टेबलमा राखेको एकातिर रातो अर्कोतिर नीलो भएको पेन्सिल लिएँ । ‘जन्मदिनको शुभकामना प्यारी छोरी प्रत्यञ्चा’ लेखें । उनको वर्षका संकेत गर्दै आकाशमा चराहरू उडेको देखाएँ । कागजको वरिपरि बोर्डर रङ्गाएँ । पट्याएर राखें ।

छोरो खाना लिएर आयो । बाबु, भोलि बहिनीलाई देऊ है । मैले कार्ड छोरालाई दिएँ । हस् ज्ञ छोराले खल्तीमा राख्यो ।

‘तपाईंलाई डाक्टर देवकोटाको फोन छ’ त्यहीबेला ड्यूटीका डाक्टरले आफ्नो मोबाइल मलाई दिंदै भने ।

हेलो… सुस्तरी मोबाइलमा बोलें ।

कोइराला सर नआत्तिनुस् । भगवान कोइराला, अनिल भट्टराई लगायत हामी सबै सँगै छौं । तपाईंको केसको छलफल भयो । अपरेशन नै गर्नुपर्छ भन्ने भएको छ । तपाईंहरू के भन्नुहुन्छ ? चौरासी वर्ष त बाँच्नु पर्‍यो नि सर ! डाक्टर देवकोटाले सरर्र सुनाए ।

मेरो जीउ खङ्ग्रङ्ग भयो । बोल्ने साहसै हरायो ।

बाबा ! छोराले मलाई कोट्यायो ।

हामी पनि सल्लाह गर्छौं, डाक्टरसाहेब । छोराले मणिपाल कलेजका आफ्ना टिचरहरूसँग के गर्दा राम्रो हुन्छ भनेर सोध्न एन्जिओग्रामको रिपोर्ट पठाएको छ । मैले उनलाई जानकारी दिंदै भनें ।

ठीक छ, डाक्टर देवकोटाले फोन राखे । मैले मोबाइल फिर्ता गरें ।

गुडनाइट बाबा ! छोराले मलाई माया गरेर अँगालो हाल्यो र बाहिर निस्कियो । छोराको मायाले मलाई झन् कमजोर बनाए जस्तो लाग्यो । सम्झँदै पिलपिलाइरहें ।

बिहान डाक्टर अनिल, डाक्टर देवकोटा र डाक्टर रञ्जन सापकोटा एकैसाथ आए । अपरेशन गर्न उपयुक्त हुन्छ भन्दै सम्झाए ।

मुटुको वाइपास अपरेशन कतिको सुरक्षित हुन्छ, डाक्टरसा’ब- मैले पिरिइएको मनस्थितिमा सोधें ।

पीर मान्नु त पर्दैन । तैपनि अपरेशन हो । डा. रञ्जनको जवाफले म ढुक्क हुनुभन्दा झन् आत्तिएँ ।

लक्ष्मी सर, तपाईंलाई नभेटी मैले सुख नै पाइनँ । हस्पिटलमा डाक्टरहरू बीच अहिले तपाईंको मात्रै चर्चा छ । टाढैबाट हाँस्दै डाक्टर भगवान डाक्टर सूर्य देवकोटा र विभुषलाई लिएर आए ।

नमस्कार ! हजुरलाई नभेटी मन शान्त भएको छैन, डाक्टरसाहेब ! मलाई यस्तो के भयो ? म त अनुशासित व्यक्ति हुँ ।

चुरोट खान्नँ । मदिरा रक्सी पिउँदिनँ । मासु खान्नँ । धेरथोर व्यायाम दिनदिनै गरेकै हुन्छु । औषधि नियमित खान्छु । मलाई नै कसरी हर्ट अट्याक भयो ? जुन मैले थाहै पाइनँ, मैले जिज्ञाशा राखें ।

भइहाल्यो, अब पछुताएर केही लाभ छैन । तनावले झन् खराब गर्छ । हामीले तपाईंको केस छलफल गर्‍यौं । तीन वटा बल्केज भएकाले ‘ओपन हर्ट अपरेशन गर्नु नै राम्रो हुन्छ’, डाक्टर भन्दै गए ।

मेरो प्राण जाला जस्तो भयो । बाहिर श्रीमती र छोरा छन् । उनीहरूलाई बोलाइदिनुस् न । अत्तालिंदै मैले नजिकै उभिएकी नर्सलाई आग्रह गरें ।

चन्दा र छोरा दुवै जना नर्ससँग भित्र छिरे । पछि पछि भाञ्जा र दाजु पनि छिर्नुभयो ।

अपरेशन गर्ने र स्टेन राख्ने हाम्रो दुवै टिम कुशल छ । तपाईंले निर्णय गर्नुपर्छ । तपाईंको उमेरको मान्छेले अपरेशन गरेको राम्रो । डाक्टर भगवानले फेरि दोहोर्‍याए ।

तिमी त डाक्टर नै होइन ? कहाँ पढेको ? डाक्टर भगवानले छोरातिर र्फकंदै सोधे ।

हजुर, मणिपालमा पढेको । छोराले संक्षिप्त उत्तर दियो ।

के नाम हो नि ?

