
७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार, सवारी साधन (हायस पर्चेज) र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
आइतवार राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाए । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।
सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जाने कर्जामा पनि जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए ।
अन्य रियल इस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए ।
यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।
के हो जोखिम भारित सम्पत्ति? ऋणमा के असर गर्छ ?
बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा राष्ट्र बैंकले तोकेको अनुपातमा पुँजीकोष कायम गर्नुपर्छ । हाल बैंक तथा वित्तीय संस्थाले न्यूनतम् पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ ।
राष्ट्र बैंकले कर्जाको प्रकृतिअनुसार जोखिम भार तोक्ने गर्छ । जोखिम भारित अनुपात भनेको ऋणको प्रकृतिअनुसार कर्जा प्रवाह गर्दा कायम गर्नुपर्ने पुँजी पर्याप्तता अनुपात हो । नेपाल सरकारको ऋणपत्रमा गरेको लगानीमा शून्य जोखिम भार छ भने कर्जाको प्रकृति अनुसार १५० प्रतिशत सम्म जोखिम भार हुन्छ ।
कुनै ऋणीलाई १०० प्रतिशत ऋण जोखिम भार भएको १ करोड ऋण प्रवाह गर्दा जोखिम भारित सम्पत्ति पनि १ करोड नै हुन्छ । त्यसको ११ प्रतिशत बैंकरुको पूँजी कोष हुनपर्छ । जसमध्ये ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजीकोष हुनुपर्ने व्यवस्था छ ।
यदि जोखिम भार १५० प्रतिशत हुन्छ भने १ करोड ऋणाको जोखिम भारित सम्पत्ति १ करोड ५० लाख हुन जान्छ । बैंकहरुले त्यसको ११ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने हुन्छ ।
जोखिम भार बढी भएको कर्जा लगानी गर्दा बैंकहरुको स्वपूँजी बढी चाहिने भएकाले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा बढी प्रिमियम लगाउँछन् । त्यसले कर्जाको ब्याजदर तुलनात्मक रुपमा बढी पर्न जान्छ । बैंकहरुले जोखिम भार बढी भएको क्षेत्रमा कर्जा लगानी गर्न चाहँदैनन् ।
त्यसरी जोखिम भार कम बनाउँदा बैंकले कम पुँजी हुँदा पनि धेरै ऋण प्रवाह गर्नसक्छन् । यसले कर्जा प्रवाहलाई प्रोत्साहित गर्छ । यी क्षेत्रको जोखिमभार कम गरिदिनुपर्यो भनेर बैंकहरुले माग गरिरहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।
प्रतिक्रिया 4