+
+

वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने महानगरको निर्णयको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते २०:२८

८ साउन, काठमाडौं । काठमाडौं महागरपालिकाभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षहरुले वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने निर्णय सच्याउन माग गरेका छन् ।

३० असारको नगरसभाले सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरी वडाध्यक्षलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णयप्रति विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन् । सोमबार महानगरका सबै ७९ सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकले महानगरले विद्यालय व्यवस्थापन र सञ्चालनमा ठाडो हस्तक्षेप गरेको निश्कर्ष निकालेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानले सामुदायिक विद्यालय समुदायको हातबाट खोसेर राजनीतिक हस्तक्षेप बढाउन खोज्नु स्वीकार्य नहुने बताए । यो निर्णय तत्काल सच्याएर अभिभावक मार्फत विव्यस गठनको प्रबन्ध गर्नुपर्ने उनले बताए । ‘महानगरले निर्णय सच्याएर अभिभावक नै अध्यक्ष हुने व्यवस्था गर्नुपर्छ । अभिभावकलाई नेतृत्व र सहभागिताको अधिकारबाट बञ्चित गर्न खोज्नु मान्य हुँदैन’ मुक्तानले भने ।

बुद्धनगर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल तन्डुकारले महानगरले सामुदायिक विद्यालय समुदायको हातबाट खोसेको बताए । ‘सामुदायिक विद्यालय समुदायको हातबाट खोस्न खोजिँदैछ र अहिलेको यो निर्णय एकदमै अव्यवहारिक पनि हो’ उनले भने ।

वडा नं १० का वडाध्यक्ष बैठकमा सहभागी नहुने तर माइन्यूट मागेर निर्णय भइसकेको कुरा पनि नमानेर असहयोग गर्ने गरेको तण्डुकारले बताए ।

कोटेश्वर सरस्वती माविकी अध्यक्ष सीता कँडेलले महानगरपालिकाले अभिभावक र विद्यालयलाई अलग गर्न खोजिएको बताइन् । ‘अभिभावकलाई अध्यक्ष बन्न नदिनु भनेको अभिभावक र विद्यालयबीचको सम्बन्ध छुटाउने नियत हो । अभिभावक र विद्यालयबीचको सम्बन्ध छुटाउँदा प्रत्यक्ष शिक्षामा पर्छ त्यसैले यो निर्णय फिर्ता हुनुपर्छ’ उनले भनिन् ।

विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले महानगरको निर्णय प्रतिगामी भएको बताए । यो निर्णय विद्यार्थी, अभिभावक तथा विद्यालयको लागि सकारात्मक नभएकाले फिर्ता लिन दबाब दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?