पृथुल ।

कहाँ काम गर्छौ ?

म ‘युएसएमएलई’ को पहिलो चरण सकेर दोस्रो चरणको तयारी गर्दैछु ।

अपरेशन गर्ने कि स्टेन राख्ने ? सल्लाह गरेर भन्नु । त्यही गरौंला । डाक्टर भगवान कोइरालाले चन्दातिर फर्किंदै अथ्र्याए ।

डाक्टर साहेब वाईपास सर्जरी र ओपन हर्ट भनेको एउटै हो ? अपरेशन भन्ने वित्तिकै मन डराएर भागेको भाग्यै छ । मैले थप जिज्ञाशा राखें ।

छाती खोलेर अपरेशन गर्ने हो । छातीको करङ तलदेखि माथिसम्म चिरेर, मुटु खोलिन्छ । गोडा वा पाखुराको नसा निकालिन्छ । मुटुलाई कृत्रिम रूपमा चलाउँदै मुटु र नसामा प्वाल पारेर वाईपास बनाउने विधि नै ‘ओपन हर्ट अपरेशन’ हो, डाक्टर कोइरालाले सरर्र सुनाए ।

छाती चिरेर मुटुको वाईपास सर्जरी ! म झनै खङ्ग्रङ्ग भएँ । सहजै हस् भन्न सकिनँ । चिन्ता र पीरका बादलहरूले एक्कासी छोपे । बाँचिन्न क्या हो ? आँखाबाट आँसु वषिर्यो ।

डाक्टर सा’ब… चन्दाका आँखा आँसुले भरिए । भक्कानोले छेकेर उनको स्वरै आएन । म झन् भलभल्ती रोएँ । छोरो अँध्यारो मुख लिएर चुपचाप डाक्टरको कुरा सुनिरहृयो ।

नआत्तिनुस्, अस्पतालमा छौ उपचार हुन्छ, डाक्टर भगवानले सम्झाए ।

रिस्क कति छ डाक्टरसा’ब ? दाजुले प्रश्न गर्नुभयो ।

अपरेशन भनेपछि दुई-तीन प्रतिशत त रिस्क भइहाल्छ । स्ट्याटिस्टिकले एकथोक भन्छ, आफूलाई परेपछि, शतप्र्रतिशत हुन्छ । शून्य रिक्स त के को हुन्छ र ? अहिले सबै भाइटल ठिक छ । खालि छ भने क्याबिनमा सर्नुस् भन्दै डा. कोइराला र डा. देवकोटाले सल्लाह दिए ।

हस् ! मैले सहमतिको टाउको हल्लाएँ ।

सबैजना बाहिर निस्किए । म हेरिरहें । साँझ पर्दै गयो ।

३९७ नम्बरको क्याबिन खाली भएको छ, तपाईं सर्नुहुन्छ ? नर्सहरूले मलाई सोधे ।

डाक्टरहरूले पनि आईसीयूबाट सरे हुन्छ भनेका र चन्दा बाबुसँग एकैचोटि भेट्न दुर्लभ भएकाले म तुरुन्तै तयार भएँ । मेरो बोली भुईंमा खस्न नपाउँदै नर्सहरूले हृवील चेयर मेरो बेड छेउमा ल्याइपुर्‍याए । एउटी नर्सले चेयरको पछाडि मेरो औषधि र रिपोर्टहरू राखिदिइन् । विस्तारै बेडबाट आर्लिएर म चेयरमा बसें । कामदार महिलाले चेयर गुडाएपछि मैले सबै नर्सहरूलाई धन्यवाद दिएँ ।

अर्को दिनको राउण्डमा डाक्टर अनिल, डाक्टर देवकोटा, डाक्टर कोइराला पालै पालो आए । डाक्टरसाहेब हामीले मुटुको अपरेशनै गर्ने निधो गर्‍यौं, मैले डाक्टरहरूलाई निर्णय सुनाएँ

कोरोनाको महामारी छ । भेट्न आउने मान्छेहरूसँग जोगिएर बस्नुहोला- नर्सहरूले सल्लाह दिए । हस्, भन्दै म आईसीयूबाट निस्कें ।

सानो कोठा । कोठामा जोडिएको ट्वाइलेट, बेड र कुरुवा बस्न र सुत्न मिल्ने सानो होचो बेड, पे्रसर मनिटरिङ गर्ने पुरानो मनिटर र एउटा दराज थिए । आईसीयूबाट क्याविनमा पुग्दा नर्सहरूको चहलपहल थिएन । अरू बिरामी नदेख्दा मलाई एक्लो महसुस भयो । झन् नरमाइलो ।

