
७ साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले ६ दिन म्याद थप गरेको छ ।
सुन तस्करी प्रकरणमा आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न थप समय आवश्यक रहेको भन्दै म्याद थपका लागि विभागले उनीहरूलाई अदालतमा पेश गरेको थियो ।
आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै पक्राउ पर्नेमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा छन् । यी तीन जना एजेन्ट सुन भन्सार पास गराउन संलग्न रहेको आरोप विभागको छ ।
यसअघि विभागले गत मंगलबार सुन तस्करीका बिचौलिया राजेन्द्र राई र ट्याक्सी चलक अशोक लामालाई भन्सार कार्गो गेटबाट सुनसहित पक्राउ गरेको थियो ।
सोही दिन राति सुन आयात गर्ने कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दीलिप भुजेल पक्राउ परेका थिए भने सुन तस्करीका लागि कम्पनी खोल्न सघाउने उनका मामा रामकुमार भुजेललाई पनि विभागले पक्राउ गरेको थियो । राई मामा भान्जाको सहयोगमा विभागले उनीहरुलाई कम्पनी खोल्न सहजीकरण गरेका हर्कराज राई र तिब्बतीयनमूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामालाई पनि नियन्त्रणमा लिएको थियो ।
यस्तै सुन तस्करीमा संलग्न खोज्ने क्रममा विभागले बिहीबार नेपालमा सुन आयात गरेर वितरणमा संलग्न चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई पक्राउ परेको थियो । उनी सुन तस्करीका नेपालका नाइके रहेको अनुमान गरिएको छ ।
यस्तै सुन आयात गर्ने कम्पनीको सामान आयात गर्ने कार्गो कम्पनीका ३ जना सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्टलाई विभागले शुक्रबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुमाथि अदालतबाट १० दिन म्याद थप गरी विभागले अनुसन्धान गरिरहेको छ ।
गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।
प्रतिक्रिया 4