
६ साउन, चितवन । चितवनको कालिका नगरपालिका– ३ की सीता लामाले यसबर्षदेखि घरमा कुखुरा, बाख्रा र बंगुर पाल्न छाडिन् । कारण अरू केही होइन, बर्षेनी बुङ्खोला बढेर आउँदा पाएको हैरानी र सास्ती । बुङ्खोला बढेर आएको बाढीले कम्मर कम्मरसम्म डुवान हुन्छ ।
आफू त जसो तसो सुरक्षित ठाउँमा जाउला ती कुखुरा, बाख्रा र बंगुरलाई लिएर कता जाने ? लामा भन्छिन्, ‘त्यही दिन सम्झिएर यसपटक सबै पाल्न छाडिदिएँ । दिनभरि घाम लागेको हुन्छ । राति पानी परेपछि बुङ्खोला बढेर आउँछ, आफैं कता गएर ज्यान जोगाउने पत्तो हुँदैन ।’
सीताको जस्तैं गुनासो छ, स्थानीय गीता श्रेष्ठको पनि । कालिका–३ मा विहे गरेर आएकै बर्ष उनलाई बुङ्खोलाको बाढीले तर्सायो । २२ बर्ष अगाडि जेठ ८ गते उनको विहे भयो । सोही बर्षको जेठ अन्तिममा ठूलो बाढी आउँदा विचल्ली भएको उनलाई अहिले पनि झल्झली सम्झना आउँछ ।
‘कस्तो ठाउँमा विहे गरेर आएछु भन्ने सोच आयो’ गीता भन्छिन् ‘आएको बाढीले २/३ दिनसम्म डुवान गराउँछ । भात पकाएर खानसमेत पाइदैन । बालबच्चा, पशुचौपायाको विचल्ली हुन्छ ।’
कालिका–७ का धनबहादुर परियारले बर्षेनी यही समस्या झेलेर ७२ बर्ष कटाइसकेका छन् । बर्खामा बाढी आउन थालेपछि उनी कसकसको घरमा पानी पस्न लागेको छ भनेर खबर लिँदै हिँड्छन् । बालबच्चा, सुत्केरी महिला र वृद्धवृद्धाहरूलाई डुवानले निकै समस्या परेको धनबहादुर बताउँछन् ।
हिउँदमा पानीको थोपोसमेत नभेटिने बुङ्खोला बर्खामा पानी पार्न थालेपछि उर्लिएर आउँछ । ११ वटा वडा रहेको कालिका नगरपालिकाका वडा नं.७, ३, २, ६ लाई पूर्ण रुपमा र वडा नं. १ र ४ को केही भागलाई आंशिक रुपमा डुवाउँछ ।
बुङ्खोला खहरे खोला हो । यो खोलाको कुनै निकास छैन । नगरपालिकाको वडा नं. ६ तिर पुगेपछि खोला नै हराउँछ र मनपरी ढंगले जता मनलाग्यो उतै पानी बगेर डुवान गराउँछ । बर्खामा यही खोलाको पानी लैजान भनेर कुलो पनि बनेका छन् । केही भागमा सिँचाइ पनि हुन्छ । तर, बर्खामा ठूलो पानी पर्दा सबै अस्तव्यवस्त र जलमग्न बनाइदिन्छ ।
यो समस्याको दीर्घकालीन समाधानका लागि कालिका नगरपालिकाले बुङ्खोलाको ‘बन्धाकरण’ गर्ने प्रयास अगाडि बढाएको छ । पूर्वतर्फ रहेको बुङ्खोलामा बर्खामा बढेर आउने पानीलाई बस्तीमा जान नदिन नहर बनाएर पश्चिमतर्फ रहेको थाङखोलामा झार्ने प्रयास अगाडि बढेको छ ।
कालिका–३ का निवर्तमान वडाध्यक्ष टीका रिजालको अध्यक्षतामा समिति नै गठन गरेर बुङ्खोलालाई थाङ्खोलामा झार्ने प्रयास धमाधम अगाडि बढेको छ । सिँचाइ डिभिजन कार्यालयको २५ लाख र नगरपालिकाको ७५ लाख रुपैयाँको लागतमा काम भइरहेको छ ।
बुङ्खोलामा ८४ मिटर लामो बाँध बनाउने र ८ सय मिटर लामो वाइपास नहर बनाएर बर्खाको बाढीलाई थाङ्खोलामा झार्नका लागि धमाधम काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष रिजालले बताए । बुङ्खोलाको पानीलाई जोरकरम हुँदै वडा नम्बर–३ स्थित थाङखोलामा झारेर खगेरी खोलामा मिसाउने योजना नगरपालिकाको छ । यो दूरी करीव ६.५ किलोमिटर हुनेछ ।
नहरको तल्लो भागमा ढुंगा भरेर जाली लगाउने काम गरिएको छ । ‘बुङ्खोलामा ८४ मिटर लामो क्षेत्रमा ड्याम बनाउन बाँकी छ, ड्याम नबनिकन पानी वाइपास त हुँदैन, त्यसैले ५० मिटर जति भाग ड्याम बनेपछि जोड्ने भनेर अहिले यत्तिकै राखेका छौं, नहरको चौडाई तीन मिटर छ भने गहिराइ ठाउँ अनुसार फरक छ’, रिजाल भन्छन्, ‘मलाई विश्वास छ, यो बर्खाको पानी बाइपास गरेपछि बाढीबाट बर्षेनी हुने हैरानी सदाका लागि अन्त्य हुनेछ ।’