एकजना अधबैंसे नर्स आइन् र मनिटरमा तारहरू जोडिन् । मेरो अक्सिजनको लेभल, मुटुको चाल र प्रेसर मनिटरमा देखियो । नर्सले दाहिने हातमा प्रेसर नापिन् ।

पे्रसर धेरै छ त ! नर्सले मतिर हेर्दै भनिन् ।

चन्दा र छोरा आइपुगे ।

मैले मनिटरमा आँखा घुमाएँ । प्रेसर १९०/११० थियो । मनमा यति धेरै कुरा खेल्छन्, अनि प्रेसर बढ्दैन त ? मेरा आँखा चन्दाका आँखामा गएर टक्क रोकिए । चन्दाले डराए जस्तो मुखाकृतिमा वनावटी हाँसो देखाइन् ।

औषधि खाने बेला भएको छ औषधि खाएपछि हेरौंला नि हुन्न ? छोराले नर्ससँग सल्लाह गर्‍यो ।

हुन्छ, नर्सले मेरो काखीमा थर्मामिटर घुसार्न दिंदै भनिन् ।

ल खानुस् ! नर्सले क्याम्लो एल र लोसिटा एच खान दिइन् । मैले थोरै मनतातो पानीसँग औषधि निलें । नर्सले साप्रामा ईनोएक्सापिरिन सुई घोचिन् ।

चन्दा र छोरासँग सँगै बस्न पाउँदा म निकै खुसी थिएँ । बाहिर जाउँ भन्ने पाले पनि थिएन । चन्दाले ल्याइदिएको ओटस् खाएँ । स्वादिलो लाग्यो । मनिटरिङमा टिङ्ग बज्यो । छोराले मनिटर हेर्‍यो । प्रेसर घटेको थिएन ।

आज मात्रै हो कि सधैं यस्तै हो बाबा ? छोरो बाहिर गएपछि चन्दाले सोधिन् ।

आज मात्रै हो, मैले छोटो उत्तर दिएँ ।

बाबु नर्ससँगै भित्र छिर्‍यो । नर्स पनि प्रेसर नघटेको देखेर अलमलमा परिन् ।

औषधि खाएको निकैबेरसम्म पनि प्रेसर नघटेपछि डाक्टर देवकोटालाई सोध्छु है, सिस्टर ? छोराले अत्तालिंदै भन्यो ।

‘हुन्छ’ नर्स अर्को क्याबिनतर्फ लागिन् । छोराले मोबाइल निकाल्यो र नम्बर थिच्न थाल्यो ।

डाक्टर सूर्य देवकोटाको मोबाइलमा फोन लागेपछि छोरो नर्स सेन्टरमा गयो । केहीबेरमा हातमा औषधि लिएर नर्ससँगै भित्र छिर्‍यो ।

बाबा, अर्को एउटा औषधि नसाबाट दिने भन्नुभयो डाक्टर साहेबले । छोराले मेरो टाउको मुसार्दै भन्यो ।
हुन्छ, प्रेसर घटाउनु त पर्‍यो नि ! मैले भने ।

नर्सले जिटिएन (ग्लाईसेरिल ट्रिनिट्रेट) औषधि खोलिन् । प्लास्टिक च्यातेर स्लाइनको एउटा टुप्पो औषधिको प्वालमा घुसारिन् र अर्को टुप्पो मेरो पहिले नै बनिबनाउ क्यानुलामा घुसारिन् । औषधिको मात्रा मिलाएर उनी बाहिर निस्किइन् । मैले औषधि खसेको हेरें । थोपाहरू मेरो पे्रसर ओराल्न हतारिएर दौडिए जस्तो लाग्यो ।

अब त र्झछ होला नि ! चन्दाले जिटिएनमाथि विश्वास गर्दै भनिन् ।

र्झछ । नझरे पनि अस्पतालमा छौं केही उपाय भैहाल्छ नि ! मैले चन्दालाई आश्वस्त बनाउने कोसिस गरें ।

मनिटरमा ट्याङ्ग घण्टी लाग्यो । हामी तीनै जनाका आँखा दौडिएर मनिटरमा पुगे । प्रेसर झरेर १४० वाई नब्बे भएछ । छोराले लामो सास फेर्‍यो । म र चन्दा पनि ढुक्क भयौं ।

बाबु अब तिमी मामुलाई पुर्‍याएर आउँ । रातको एघार बज्न लागिसक्यो । घरमा बहिनी एक्लै छिन् । चन्दा र छोरा निस्किए । म मनिटर हेरेर बसिरहें ।

