
काठमाडौं । नेपाली कथानक फिल्म ‘महानगर : वान नाइट इन काठमाडौं’ भदौ ८ गते रिलिज हुने भएको छ । एक साँझ दुई अपरिचित व्यक्ति भेट भएपछि विकसित घटनाक्रमको कथालाई लिएर बनेको फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका छ ।
फिल्मको लेखन तथा निर्देशन मोहन राईले गरेका हुन् । सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म अन्य केही महोत्सवमा पनि छनोट भइसकेको छ । अमेरिकाको ब्रुकलिन, नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डीसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना, नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ भइसकेको छ ।
यो फिल्मले निफमा राष्ट्रिय फिल्मको क्याटगोरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरमाअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । साथै इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा यो फिल्मले ‘मोस्ट इन्सिपिरेस्नल थिम’ अवार्ड तथा कार्मले अभिनयका लागि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।
निर्देशक राईले विभिन्न देशका फेस्टिभलको यात्रापछि घरेलु दर्शकका लागि फिल्म प्रदर्शन गर्न लागेको जनाएका छन् । फिल्मले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत अभिव्यक्त गर्ने प्रयास गरेको उनले जनाए ।
‘महानगरको मुख्य पात्र झैं नेपालको पूर्वी जिल्लाको एउटा सानो गाउँबाट एउटा सपना बोकेर म पनि वर्षौं पहिला काठमाडौं आएको थिएँ । काठमाडौंमा बाहिरिया भएर बाँच्नु र संघर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारौं भन्ने सोचले महानगर बनाएको हो । तर खासमा यो चलचित्र ‘मानवीय अन्तर्सम्बन्ध र ‘आशा’ बारेको फिल्म हो,’ उनले भने ।
माउन्टेन रिभर फिल्म्स तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडल–वे फिल्म्सले निर्माण गरेको हो भने फिल्ममा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत छ । फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारको पनि अभिनय छ ।
प्रतिक्रिया 4