बुङ्खोलाले जस्तो थाङखोलाले भने डुवान गर्दैन । तर, बुङ्खोलाको पानी मिसाउँदा कटान र डुवान हुन्छ कि भन्ने डर सो क्षेत्रमा पर्ने वडा नं. २,४ र ५ का वासिन्दालाई छ । उनीहरूले नगरपालिकाले गर्न लागेको कामको सुरूमा विरोध पनि गरे तर नगरपालिकाले कटान र डुवान दुबै हुन नदिने गरी काम गर्ने प्रतिवद्धता जनाएपछि तत्कालका लागि चित्त बुझाएका छन् ।
थाङ्खोला र यसको आसपासका क्षेत्रमा खोलाको चौडाई बढाउने, स्परहरू राख्ने काम पनि भइरहेको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी बताउँछन् । ‘बुङ्खोलालाई थाङ्खोलामा मिसाउँदा कतै हाम्रो वडा डुब्छ कि, कटान हुन्छ कि भन्ने जनताको चिन्ता स्वभाविक हो, तर हामी एकातिरको डुवान बचाउन अर्कोतिर डुवान हुने गरी काम गर्दैनौँ’ नगर प्रमुख रेग्मीले भने, ‘सबै जनतालाई बाढी र बर्खाबाट सुरक्षित राख्नु हाम्रो दायित्व हो ।’

थाङ्खोला क्षेत्रमा १३ वटा स्पर बनाएर बस्तीमा हुन सक्ने सम्भावित कटानलाई जोगाउने काम भइरहेको नगर प्रमुख रेग्मीले बताए । यो बर्षको बर्खामा बुङ्खोलालाई थाङ्खोलामा खसाल्न नसकिए पनि आगामी बर्खाभन्दा अगाडि नै कामले पूर्णता पाउने नगर प्रमुख रेग्मीले बताए ।
८४ मिटर लामो ड्याम, त्यसलाई थाङखोलासम्म जोड्न ५० मिटरको नहर र थाङखोला क्षेत्रमा तटवन्ध तथा स्परहरुको काम यस बर्ष निर्माण गरिसक्ने बताए । कालिका नगर क्षेत्रकैगौरवको आयोजनाका रुपमा सुरु गरिएको थाङखोला–बुङ्खोला व्यवस्थापन आयोजनाका लागि केन्द्र सरकारबाट समेत १ करोड ५० लाख विनियोजन भएको नगर प्रमुख रेग्मी बताउँछन् । उनी भन्छन् ‘अब बुङ्खोलाको पाता फर्काउने काम हुन्छ ।’
नगरपालिकाको यो पहलकदमीले ठूलो संख्याको जनसंख्या लाभान्वित हुने वडा नं. २ का वडाध्यक्ष लक्ष्मण पौडेलले बताए ।
बुङ्खोलाको डुवानले वर्षायाममा करिब १५ हजार बासिन्दा प्रभावित हुने अनुमान छ । अहिले चलिरहेको आयोजना कालिका नगरवासीकै प्राथमिकताको एजेण्डा भएको पौडेलको भनाइ छ ।
नगर प्रमुख रेग्मीका अनुसार बाढी र डुवानको समस्या समाधान गर्न पदमपुर स्थानान्तरण आयोगले पनि बुङ्खोलाको पानी थाङखोलामा लैजाने गरी डीपीआर तयार पारेको थियो । तर पछि काम अगाडि बढ्न सकेन । उनले अहिले बनेको नहरबाट बाढीको पानी जाने र आवश्यक पानी सिँचाइका लागि छाडिने बताए ।
कालिका–३ का वडाध्यक्ष वीरेन्द्र तामाङले बुङ्खोलालाई थाङखोलामा मिसाउँदा एकातिर बाढी र डुवानबाट बस्ती जोगिने र अर्कोतिर खगेरीमा जल पर्यटन सम्वन्धी गतिविधि गर्न सकिने बताए । उनले थाङखोला र खगेरी मिसिएको ठाउँबाट पदमपुर जाने पुलमुनिसम्मको भागमा ठूलो ताल बनाउन सके पर्यटकीय गतिविधि बढ्न सक्ने अनुमान गरे । खगेरीको पानीलाई रत्ननगर नगरपालिका छिर्ने टिकौली जंगल छेउबाट बाँध बाँधेर पश्चिम चितवनमा सिँचाइका लागि लैजाने गरिन्छ ।
बुङ्खोलाको बाढी र डुवानलाई एजेण्डा बनाएर दुई पटकसम्म निर्वाचित भएकी शान्ति महतोलाई अहिले नगरपालिकाले गरेको प्रयासले जनता बर्खामा आनन्दसँग निदाउन सक्छन् भन्ने विश्वास पलाएको छ ।
नगर कार्यपालिका सदस्यसमेत रहेकी महतो आफैँ पनि बुङ्खोलाबाट बर्षोदेखि पीडित बनेकी थिइन् । उनले विगतका दुःख र हैरानी आगामी बर्षबाट अन्त्य हुने विश्वास लिएकी छन् । शान्तिको जस्तैं विश्वास र आशा जागेको छ ७६ बर्षका धनबहादुर परियारको पनि । उनी दिनमा एकपटक नहर बनेको ठाउँमा पुग्छन् । उनले आफूले दुःख पाए पनि आउने पुस्ताले फेरि बुङ्खोलाबाट पीडित बन्न नपरोस् भन्ने चाहेका छन् ।
प्रतिक्रिया 4