
६ साउन, काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका-१ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिने मानिहरुको घुइँचो थियो ।
शनिबार छुट्टीको दिन शहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो ।
अरु दिन पनि यहाँ घुम्न आउने र नुहाउनेहरु हुन्छन् । तर शनिबार बिदा भएकाले बढ्ता भिडभाड र कोलाहल हुन्छ । आज पनि युवायुवती, बालबालिका र वयस्कहरु झरनामा मज्जाले नुहाए ।
उपत्यकामा मानव बस्ती सकिएर शिवपुरी राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा प्रवेश गर्नेवित्तिकै बरुणेश्वर (बौडेश्वर) महादेवको मन्दिर आउँछ र त्यहीँ नजिकै दुईवटा झरना छन् । एउटा झरनाको उचाइ करिब १२० मिटर अग्लो छ भने त्यो भन्दा माथि अर्को ८० मिटर अग्लो झरना छ ।
वर्षायाममा निरन्तर पानी परिरहेकव हुनाले यी झरनाहरु पनि ठूलो छ । यो झरनामा जान काठमाडौंको सामाखुशी चोकबाट करिब ९ किलोमिटर पर्छ भने माछापोखरीबाट मनमैजु हुँदै ८ किलोमिटर पर्छ ।
यी झरनामा नुहाएर नजिकैको वरुणेश्वर महादेवको पूजा गरेमा मनले चिताएको पूरा हुन्छ भन्ने हिन्दू धर्मावलम्बीहरुमा विश्वास रहेको छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4