+
+

मणिपुर घटनालाई लिएर भारतीय प्रहरीले गर्दैछ छानबिनको सामना

एजेन्सी एजेन्सी
२०८० साउन ७ गते १४:४६

मणिपुरमा २ महिलाको बलात्कारपछि नग्न रुपमा सडकमा घुमाउँदा समेत मुकदर्शक बनेको भन्दै भारतीय प्रहरीमाथि छानबिन हुने भएको छ । मे महिनाको चार तारेखमा भएको घटनाको भिडियो हालमात्रै भाइरल भएको थियो । घटनाबारे जाहेरी परेपनि प्रहरीले अनुसन्धान नबढाएपछि भारतीय प्रहरीको विश्वभर आलोचना भएको छ ।

घटना भएकै भोलिपल्ट उजुरी परेपनि छानबिनमा ढिलाइ भएको सार्वजनिक भएसँगै भारतीय प्रहरीको आलोचना बढेको छ । पीडित महिलाका आफन्तले दिएको जाहेरी अनुसार ती महिलाहरूलाई प्रहरीको नियन्त्रणबाट छुटाउँदै प्रहरीकै सामुन्ने नंग्याइएको थियो । त्यसबखत प्रहरीले कुनै कदम नचालेको  उजुरीमा भनिएको छ ।

पीडितमध्ये एक २१ वर्षीया  र अर्की ४५ वर्षीया महिला छन्  । कुकी र मेइती समुदायबीचको झडप र हिंसामा ज्यान जोगाउन घर छाडेर भागेका ती महिलालाई हतियारधारी समूहको फेला पारेको थियो । हतियारधारी युवाको जमातले ती महिलामाथि ज्यादती तथा यौन दुर्व्यवहार गरेको थियो । प्रहरीका एक उच्च अधिकारीले भनेका छन्, ‘मणिपुर घटनाबारे ६ हजार भन्दा बढी उजुरी परेका छन् तर ती उजुरीको कुनै पनि छानबिन भएका छैनन् ।’

कुकी समुदायका महिलालाई मेइती समुदायका पुरूषले दुर्व्यवहार गरेको भिडियोमा देख्न सकिन्छ । मणिपुरमा भड्किएको जातीय हिंसामा हालसम्म १३० जनाले ज्यान गुमाएका छन् भने ६० हजार भन्दा बढी विस्थापित भएका छन् । कुकी समुदायका महिला समूहका अनुसार जातीय हिंसा पछि ती समूहका धेरै महिला बलात्कृत भएका छन् । मेइती समुदयाले महिलाहरुमाथि अपराध मच्चाएको उनीहरूको भनाइ छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार कुकी समुदायले मेइती समुदायका महिलामाथि बलात्कार गरेको खबर फैलिएसँगै मेइती समुदायले कुकी समुदायका महिलालाई निशाना बनाएको हो । मणिपुरमा भारतीय जनता पार्टी नेतृत्वको सरकार रहेको छ । आफ्नो सरकार भएको स्थानमा ज्यादती हुँदा समेत प्रधानमन्त्री नरेन्द्र मोदी मौन रहेको भन्दै चर्को आलोचना हुन थालेपछि मोदीले मणिपुरबारे पहिलोपटक गत शुक्रबार अभिव्यक्ति दिएका थिए ।

महिलामाथि भएको ज्यादती र दुर्व्यवहार सह्य नहुने भन्दै उनले दोषीलाई कारबाही गरेरै छाड्ने बताएका छन् । ‘कुनै पनि अपराधी उम्कने छैनन् । मणिपुरका छोरीमाथि भएको ज्यादती सह्य हुने छैन’, उनले भनेका छन् ।

मणिपुरमा हाल ४० हजार प्रहरी परिचालन गरिएका छन् । मेइती समुदाय हिन्दु हो भने कुकी इसाइ धर्मावलम्बी हुन् ।  मेइती समुदायका मुख्यमन्त्री एन बिरेन सिहले अफिम खेतीलाई लिएर कुकी समुदायलाई निशाना बनाएपछि हिंसा भड्किएको आरोप लाग्ने गरेको छ । यद्पी मुख्यमन्त्री सिंहले त्यस आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?