+

‘बच्चालाई हेमोग्लोबिनको कमी हुँदा विभिन्न समस्या आउन सक्छन्’  

२०८० साउन  १० गते १३:५५ २०८० साउन १० गते १३:५५
‘बच्चालाई हेमोग्लोबिनको कमी हुँदा विभिन्न समस्या आउन सक्छन्’  

रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ । यसको काम सासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्‍याउनु हो । यदि केही कारणले हेमोग्लोबिनको कमी भयो भने शरीरमा अक्सिजनको मात्रा कम हुन सक्छ । जसले गर्दा शरीरको विभिन्न अंगमा असर गर्न सक्छ । त्यसैले शरीरमा हेमोग्लोबिनको मात्रा सन्तुलित हुनुपर्छ ।

धेरै महिलामा हेमोग्लोबिनको मात्रा कम भएको पाइन्छ । हेमोग्लोबिनको कमीको समस्या बालबालिकामा पनि देखिन्छ । बालबालिकामा हेमोग्लोबिनको कमी किन हुन्छ ? लक्षणहरू के के देखिन्छन् लगायत विषयमा बाल हेमाटोलोजिस्ट अंकलोजिस्ट डा. सुचारिता तुलाधरसँग गरिएको कुराकानी :

बच्चामा हेमोग्लोबिनको कमी हुने कारण के के हुन् ?

बच्चामा हेमोग्लोबिनको कमी हुने विभिन्न कारण छन् । बच्चामा कुपोषण, जुका पर्ने समस्याको कारण शरीरमा रगतको कमी हुन्छ । साथै बच्चाको शरीरमा फोलिक एसिड, भिटामिन बी १२, आइरनको कमी भएमा रगत बन्न कम हुन्छ र हेमोग्लोबिनको कमी हुन्छ ।

जेनेटिक कारणले रातो रक्तकोष फुट्ने समस्या ‘थलसिमिया’, ‘सिकल सेल एनिमिया’ले गर्दा हेमोग्लोबिनको कमी हुन्छ । केही कारणवश बोनम्यारोले काम गर्न छोड्यो भने पनि बच्चामा हेमोग्लोबिनको कमी हुन्छ ।

कस्ता बालबालिकामा यसको जोखिम बढी हुन्छ ?

समयभन्दा पहिले जन्मिने बच्चाहरू, बच्चा जन्मिएदेखि एक वर्षभित्र गाईभैंसीको दूध खाएका बच्चामा यसको जोखिम बढी हुन्छ । साथै आइरन, भिटामिन र फोलिक एसिडको कमी भएका बच्चालाई पनि यसको जोखिम हुन्छ ।

रगतसम्बन्धी समस्या भएको परिवारका बच्चामा पनि यसको जोखिम बढी हुन्छ ।

लक्षण के के हुन्छन् ?

हेमोग्लोबिनको कमी हुँदा रोगसँग लड्ने क्षमता घट्छ । जसले गर्दा बच्चा कमजोर हुने,  लोसे हुने, थकित हुने,  खाना खान नमान्ने जस्ता लक्षण देखिन्छ ।

बच्चाहरू भर्‍याङ चढ्दा वा हिंड्दा स्वाँ-स्वाँ हुने, श्वास फुल्ने, अनुहार सेतो हुने, चिडचिडापन, पटक–पटक ज्वरो आउने, संक्रमण हुने समस्या हेमोग्लोबिनको कमीले हुन्छ ।

कति हुनुपर्छ हेमोग्लोबिनको मात्रा ?

मानिसअनुसार र उमेरअनुसार हेमोग्लोबिनको स्तर फरक–फरक हुन्छ । बालबालिकामा परीक्षणमा हेमोग्लोबिनको मात्रा ११ भन्दा कम छ भने त्यो कम हो । पुरुषमा १२-१६ जी/डीएल र महिलाहरूमा १४-१८ जी/डीएल हेमोग्लोबिन हुनुपर्छ ।

हेमोग्लोबिनको कमी हुँदा निम्तिन सक्ने जोखिम ?

बच्चालाई बारम्बार हेमोग्लोबिनको कमी भयो भने शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले उसको शारीरिक तथा मानसिक विकास राम्ररी हुँदैन । समयमै यसको उपचार भएन भने अनियन्त्रित धड्कन र मुटुमा समस्या देखा पर्ने जोखिम समेत हुन्छ ।

उपचार के छ ?

हेमोग्लोबिनको कमी भएको लक्षण देखिएमा कम्प्लिट ब्लड काउन्ट (सीबीसी) परीक्षण गराएर हेमोग्लोबिनको स्तर थाहा पाउन सकिन्छ । यो आफैंमा रोग नभएकाले कुन रोग लागेर संकेतको रूपमा देखा परेको हो, त्यस रोगको उपचार गरेपछि हेमोग्लोबिनको कमी पूरा हुन्छ । जस्तै, पोषणको कमी छ भने त्यसलाई परिपूर्ति गर्ने खानेकुरा खाने, शरीरबाट रगत बगिरहेको छ भने त्यसलाई रोक्ने सम्भावित उपचार गर्ने, बोनम्यारोमा समस्या भएको कारण हो भने सोही अनुसारको उपचार गर्नुपर्ने हुन्छ ।

हेमोग्लोबिनको मात्रमा सामान्य असन्तुलन हुँदा पनि शरीरमा आइरनको कमी हुने सम्भावना बढेर जान्छ । यस्तो समस्या रोक्नका लागि आइरनयुक्त खाद्यपदार्थको प्रयोग बढाउनुपर्छ । यसको लागि सबैभन्दा उपयुक्त प्राकृतिक स्रोत हुन्छ । हेमोग्लोबिन र आइरनको मात्रालाई सही राख्नका लागि सागपात, सलाद, विभिन्न प्रकारका सिमी, चना, मासु र अण्डजस्तो पदार्थको प्रयोग गर्न सकिन्छ ।

डा. सुचारिता तुलाधर बच्चा हेमोग्लोबिन
डा. सुचरिता तुलाधर
लेखक
डा. सुचरिता तुलाधर
बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट

डा. तुलाधर हाल ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक र पाटन अस्पतालमा बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्टको रुपमा कार्यरत छिन् । उनले पेडियाट्रिक्स एमडी, पेडियाट्रिक हेमाटोलोजी र ओन्कोलोजीमा फेलोसिप गरेकी छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६४७२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?