स्टेन राख्न ठीक हुन्छ कि वाईपास अपरेशन गर्न ठीक हुन्छ ? भन्ने दोधार मेट्न छोरो विशेषज्ञ डाक्टरहरूको राय लिन यता र उता दौडिरहेको थियो ।

बाबा, म प्रमोद दादा भएर गंगालाल हृदय रोग अस्पतालका वरिष्ठ सर्जन डाक्टर रामेश कोइरालालाई भेट्यौं । क्याथको भिडियो हेर्नुभयो । सरसर्ती कुरा गर्दा अपरेशन नै ठीक भन्नुभयो । डाक्टर ओममूर्तिले पनि अपरेशन सुरक्षित भन्नुभयो । सानु बाबाले नर्भिक अस्पतालको डाइरेक्टर भुवन भट्टसँग सल्लाह गर्दा पनि अपरेशन बेटर भने रे ! छोराले डाक्टरहरूसँग भएको छलफलको सार सुनायो ।

म चौबाटोको यात्री झैं टोलाइरहें । चन्दा मलाई हेरिरहेकी थिइन् ।

छोराको मोबाइलमा घण्टी बज्यो । हेलो हेलो गर्दै ऊ बाहिर निस्कियो ।

बाबा, नर्भिक अस्पतालको पहिलाको प्रमुख डाक्टर भरत रावतको फोन थियो, भारतको पुनेबाट । रावतले पनि अपरेशन गर्नु नै उत्तम हुन्छ, डा. भगवान कोइरालाको टीमले गर्ने हो भने डराउनुपर्दैन भने । उनको डाक्टर भगवानसँग पनि कुरा भएछ ।

ए ! हामी दुवै बुढाबुढीले बुझे झैं गर्‍यौं । छोराको अनुहारमा थोरै आश्वस्तता झल्किएको थियो ।

रातिको १० बजेको थियो । हामी तीन जना बसिरहेका थियौं । मनमा खुल्दुली चलिरहेको थियो । डाक्टर भगवान राउण्ड गर्दै हाम्रो कोठामा फुत्त छिरे । चन्दा र छोरा जुरुक्क उठे । मैले जम्लाहात जोडें ।

के सल्लाह गर्नुभयो त ? डाक्टरले सोधे ।

गम्दैछौं डाक्टर साहेब । मैले अनकनाउँदै भनें ।

मल्टिपल बल्केज भएर थोरै जटिल त छ । तर हामी हरेक दिन विराएर अपरेशन गरिरहेका हुन्छौं । डराउनुपर्दैन ।

डाक्टरले सम्झाउँदै भने ।

जीवन र मरणको प्रश्न छ, चन्दा । स्टेन राख्न सरल हुने रहेछ । मर्छु कि भन्ने डरले मेरो आँखाबाट आँसु बरर्र झरे ।

बाबा ! नरुनुस् । रोएर रोग निको हुँदैन । के गर्ने भनेर अब हामी तीन जनाले निर्णय लिने हो । हजुरले के भन्नुहुन्छ ? छोराले निर्णय गर्ने अधिकार मलाई सुम्पियो ।

डाक्टरले यति राम्रोसँग सम्झाउनुभएको छ । चन्दाले मेरो कपाल मुसार्दै सम्झाइन् ।

तिमी जे भन्छौ त्यही गर्ने । रोगको जटिलता र जोखिम तिमीलाई थाहा छ । मैले निर्णय गर्ने सर्वाधिकार छोरालाई फिर्ता गरें ।

मामु, बाबाको मुटुको ‘ओपन हर्ट अपरेशन गर्ने हो ? हजुर के भन्नुहुन्छ नि ?’ छोराले बुझाउँदै चन्दासँग सोध्यो ।

थाहा छ । तिमी नै उत्तम विकल्प छान, बाबु । चन्दाले पनि छोरालाई अधिकार सुम्पिइन् ।

अपरेशन गर्ने बाबा । छोराले आफ्नो अठोट सुनायो ।

मरे मरिहालियो, बाँचे रमाइलो । छोरा र चन्दा तयार भएपछि मैले पनि अपरेशन गर्नेमा नै सहीछाप लगाएँ ।

अर्को दिनको राउण्डमा डाक्टर अनिल, डाक्टर देवकोटा, डाक्टर कोइराला पालै पालो आए । डाक्टरसाहेब हामीले मुटुको अपरेशनै गर्ने निधो गर्‍यौं । मैले डाक्टरहरूलाई निर्णय सुनाएँ ।

राम्रो । क्याथ टेष्ट गरेको महिना दिनपछि अपरेशन गर्ने गरिन्छ । समय लिएर जानुस् भन्दै डाक्टरहरू बाहिर निस्किए । चैत १९ गते मुटुको वाईपास अपरेशन गर्ने समय लिएर हामी पनि अस्पतालबाट डिस्चार्ज भयौं ।

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?