
काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको डीएभी विद्यालयले भरतनाट्यम विशेष शास्त्रीय साँझ आयोजना गरेको छ ।
बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा विद्यालयले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा डीएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरुले विभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । साथै भारतीय चर्चित कलाकारद्वय साँन्दर्या पानापील र सशी रमेशले प्रस्तुति दिएका थिए ।
डीएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक तह र माध्यामिक तहका विद्यार्थीहरुले क्रमशः ‘अलरीप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे ।
भरतनाट्यम प्रशिक्षकद्वय अनु लामा र विनिता मण्डल पनि विद्यार्थीहरुसँगै प्रस्तुत भएका थिए ।
कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्य समेत प्रस्तुत गरिएका थिए ।
उक्त साँस्कृतिक साँझ सुशिला आर्ट्स एकेडेमी काठमाडौं, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाडौं र डीएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन ।
सुशिला आर्टस एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिंदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिइन् ।
त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशिला आर्टस एकेडेमी र डीएभी विद्यालयले सयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफू निकै हर्षित भएको बताइन ।
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले स–साना बालबालिकाहरुको प्रस्तुतिको मुक्त कण्ठले प्रशंसा गरिन् ।
प्रतिक्रिया 4